अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले | Khabarhub Khabarhub

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

मुख्यमन्त्रीले होटल पुगेरै भेटे, प्रदेश अध्यक्षको निर्देशन अलपत्र


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी प्रदेशको राजधानी उत्रिँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न एमाले कार्यकर्ताकै लर्को लागेको देखियो ।

सोमबार विराटनगर विमानस्थलमा उत्रिँदा उनलाई स्वागत गर्नेमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईदेखिए एमालेका प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत थिए । यस्तै एमाले नेता विनोद ढकालले विमानस्थलमै पुगेर स्वागत गरे।

भण्डारीको स्वागतका लागि एमाले मोरङ जिल्ला सचिव सोमराज थापा पनि थिए । एमाले जिल्ला अध्यक्ष अजम्बर राई स्वागतमा देखिएनन् । तर उनले भण्डारीलाई मंगलबार पार्टी कार्यालयमा स्वागत गरे ।

मंगलबार विराटनगर विमानस्थलमा एमाले नेता कार्यकर्ता नै स्वागतमा उत्रिँदा बालुवाटारसम्मै त्यसको तरंग पुगेको छ। २०७२ सालको भूकम्पपछि गृहजिल्ला समेत रहेको मोरङको पार्टी कार्यालय नटेकेकी उनी मंगलबार त्यहाँ पुग्दा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ता देखिएनन्।

उनी पार्टी कार्यालय जाने भएपछि एमाले विराटनगर महानगर इन्चार्जसमेत रहेका परशुराम बस्नेतले फेसबुकमै लेखेर भण्डारीलाई स्वागत गर्न कोही पनि नजान उर्दी जारी गरे ।

बस्नेतसहितका संस्थापन पक्षीय नेता-कार्यकर्तालाई यो कुरा मन नपर्नु स्वभाविक पनि हो । किन भने साउन ५-६ को केन्द्रीय कमिटी बैठकले उनको सदस्यता नै खारेज गरिदएको भने एमालेमा आउने बाटो पनि बन्द गरिदिएको छ ।

तर साउन ९ मा उनले आफू एमालेमै रहेकाले कुनै पन हिसाबमा सक्रिय हुने घोषणा गरिन् । उनको यो घोषणाको तीन दिनपछि साउन १२ गते एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन जारी गरेर भण्डारीका लागि कुनै पनि ठाउँ नराख्नु कडा निर्देशन दिए।

ओलीले त्यतिले नपुगेर आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेशनलाई पाखण्डीको संज्ञा दिए । उक्त फाउन्डेशनककी संरक्षक अहिले पूर्वराष्ट्रपति छिन् भने अध्यक्ष उनकै पुत्री उषाकिरण छिन् । फाउन्डेशन आफ्नो हातबाट फुत्केपछि अहिले ओलीले दुई वर्षदेखि निष्क्रय मदन- आश्रित स्मृति प्रतिष्ठान ब्यूँत्याएका छन् । त्यसको अध्यक्ष पनि उनले आफूनिकट उपमहासचिव प्रदीप ज्ञवालीलाई बनाएर साउन २३ गते च्यासलमै शपथ गराए ।

‌ओलीका यी अनेकन कोसिसबीच भण्डारी सोमबार विराटनगर पुग्दा त्यहाँको प्रदेश कमिटीले उनलाई रोक्ने सक्दो कोसिस गर्‍यो । एमालेका प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले मोरङको पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गरेर कार्यक्रमम नराख्न जिल्ला सचिव सोमराज थापालाई निर्देशन नै दिए ।

प्रदेश कमिटी अध्यक्ष खतिवडाले पूर्वराष्ट्रपति भण्डारीको कार्यक्रम पार्टी कार्यालयमा नराख्न जिल्ला कमिटीलाई निर्देशन दिएको स्वीकारेका छन् । ‘मैले पार्टी कार्यालयमा कार्यक्रम नराख्न भनेर निर्देशन दिएको,’ उनले भने, ‘यस्तो कार्यक्रमले पार्टीमा केही समस्या ल्याएमा सम्बन्धित कमिटीका साथीहरूले नै त्यसको जिम्मेवारी लिन सक्नुपर्छ ।’

तर एमाले मोरङको दशौँ महाधिवेशनमा विजयी भएको नेता विनोद ढकालको प्यानलले त्यो कुरा मानेन। कुनै बेला ओलीका सबैभन्दा प्रियमध्ये एक ढकालले एमाले कोशीको अध्यक्षमा पराजित भएपछि मोरङमा आफ्नो गुट निर्माण गरेका थिए । जुन गुटबाट मोरङ अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा र सचिवमा सोमराज थापासहित अधिकांश पदाधिकारी निर्वाचित भएका थिए ।

साउन ९ गते बबरमहलमा पूर्वराष्ट्रपतिले पत्रकार सम्मेलन गर्दा पनि देखिएका उनै नेता ढकालले मोरङमा स्वागतको चाँजोपाँजो मिलाएका थिए । सोमबार विमानस्थलमा भण्डारीको स्वागतमा प्रदेशकी राज्यमन्त्री सिर्जना राई मात्रै देखिइन् । यसअघि भण्डारी विराटनगर जाँदा उपाध्यक्ष गुरू बराल र प्रदेश इन्चार्ज शेरधन राई लर्को लागेर विराटनगर पुग्थे । तर यस पटक पहिलेको जस्तो दृश्य विमानस्थलमा देखिएन । तर त्यो दृश्य भण्डारीले सोमबार रात कटाएको बिग होटलमा देखियो ।

