स्वतन्त्रता दिवसमा मोदीद्वारा आत्मनिर्भरताको प्रतिज्ञा « Khabarhub

स्वतन्त्रता दिवसमा मोदीद्वारा आत्मनिर्भरताको प्रतिज्ञा


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दै देशको हितलाई ‘पर्खालझैँ’ जोगाउने घोषणा गर्नुभएको छ ।

वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लालकिलाबाट सम्बोधन गर्दै मोदीले भने, “आत्मनिर्भरता विकसित भारतको आधार हो । अरूमाथि अत्यधिक निर्भरता भए स्वतन्त्रताको अर्थ रहँदैन ।”

भारत अहिले अमेरिकाबाट थप आयात करको दबाबमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न अल्टिमेटम दिँदै अन्यथा अगस्ट २७ देखि भारतमा लागू २५ प्रतिशत आयात भन्सार शुल्क ५० प्रतिशत पुर्‍याइने चेतावनी दिएका छन् ।

भारतले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई समर्थन गर्न ‘तयार रहेको’ बताएको छ र शुक्रबार अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर सम्मेलनलाई समर्थन गरेको छ ।

मोदीले भने, “हामी हाम्रो ऊर्जा आवश्यकताका लागि धेरै देशमा निर्भर छौँ । तर साँचो अर्थमा आत्मनिर्भर बन्न हामीले ऊर्जा स्वतन्त्रता हासिल गर्नैपर्छ ।”

उनले वैज्ञानिक र इन्जिनियरहरूलाई लडाकू विमानका इन्जिन, सेमिकन्डक्टर चिप्स र सैन्य उपकरणहरूजस्ता क्षेत्रमा स्वदेशी उत्पादनमा ध्यान दिन आह्वान गरे ।

उनका अनुसार यसै वर्षको अन्त्यसम्म भारतमा बनेका सेमिकन्डक्टर चिप्स बजारमा आउनेछन् । भारतले आफ्नै अन्तरिक्ष स्टेसन बनाउने योजना अघि बढाइरहेको छ र अर्को दशकमा ‘डिफेन्स सिल्ड’ स्थापना गर्ने तयारीमा छ ।

मोदीले हालै पाकिस्तानसँग भएको चार दिनको द्वन्द्वमा सहभागी भारतीय सेनाप्रति सम्मान व्यक्त गरे । 

उनले अमेरिकी नीतिबारे प्रत्यक्ष टिप्पणी नगरी किसानका हितविरुद्ध हुने कुनै पनि कदमका विरुद्ध ‘पर्खालझैँ उभिने’ बताए ।

कृषि भारतको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएकाले व्यापार वार्तामा यो संवेदनशील विषय बनेको छ । मोदीले भने, “आर्थिक स्वार्थ बढ्दै गइरहेका बेला हामीले सङ्कटको मात्र चिन्ता नगरी आफ्नै शक्तिमा केन्द्रित हुनुपर्छ ।”

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : २१ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको