विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले नै स्वास्थ्यमा ठूलो चुनौति खेपिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार हरेक वर्ष विश्वमा ४३ लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । क्यान्सर, मुटु , मधुमेह, मिर्गौला रोग लगायतका नसर्ने रोगहरूलाई सरकारले प्राथमिकतामा राखेर यसको उपचारमा सहजता भएको छ ।
तर नसर्ने रोगमै पर्ने र एकदमै घातक मानिने न्युरो सम्बन्धीरोगहरु भने प्राथमिकतामा नपरेको विज्ञ बताउँछन् । अन्य रोगहरूमा जस्तो चेतना पनि नफैलिएको, जाँच तथा उपचार पनि महंगो भएकाले धेरै बिरामी यसबाट हुने अपाङ्गता झेलिरहेका चिकित्सकको भनाई छ । नेपालमा न्युरो सम्बन्धी रोगको अवस्था के छ ? कुन उमेरमा कस्ता समस्याहरू देखिरहेका छन् ? न्युरोका धेरै बिरामीहरू अन्तिम अवस्थामा मात्रै अस्पताल आउँछन् भनिन्छ । न्युरो सम्बन्धी रोग सुरुवाती अवस्थामा कसरी थाहा पाउने ? यिनै विषयमा हामीले वीर अस्पतालमा कार्यरत कन्सल्ट्याण्ट न्युरोलोजिष्ट डा.अविनास चन्द्रसँग गरिएको कुराकानी :
पछिल्लो समय नेपाल लगायत विश्वभर नै नसर्ने रोगहरू बढिरहेको अवस्थामा नेपालमा न्युरो सम्बन्धी रोगको अवस्था के छ ?
नसर्ने रोगहरू बढेको भन्दा पनि डाइग्नोसिस बढी भइरहेको छ भन्न सकिन्छ । त्यस्तै न्युरो रोगहरू पनि बढेकै अवस्थामा छ । डाइग्नोसिस पनि बढी भएको र अन्य नसर्ने रोगहरू जस्तै प्रेसर, सुगरका कारणले नसामा असर गर्न थालेपछि प्यारालाइसिस, पक्षघात, मस्तिष्कघात जस्ता समस्या बढ्न थालेका छन् ।
समग्रमा भन्नुपर्दा अन्य नसर्ने रोगहरू जस्तै न्युरोसम्बन्धी रोगहरू पनि बढिरहेको अवस्था छ । कुन उमेरमा कस्ता समस्या देखिएका छन् ?
उमेरगत कुरा गर्दा मस्तिष्कघात, पक्षघात लगायतका रोगहरूलाई पहिले पहिले बुढेसकालमा लाग्ने रोगहरू भनिन्थ्यो । ५० कटिसकेका व्यक्तिहरूमा प्राय देखिने गथ्र्यो । अहिले चाहिँ कम उमेरका मानिसमा पनि देखिन थालेको छ ।
त्यस्तै बच्चा र युवावस्थामा देखिने न्युरोसम्बन्धी रोगमा हेडेक अर्थात टाउको दुखाई जसलाई माइग्रेन भनिन्छ । यो एक नम्बरमै रहेको छ । उमेरकै कुरा गर्नुपर्दा सुगर तथा प्रेसरका बिरामीहरूमा हेमोरेजिक स्ट्रोकको समस्या पनि योङ एजमै बढी देखिन थालेको छ ।
त्यसैले उमेर भन्दा पनि पछिल्लो समय सुगर तथा प्रेसरको समस्या बढ्दै गएको अवस्थामा प्राय सबै उमेरमा विभिन्न खालका समस्या देखिन थालेको छ ।
न्युरोका धेरै बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउँछन् भनिन्छ । न्युरो सम्बन्धी रोग सुरुवाती अवस्थामा कसरी थाहा पाउने ?