जहाँ भण्डारीलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की अन्य मन्त्रीहरूसहित पुगे । एमाले अध्यक्ष ओलीकै गृहजिल्ला झापाका कार्कीले क्याबिनेटका अन्य चारजना सदस्यसहित करिब ३ घण्टासम्म पूर्वराष्ट्रपतिलाई भेटे ।

मुख्यमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई होटलमा भेटेपछि एमालेमा नयाँ तरंग ल्याएको छ । भणडारीलाई भेट्न सोमबार राति मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए । उनीहरू सबै एमालेकै प्रदेश सांसद हुन् । सुरूमा पाँचजनाले सामूहिक रुपमा भेटेपछि मुख्यमन्त्री कार्कीले एक घण्टा एक्लै संवाद गरेको निकटस्थहरूले बताएका छन्।

ओलीले साउन १२ को अन्तरपार्टी निर्देशनमार्फत् भण्डारीका लागि कुनै ठाउँ नदिन र उनीसँग संवाद पनि नगर्न भनेका थिए । तर सोमबार बिग होटलमा भएको भेटले उक्त निर्देशन पनि अलपत्र पारिदिएको छ । केही एमाले कार्यकर्ताले भने भण्डारीको मुड बुझ्न ओलीले नै मुख्यमन्त्री कार्कीलाई पठाएको टिप्पणीसमेत गरेका छन् ।

उक्त भेटमा पूर्वराष्ट्रपति भण्डारीले ओलीले आफूलाई अपमानित गरेको गुनासो गरिन् । पार्टी सदस्यता लिएको ४५ वर्षको राजनीतिक यात्रामा लामो समय ओलीलाई नै साथ दिँदा पनि अहिले आएर आफूलाई अपमानित गरेको गुनासो उनले त्यहाँ राखेकी थिइन् ।

गत असार १४ गते राष्ट्रिय सभागृहमा आयोजित मदन भण्डारी फाउन्डेशनको ओलीसमेत उपस्थित कार्यक्रममा एक वर्षअघि नै सदस्यता नवीकरण गरेकाले अब आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा उनले गरेकी थिइन् । तर ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन खोजपछि केन्द्रीय कमिटीमार्फत् उनको सदस्यता नवीकरण रद्द गराइदिए भने भण्डारीबारे छलफल गर्नसमेत प्रतिबन्ध लगाइदिए ।

भण्डारीलाई छेक्न चौतर्फी घेराबन्दीमा ओली जुटिरहेका बेला प्रदेश सरकारको नेतृत्व र मन्त्रीहरूले लामो छलफल गरेपछि नयाँ तरंग आएको छ। उनले ओलीको कदमप्रति उनकै निकट नेताहरूसँग असन्तुष्टि पोखेर एमालेभित्र खेल्न खोजेको अर्थ लगाउन थालिएको छ । ओलीले छेक्ने हरसम्भव कोसिस गरे पनि विस्तारै एमालेमा दुई लाइन संघर्ष बढ्ने विश्लेषण गर्न थालिएको छ।

यता मंगलबार विराटनगरस्थित पार्टी कार्यालय पाञ्चाली गरिएको कार्यक्रमलाई संस्थापन पक्षले मन पराएको छैन । कार्यकर्ता भेटघाटका लागि भण्डारी पार्टी कार्यालय जाँदा संस्थापन पक्षले बहिष्कार गरेर असन्तुष्टि पोखेको छ ।

उता एमाले मोरङ र विराटनगर महानगरमासमेत पकड जमाएका नेता विनोद ढकालले भण्डारीलाई स्वागत गरेर पार्टीमा दुई लाइन संघर्ष चलाउने कामलाई थप मलजल गरिदिएका छन्।

ओली पक्षधर नेताहरू अनेक किसिमले दबाब दिए पनि दुवै कमिटीमा बहुमत होल्ड गरेका नेता ढकालले पूर्वराष्ट्रपतिलाई एमाले मोरङको ढोका खोलिदिए । ओ‌लीले च्यासलको ढोका बन्द गरेर रातो झण्डा देखाएको अवस्थामा भण्डारीले काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय खोलेर दुई लाइन संघर्षको मैदान बनाउन थालेकी छन् ।

भण्डारी राजनीतिक उचाइ यो अवस्थामा आउँदासम्म ओलीकै निकट नेतृ हुन् । उनलाई दुई पटक राष्ट्रपति पदमा लैजाने निर्णय पनि ओलीकै हो । अहिले पनि उनीमाथि ओलीकै राजनीतिक स्वार्थका लागि दुई दुई पटक संसद् विघटनको निर्णयमा सही छाप गरिदिएको आरोप लागिरहन्छ ।

तर नवौँ महाधिवेशनमा एकै प्यानलबाट निर्वाचित दुईजनाबीचको सम्बन्ध चिसिएर अब दुई लाइन संघर्षणमा परिणत भएको छ । त्यही दुई लाइन संघर्षको सुरूवाती बाछिटा मोरङ पार्टी कार्यालयमा पोखिएको छ। जहाँ भण्डारीलाई स्वागत गर्न एमालेको एउटा ठूलो पंक्ति उभिँदा हरसम्भव रोक्ने प्रयास असफल भएपछि ओली पक्षले बहिष्कारको निर्णय लियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ११ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको