ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ? | Khabarhub Khabarhub

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

मदन भण्डारीका नाममा गुटबन्दी, फाउन्डेसन विद्याको कब्जामा, प्रतिष्ठान ओलीको


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 13 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन् । कार्यक्रममा एमालेका तीन उपाध्यक्ष र स्थायी कमिटी सदस्यसमेत केही नेताहरु सहभागी बने । यो परिदृश्यसँगै अब नेकपा एमालेभित्र औपचारिकरुपमै समानान्तर चिरा परेको हो कि भन्ने प्रश्न उब्जिएको छ ।

सक्रिय राजनीतिमा हामफालेकी पूर्वराष्ट्रपति भण्डारीले बार्दलीबाट हात हल्लाउँदै कार्यालय उदघाटन गरेको विषयलाई एमाले नेताहरुले कसरी लिन्छन्, त्यो बेग्लै चर्चाको विषय हो । यहाँ उक्त प्रकरणबारे केही तथ्यगत वर्णन मात्रै गर्ने प्रयास गरिएको छ । यी तथ्यलाई केलाउने जिम्मेवारी भने एमाले कार्यकर्ता र आम पाठककै हो ।

पूर्वराष्ट्रपति भण्डारीले उदघाटन गरेको कार्यालयको नाम रहेको छ– ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल समारोह समिति मूल व्यवस्थापन समिति सम्पर्क कार्यालय ।’

रोचक त के छ भने मदन भण्डारीको ७५ औं जन्मजयन्ती आउन लागेको अवस्था भने होइन । आगामी ०८३ साल असार १४ गते पर्ने जन्म जयन्तीका लागि एक वर्ष अगाडि नै सम्पर्क कार्यालय खोलिएको हो । पञ्चायतकालमा राजा महाराजाको पनि यति लामो जन्मजयन्तीको तयारी हुँदैनथ्यो । जबकि मदन भण्डारी कम्युनिष्ट नेता हुन् ।

यसरी एक वर्ष अगाडिदेखि ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल समारोह समिति मूल व्यवस्थापन समिति सम्पर्क कार्यालय’ खोल्नुको भित्री उद्देश्य विद्या भण्डारीबाट एमालेमा समानान्तर गतिविधि सञ्चालन गर्ने रहेको देखिन्छ ।

नेकपा एमालले औपचारिकरुपमै गत साउनमा पूर्वराष्ट्रपतिलाई दलको सदस्यता दिन नमिल्ने निर्णय गरेर देशैभरि सर्कुलरसमेत पठाइसकेको छ । तर, भण्डारीले चाहिँ आफू नेकपा एमालेको सदस्य रहेको दाबी गर्दै समानान्तर गतिविधि अघि बढाएकी छिन् । यसैको पछिल्लो एपिसोड विहीबारको कार्यालय उदघाटन कार्यक्रम हो ।

विहीबार कार्यालय उदघाटन कार्यक्रममा बोल्दै भण्डारीले यसो भनिन्–

च्यासलले मेरो पार्टी सदस्यतामै प्रश्न उठाएको छ : विद्या भण्डारी

तपाई के गर्नुहुन्छ भन्ने पनि यहाँहरुलाई लागिराखेको होला । म निरन्तर काम गरिरन्छु भन्ने कुरा पनि उहाँहरुलाई सुनाउन चाहन्छु । हुन त मेरो सदस्यताका बारेमा प्रश्न उठे पनि साथीहरु नेता भन्छन् । तर, आफ्नो त यो पार्टीको संगठित सदस्यतामै प्रश्न उठाएको छ यो च्यासलले ।

यसबारेमा मचाहिँ यहाँहरुलाई के भन्न चाहन्छु भने मैले नेकपा एमाले अहिले भयो, त्यो माले थियो पहिले, मालेकालदेखि नै सदस्य भएको हो । ०३७ सालमा मैले सदस्यता लिएको रहेंछु । ४५ वर्ष भएछ ।

राष्ट्रपतिको सपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको चाहिँ ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर तपाई जानैपर्छ भन्यो । त्यसपछि म राष्ट्रपतिमा निर्वाचित भएर गएँ ।

मैले राष्ट्रपतिको भूमिका एकदमसँगले राष्ट्रको गौरब बढ्ने ढंगले गरेको छु । यो सबै इतिहासको पानाहरु खुल्ला छ । म आलोचनाभन्दा बाहिर छैन । तपाईहरुले आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यको आधारमा हुनुपर्छ ।

म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु । र, नेकपा एमालले जुन मार्गदर्शक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवादलाई लिएको छ, त्यसको मर्म र भावना अनुसार हामीले काम गर्ने हो । र, त्यसको मर्म र भावना अनुसार काम भयो कि भएन त्यसको समीक्षा गर्ने बेला भएको छ ।

हिजो ०४६ सालको आन्दोलनपछि जसरी देशमा एउटा अस्थायी अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो तर त्यसपछि ०५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालेले भाग लिइराखेको छ । सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्नु हो । त्यो अनुसारको हामीले काम गर्न सक्यौं कि सकेनौं ? समीक्षा गर्ने बेला आएको मलाई लाग्छ ।

सिद्धान्तअनुसार समाजलाई डोर्‍याउनका लागि वैचारिक चिन्तन मनन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ । मलाई पार्टीले कुनै जिम्मेवारी दियोस् कि नदियोस्, मलाई त्यो कुरासँग मतलव छैन, म नेकपा एमालेको सदस्य हो । त्यो नाताले मैले जुन सिद्धान्त धारण गरेको छु र सिद्धान्त मैले बुझेको छु, त्योअनुसार काम गर्ने हो । मेरोतर्फबाट तपाईहरुलाई पूर्णरुपमा सहयोग रहन्छ ।

यदि पार्टीहरुमा विकृति विसंगति फैलिएको छ भने त्यो विकृति विसंगतिको विरुद्धमा पनि म लडिरहन्छु । म नेपाल राष्ट्रको गौरब बढाउन नेपाल राष्ट्रको स्वाभिमान र अस्थित्वको लागि चन्द्र–सूर्य रहेसम्म हाम्रो देशको अस्थित्व रहनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो र त्यहीअनुसार मेरो काम हुन्छ ।

ओलीको जवाफ : सदस्यता प्यारो भए राष्ट्रपति हुन नजानुपर्थ्यो

पूर्वराष्ट्रपति भण्डारीले च्यासलको आलोचना गरेको भोलिपल्टै ओलीले शुक्रबार च्यासलबाटै विद्या भण्डारीलाई कडा जवाफ फर्काएका छन् । दुई–दुईचोटि राष्ट्रपति बनाएर पठाएको बताउँदै शीतलनिवासबाट फर्केपछि यसरी पार्टीलाई अप्ठ्यारोमा पार्ने कल्पना नगरिएको ओलीको भनाइ छ । विद्या भण्डारीले राष्ट्रपति हुँदा आफैं सदस्यता त्यागेको र सदस्य नै नरहेको व्यक्तिले कर्मचारीलाई झुक्याएर नवीकरण गर्न नमिल्ने उनको भनाइ छ ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरेर एमालेमा आएका नेता–कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रममा बोल्दै ओलीले शुक्रबार विद्यादेवी भण्डारीको यसरी आलोचना गरे–

अहिले पार्टीभित्र अलिअलि के–के कुराहरु तपाईहरुले पनि सुनिराख्नुभएको होला । कहाँ कसको सदस्यता खाइदियो, कसले खोसिदियो च्यासलले । यो च्यासल भनेको एउटा ठाउँको नाम हो, च्यासलले कसैको केही खोस्दैन । कसैको सदस्यता खोसेको पनि छैन । खोस्नुपर्ने आवश्यकता पनि छैन ।

पूर्वराष्टपतिजीको सन्दर्भमा तपाईहरुलाई पनि भ्रम नपरोस् । उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुनेबेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ । उहाँले सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो ।

फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे, कर्मचारीले त रसिद काटिदिन्छ त । त्यसरी लिने होइन राष्ट्रपतिले । उहाँले छोडेको सदस्यता सप्पैलाई थाहा छ । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यता मात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?

चुँडियो भने तपाईले टाँक लगाउन सक्नुहुन्छ । फाट्यो, च्यातियो, उध्रियो भने तपाईले सिलाउने, टाल्ने भन्ने कुरा हुन्छ, तपाईसँग कपडै छैन भने कहाँबाट टाल्ने ? तपाईसँग सदस्यता नै छैन भने नवीकरण कहाँबाट गर्नुहुन्छ ? उहाँको सदस्यता थिएन । उहाँले ०७२ साल कात्तिक १२ कि १३ गते सदस्यता त्याग्नुभएको हो, छोड्नुभएको हो । र, त्यसयता उहाँको पार्टी सदस्यता छैन ।

यतिबेला भन्नुहुन्छ, ल मेरो सदस्यता, कठैबरी मेरो सदस्यता । अनि यत्रो वर्ष त कठैबरी मेरो सदस्यता भन्नुभएको थिएन । राष्ट्रपति हुन नजानुपर्थ्यो नि त । मेरो सदस्यता, प्यारो सदस्यता । म त्यसैमा बस्छु, म जान्नँ राष्ट्रपति हुन भन्नुपर्थ्यो नि त । त्यसबेला चाहिँ छोडेर जानुभो राष्ट्रपति हुन । अनि आएपछि सदस्यता छैन । नभएको सदस्यता नवीकरण हुँदै हुँदैन ।

नवीकरण, पार्टी सदस्यतालाई निरन्तरता दिने हो भने उहाँले पार्टीमा कुरा गर्नुपर्थ्यो । निवेदन गर्नुपर्थ्यो । उहाँले पार्टीमा कुरा गर्नुभएको छैन, पार्टीमा निर्णय गरेको छैन । र, नयाँ सदस्यता उहाँले प्रक्रियामा पनि हाल्नुभएको छैन । पार्टीमा केही बताउनुभएको छैन उहाँले । कार्यालयमा आएर दर्ता चलानी फाँटबाट नवीरकण गरें भनेर शुल्क तिर्दैमा सबैले सदस्यता पाउँछन्?