न्युरोसम्बन्धी कुनै कुनै रोग यस्ता पनि छन् कि सुरुवातसँगै अन्तिम पनि तुरुन्तै हुने खालका छन् । जस्तै रगतको नली फुट्ने रोग जसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ । त्यस्तै रगतको नसा फुल्ने समस्या, जसलाई ब्रेन एन्युरिज्म भनिन्छ । त्यस्ता रोगहरूमा रगतको नलीहरु फुटेर रक्तश्राव हुने वा रगत जाम भएर एक्कासि बिरामीको मृत्यु हुने सम्भावना पनि हुन्छ ।
त्यस्तै ब्रेन अट्याक जसलाई स्ट्रोक भनिनछ । जसमा ३, ४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याउन सकियो भने एकदमै राम्रो उपचार हुने सम्भावना हुन्छ । जमेको रगतलाई गलाउनसक्ने औषधी जुन अहिले नेपाल सरकारले कतिपय अस्पतालमा निशुल्क दिरहेको छ ।
तर ढिलो गरी अस्पताल आउँदा बिरामीलाई बचाउन सकिँदैन र बचाउन सकिए पनि परिणाम राम्रो आउँदैन । कतिपय रोगहरू बिस्तारै बढ्ने खालका पनि छन् । जसलाई नसाहरु सुक्ने रोग भन्छौं हामीले । त्यस्ता रोगहरू सुरुमा पत्ता लाग्दैनन् ।
नसा शरीरभरी नै फैलिएको छ । अर्थात नसाकै माध्यमबाट हाम्रो शरीर जोडिएको हुनाले जस्तोसुकै लक्षण देखिनसक्छ । जस्तै सामान्य टाउको दुखाई या शरीरका अन्य अंगको दुखाईलाई सामान्य ठानेर अन्तिम अवस्थामा मात्रै उपचारमा आउँदा नराम्रै रोग देखा परेका उदाहरण पनि छन् ।
त्यसैले एक्कासि हात खुट्टा नचल्ने, झमझमाउने, लाटो हुने, कहिलेकहीँ बोली नआउने, आँखा एक्कासि नदेखिने, टाउको दुख्ने, रिँगटा लाग्ने, जस्ता लक्षणहरू देखिए भने न्युरो सम्बन्धी समस्या हो कि भनेर शंका गर्न सकिन्छ ।
न्युरो सम्बन्धी समस्या थाहा पाउन के कस्ता जाँचहरू गर्नुपर्छ ?
लक्षण कस्तो देखिरहेको छ त्यो आधारमा जाँच गर्नुपर्ने हुन्छ । जस्तै कसैलाई टाउको झुम्म भइराख्ने, रिँगटा लागिराख्ने, आँखा धमिलो हुने, टाउको दुख्ने, जस्ता लक्षणहरु देखिरहेका छन् भने मस्तिष्क सम्बन्धी रोग हो भनेर बुझ्नुपर्यो । यस अवस्थामा सामान्य माइग्रेनदेखि ट्युमरसम्म भएको हुनसक्छ ।
यस्तो बेलामा गर्ने जाँच भनेको प्राय एमआरआई हो । त्यसमा पनि कमन सिटी एमआरआई गरिन्छ । त्यस्तै अर्को रगतको जाँचबाट नसासम्बन्धी समस्या थाहा पाउन सकिन्छ भने एनसीटी, इएन्जी, लगायतका जाँचहरुबाट पनि रोग पत्ता लगाउन सकिन्छ ।
न्यूरो समस्या आउन नदिन खानपिन, दैनिकी कस्तो हुनुपर्छ ? तनावसंग न्यूरोको सम्बन्ध रहन्छ कि रहँदैन ?
सुगर तथा प्रेशरको खानपिनसँग एकदमै नजिकको सम्बन्ध छ । त्यही सुगर र प्रेसरले नसासम्बन्धी रोग निम्त्याउने सम्भावना एकदमै धेरै हुने भएकाले खानपानमा ध्यान दिनुपर्छ । त्यस्तै हामीले खाने खानामा शुद्धता छैन, पौष्टिक आहार छैन भने विभिन्न भिटामिनहरूको कमी भई नसामा समस्या ल्याउने किसिमको हुन्छ । त्यसैले खानपानमा यसको नजिकको सम्बन्ध रहेको छ ।
त्यस्तै तनाव पनि अहिले विश्वव्यापी रूपमै धेरै रोगको कारण बनेको छ । प्रायजसो रोगहरूलाई तनावले बल्झाउने काम गरिरहेको हुन्छ । माइग्रेन जस्ता टाउको दुख्ने खालका रोगहरूको मुख्य कारण तनाव रहेको छ ।
स्ट्रोक, पक्षघात लगायतका रोगहरूसँग पनि तनावको प्रत्यक्ष सम्बन्ध रहेको पाइन्छ । पार्किन्सन, अल्जाइमरदेखि मस्तिष्क घातका घट्ना बढ्दै गएको देखिन्छ । यो कुन कारणले हो ?
पार्किन्सन र अल्जाइमरको कुरा गर्दा तनावले बढ्ने खालका रोग पनि छन् । तर यो तनावले मात्रै हुने रोग होइन । ठ्याक्कै यही कारण हो भनेर ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । तर प्रायजसो हाम्रो टाउको भित्रको न्यूरो केमिकल्सहरु छन् । जसको सहाराले हामी हिँडडुल गर्ने बोल्ने काम गरिरहेका हुन्छौं । त्यसमा केही कमी कमजोरी आएपछि पार्किन्सन हुने हो । त्यसैमाथि तनाव भयो भने अझ समस्या थपिन्छ ।
मानिसले होलबडी चेकअप गरेर आफू स्वस्थ रहेको भन्दै मख्ख पर्छ । तर मस्तिष्कको चेकजाँच गरेको सुन्न पाइन्न । यसमा मस्तिष्क परीक्षण पर्छ कि पर्दैन ?
सबैभन्दा पहिले त हामीले बुझ्नुपर्ने के हो भने होलबडी चेकअपमा खासै केही पनि हुँदैन । हाम्रो शरीर त एक प्रकारको ब्रह्माण्ड नै हो । यो ब्रम्हाण्डबाट कति कुरा खोतल्न सकिन्छ भन्ने कुरा हो ।
हेल्डबडी चेकअप यो मिथ्या मात्रै हो । तर सामान्य चेकजाँच चाहिँ गर्नुपर्छ । जसमा छाती मुटु, दिसा पिसाब, रगत लगायतका जाँचहरू पर्दछन् । यी सामान्य जाँचहरुमा ब्रेन आउँदैन यो पनि एउटा बिडम्बना हो । तर जनरल हेल्थमा राखेर सबैको टाउकोको पनि जाँच गर्ने त ? यो पनि एउटा बिवादास्पद कुरा भयो । त्यसैले हामीलाई समस्या कस्तो खालको देखिन्छ लक्षणको आधारमा आवश्यक जाँच गरेको राम्रो किनकी जाँच पनि महँगो छ र आवश्यक परेको जाँच मात्रै गर्दा आर्थिक क्षति हुनबाट जोगिन्छ । तर होलबडी चेकअप गरेर म ढुक्क छु मलाई केही पनि रोग छैन भन्ने हुँदैन । किनकी होलबडी जाँच गर्नै सकिँदैन ।
न्युरोसम्बन्धीको चेकजाँच तथा उपचार खर्चिलो छ भनिन्छ । के-कति खर्च लाग्छ ?
न्युरोसम्बन्धी रोगको जाँच तथा उपचार अन्य रोगहरूको तुलनामा अलिकति खर्चिलो छ । जस्तै रुघाखोकी लाग्यो र निमोनियाँको शंका लाग्यो र छातीको एक्सरे गर्नुपर्ने भयो भने भने सस्तो मूल्यमा गर्न सकिन्छ । तर न्युरो सम्बन्धी कुनै लक्षण देखियो र रोग पत्ता लगाउन एमआरआइ गर्नुपर्यो भने एक्सरे भन्दा ८–१० गुणा महंगो पर्न जान्छ । यसले पनि डाइग्नोसिसमा कमी आइरहेको कुरालाई नकार्न सकिँदैन ।
देशभरका सरकारी अस्पतालमा न्युरो सम्बन्धी उपचारको अवस्था कस्तो छ ? सबैले काठमाडौं या क्षेत्रीय शहर नै धाउनुपर्ने हो ?
पहिलेको भन्दा सिनारियो परिवर्तन त भएको छ । पहिले नेपालको जुन अवस्था थियो त्यसमा धेरै परिवर्तन भएको छ । सवै प्रदेशहरुमा न्युरोसम्बन्धी विशिष्टीकृत सुविधा रहेको पाइन्छ । न्युरोको मात्रै उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था छ जस्तो मलाई लाग्दैन । तर न्युरो सर्जनको तुलनामा न्युरो मेडिसियनको संख्या कम छ ।
पछिल्लो समय सरकारले घातक रोगहरुको सूचिमा विभिन्न किसिमका रोगहरुलाई राखेको छ । न्युरोसम्बन्धीका रोगमा सरकारले गर्नैपर्ने काम केही छ ?
