ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह | Khabarhub Khabarhub

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीहरूलाई आफ्ना भारतीय साझेदारहरूसँग अझ गहन रूपमा संलग्न हुन आग्रह गर्दै भारत–रुस व्यापार विस्तारमा जोड दिएका छन् ।

भारतको द्रुत गतिमा बढिरहेको अर्थतन्त्र र ‘मेक इन इन्डिया’ जस्ता पहलहरूले विदेशी व्यवसायका लागि नयाँ अवसरहरू खोलेको उल्लेख गर्दै उनले भने, “भारतको ४० खर्ब अमेरिकी डलरको कूल ग्राहस्थ (जिडिपी) छ र निकट भविष्यका लागि ७ प्रतिशतको वृद्धि दर रहेको छ । यसलाई भरपर्दो स्रोतहरूबाट ठूला आपूर्तिको स्पष्ट आवश्यकता छ । केही अवस्थामा, यो आवश्यक उत्पादन, मल, रसायन वा मेसिनरीको सुनिश्चित आपूर्ति हुनसक्छ । भारतको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधारले पनि आफ्नो अनुभव भएका उद्यमका लागि व्यापारको ठूलो अवसर प्रदान गर्छ ।”

उनले भने, “‘मेक इन इन्डिया’ र यस्तै अन्य पहलहरूले विदेशी व्यवसायका लागि नयाँ ढोका खोलेका छन् । भारतको आधुनिकीकरण र सहरीकरणले उपभोग र जीवनशैलीमा आएको परिवर्तनबाट आफ्नै माग सिर्जना गरेको छ । यी सबै आयामले रूसी कम्पनीहरूलाई अझ गहन संलग्न हुन निमन्त्रणा दिन्छ । हाम्रो प्रयास उनीहरूलाई त्यो अवसरमा सहभागी हुन प्रोत्साहित गर्नु हो ।”

भारत र रुसले लामो समयदेखि प्रमुख राष्ट्रबीचको स्थिर सम्बन्धलाई मजबुत पारेको स्मरण गर्दै उनले भने, “तर त्यो स्वचालित रूपमा आर्थिक सहकार्यमा परिणत भएको छैन । हाम्रो व्यापार संरचना सीमित छ र हालसम्म व्यापारको मात्रा पनि सानो थियो । पछिल्ला वर्षहरूमा यो बढे पनि व्यापार घाटा त्यत्तिकै बढेको छ । त्यसैले व्यापार विविधीकरण र सन्तुलन अहिले तत्काल आवश्यक छ । उच्च व्यापार लक्ष्यमा पुग्न मात्रै होइन, हालको स्तर कायम राख्न पनि यसमा कडा प्रयास आवश्यक छ ।”

विदेशमन्त्री जयशङ्करले विकासलाई बढावा दिन र गति दिन गहिरो सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले थप लगानी, संयुक्त उद्यम र सहयोगका नयाँ रूपहरूमा विचार गर्न भारत तयार रहेको बताए ।

उनले भने, “भारत र रुस दुवै पक्षले विकासका लागि धेरै गर्न सक्छन् । हाम्रो उद्देश्य आर्थिक गतिविधि बढाउन अनुकूल वातावरण सिर्जना गर्नु हो । व्यापार बाहेक लगानी, संयुक्त उद्यम र अन्य सहकार्यका रूपहरूबारे सोच्ने इच्छा बढ्दै गएको छ । यसलाई अघि बढाउन उपप्रधानमन्त्री मान्टुरोभ र म यहाँ उपस्थित छौँ । हाम्रो स्पष्ट सन्देश हो – स्थायी रणनीतिक साझेदारीमा बलियो र दिगो आर्थिक पक्ष हुनैपर्छ ।”

भारत–युरेसियन आर्थिक सङ्घबीचको स्वतन्त्र व्यापार सम्झौताबारे पनि जयशङ्करले जानकारी दिए । उनले भने, “आज हामीले भारत–युरेसियन आर्थिक सङ्घ एफटिएका लागि सन्दर्भका सर्तहरू पूरा गरेका छौँ । यसको निष्कर्षले निश्चित रूपमा फरक पार्नेछ । हामीले माग पहिले नै स्थापित भएका क्षेत्रमा संयुक्त उद्यमलाई प्रोत्साहित गर्नेबारे छलफल गर्‍यौँ । महत्त्वपूर्ण लगानी स्तरका केही पहलबारे पनि कुरा भयो । हाम्रो कौशल र गतिशीलता सम्बन्धी प्रयास सुरु भइसकेका छन् । कनेक्टिभिटी सुधार गर्ने चाहना पनि विभिन्न विकल्पमार्फत व्यक्त भएको छ ।”

उनले भने, “सबैभन्दा जरुरी कुरा भनेको व्यवसायहरूले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । त्यति मात्र होइन, सरकारले गर्ने छलफल र व्यवसायहरूले बनाउने योजनाबीच घनिष्ठ सहकार्य सुनिश्चित हुनुपर्छ ।”

अमेरिकाले हाल भारतीय सामानमा २५ प्रतिशत एड भ्यालोरम शुल्क लगाइसकेको छ । यसका साथै, अगस्ट २७ देखि थप २५ प्रतिशत अतिरिक्त शुल्क लागु हुने घोषणा भएको छ । यही पृष्ठभूमिमा जयशङ्करले रुससँगको व्यापार बढाउन सकारात्मक पहल गरेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ३१ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको