काठमाडौं– पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमा जोड दिएको जनाएको छ ।
पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाई यस क्षेत्रमा आकर्षण बढाउने विभागको लक्ष्य रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्नेलगायत पर्यटकीय गतिविधिको विकास र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको विभागले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले विभागको कामलाई सरल, सहज र व्यवसायमैत्री बनाउन पहलकदमी लिइएको बताए । उनका अनुसार विभागले पहिलोपटक वार्षिक प्रतिवेदनमार्फत सम्पादन गरेका काम र भावी कार्ययोजनाका साथै चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटेको छ ।
महानिर्देशक रेग्मीले प्रक्रियागत उल्झनलाई किनारा लगाउँदै नियमित सम्पादनलाई अगाडि बढाइएको जानकारी दिए । नीतिगत सुधारको दिशामा पनि विभाग केन्द्रित भएको उनको भनाइ छ ।
विभागले पर्यटकीय पूर्वाधारको विकास, गुणस्तरीय आतिथ्य सेवा व्यवस्थापन, साहसिक र पर्वतीय पर्यटनको प्रवर्द्धन तथा पर्वतारोहण व्यवस्थापनका क्षेत्रमा थप योजनासहित काम भइरहेको जनाएको छ । (रासस)
प्रतिक्रिया