न्युरोसम्बन्धीका धेरै रोगहरू घातक नै मानिन्छन् । जसको सुरुवात र अन्तिमको टुंगो हुँदैन । जस्तै हेमोरेजिक स्टोक, स्केमिक स्टोकहरुमा बिरामी बाँचे पनि अपाङ्गताको सम्भावना एकदमै धेरै हुन्छ ।
यी रोगहरू फेरि युवा तथा वयस्क उमेरमा धेरै देखिने गर्दछ । जुन भनेको काम गर्ने र आफ्नो भविष्य बनाउने उमेर हो । त्यही उमेरमा अपाङ्गता बेहोर्नुपर्ने अवस्था आउँछ ।
त्यस्तै नसा सम्बन्धीकै अर्को रोग जुन हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता घटाउने रोग, जसलाई हामी मल्टिपल क्लोशेश भन्छौं । यसको नाम कमै सुनिन्छ । एक पटक भइसकेपछि बारम्बार भइरहन्छ र यसले हरेक पटकमा केही न केही अपाङ्गता गराइरहेको हुन्छ । यो युवावस्थामा धेरै हुनेगर्दछ ।
यसको डाइग्नोसिसको लागि जाँच तथा उपचार दुवै खर्चिलो भएका कारण चाहिने खालको जाँच गर्न पनि समस्या भइरहेको छ । त्यसैले यस्ता रोगहरूलाई अझै नेपाल सरकारले घातक रोगमा राखिदिए बिरामीलाई धेरै राहत हुने थियो । यो हामीलाई एकदमै खड्किएको विषय हो ।
तपाई लामो समयदेखि यही क्षेत्रमा काम गरिरहनुभएको छ । पहिलेको तुलनामा अहिलेको अवस्था कस्तो छ ?
मैले यो क्षेत्रमा झण्डै एक दशक बिताएँ । यो अवधीमा धेरै कुराहरुमा परिवर्तन आएको छ । डाइग्नोसिस हुनथालेपछि बिरामीको संख्या बढेको देखिएको छ भने उपचारमा पनि सहजता भएको छ ।
नयाँ नयाँ रोगहरण पनि देखिएका छन् । पहिले पहिले उपचारका लागि काठमाडौं नै आउनुपर्ने अवस्था थियो भने अहिले विभिन्न शहरहरुमा पनि सहज उपचार हुन थालेको छ । औषधीहरु सजिलै पाउन थालेको छ । केही औषधीहरु नेपाललमै पनि उत्पादन भइरहेको छ । यसरी हेर्दा न्यूरो उपचारमा केही सहजता आएको अनुभव गर्न सकिन्छ ।
कस्तो अवस्थामा रहँदा न्यूरोको समस्या नरहेको मान्ने ?
सबैभन्दा पहिला त म रोगी छु भनेर मान्दै नमान्ने । त्यसपछि स्वास्थ्यका ८ वटा सुचमध्ये मुख्यगरी स्वस्थकर खाना खाने, स्वस्थकर काम गर्ने, पूरा निद्रा सुत्ने, तनावमुक्त हुने र आफ्नो वरपरको वातावरण सफा राख्ने ग¥यौं भने शारीरिक तथा मानसिक दुवै रुपमा स्वस्थ जीवन जिउन सकिन्छ ।
अन्तमा मैले सोध्न छुटाएको र भन्न पाए हुन्थ्यो भनेर मनमा लागेको केही कुराहरु छ ?
जस्तै मैले अघि भने नि म स्वस्थ छु भन्ने सोच मनमा राख्नुपर्छ । तर त्यो भनेको ढुक्क भएर मलाई केही रोग नै छैन भनेर बस्नु हुँदैन । सानो सानो लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन ।
जस्तै कुनै समय खुट्टा झमझमायो भने त्यो कुनै सानो रोग पनि हुनसक्छ र ठूलो लक्षण हुन पनि सक्छ या कुनै रोग नहुन पनि सक्छ । त्यसैले आफूलाई कुनै कुरा असामान्य लाग्यो भने सम्बन्धित चिकित्सक भेटेर सल्लाह लिन आवश्यक छ ।
प्रतिक्रिया