त्यसकारण पार्टीले खोसेको भन्ने कुरा यो भ्रममा साथीहरु कोही नपर्नुहोला । सदस्यता भइराखेको पार्टीले किन खोस्छ ? थिएन, त्यसकारण खोस्नै परेन । थिएन, त्यसकारण छैन । उहाँले सदस्यताका लागि आवेदन गर्नुभएको छैन । नवीकरणका लागि पार्टीमा केही दिनुभएको पनि छैन । निवेदन सिवेदन केही आएको छैन । हामीसँग पनि सदस्यता पार्टी कमिटीमा केही गरीपाउँ भन्नुभएको पनि छैन । बाहिर–बाहिर बजारमा टेलिभिजनले दिने त होइन होला सदस्यता । उहाँ टेलिभिजनमा गएर भनिराख्नुभएको छ ।

एउटा कत्ति मात्रै हो भने पार्टीले राष्ट्रपतिसम्म बनायो । दुई–दुईपल्ट राष्ट्रपति बनायो । त्यस्तो व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा पार्टीले कल्पना पनि गरेको थिएन । पार्टीमा उहाँले आएर समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन । उहाँ आएर पार्टीमा सहयोग पुग्नुपर्ने, पार्टीको एकतामा उहाँले बल पुर्‍याउनुपर्ने हो ।

पार्टीमा सधैं असन्तुष्ट, पार्टीको पक्षमा कहिल्यै नकोल्ने र पार्टीका विरुद्ध जनसंगठनका, चुनाव–सुनाव हारेका मान्छेहरु, असन्तुष्ट भएका मान्छे, तिनलाई भेला गरेर, असन्तुष्टहरुको जमात खडा गरेर कुदिराख्नुभएको छ ।

जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय, के कार्यालय खोल्नुपर्छ ? अर्को वर्ष आउने असार १४ गतेको जन्मदिन मनाउनका लागि अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीका विरुद्धमा भित्र–भित्र क्रियाशील हुने र असन्तुष्ट रहेका त्यस्ता तत्वहरुलाई भेला गरेर अहिलेदेखि जन्मदिन मनाउने भन्नुपर्छ ? पार्टी कार्यालय खोल्नुपर्छ ? त्यसकारण उहाँको यो तरिका ठीक भएन ।

आन्दोलनमा यस्ता घटनाहरु हुन्छन् । हामीले पार्टी एकीकरण गर्‍यौं । झण्डै दुई तिहाईको पार्टी भो । त्यसपछि एकथरि फुटे, अर्कोथरि फुटे । प्रभु साहले यहाँबाट सिंगै मधेस प्रदेशको सम्पूर्ण उम्मदेवारहरुको टिकट लिएर जान खोज्नुभो । उम्मेदवारी पत्र लिएर जान खोज्नुभो । धेरै साथीहरुले सजग गराए, नदिनोस् है, उनले यो सबै राखेर भोलिपल्ट ग्याप गरिदिनेवाला छन् । अझ महासचिव कमरेडले त पत्याएर झण्डै–झण्डै सबै दिइसक्या । तर, अरु साथीहरुले सबैको त नदिउँ भनेर रौतहटको दिएर पठाइयो । रौतहटको च्याप्प समातेर राखे । म मनोनयको दिन पौने ५ बजेसम्म पनि फोन सम्पर्कमा छु । ‘म दर्ता गराउँदैछु कामरेड’ भनेको भन्यै छन् । नेकपा एमालेलाई उम्मेदवारैबाट बाहेक गर्दिने, मधेस प्रदेशमा एमालेको उम्मेद्वारै नहुने भन्ने योजनाका साथ षड्यन्त्र गरेका थिए । राजनीति षड्यन्त्र होइन । राजनीति विचारको कुरा हो ।

फाउन्डेसनको जगै कमजोर, ओलीको ‘ग्रिप’बाट आउट !

विहीबार विद्यादेवी भण्डारीको अगुवाइमा थापागाउँमा कार्यालय खोलिएको ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती समारोह’ को आयोजक नेकपा एमाले होइन, मदन भण्डारी फाउन्डेसन हो । यस फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी छिन्, जो एमाले अध्यक्ष ओलीसँग रुष्ट छिन् ।

विगतमा यो फाउन्डेसन एमाले अध्यक्ष केपी शर्मा ओली र विद्यादेवी भण्डारीकै संयुक्त प्रयासमा खुलेको थियो । एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतसँग वैचारिक संघर्ष गर्न र पार्टी बाहिरैबाट गुट चलाउनका लागि मदन भण्डारी फाउन्डेसन ओली समूहबाट संगठित रुपमै खोलिएको तथ्य नेताहरुको भनाइबाट स्पष्ट हुन्छ । अहिले यो फाउन्डेसनको जगै हल्लिन पुगेको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिले एमालेमा सक्रिय हुन नमिल्ने औपचारिक निर्णय गरिसकेको अवस्थामा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका साथै उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले सम्पर्क कार्यालय उद्घाटनमा सहभागी भएर विद्यालाई हौसला दिए ।

मदन भण्डारी फाउन्डेसनका सम्बन्धमा कुरा गर्दै एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलले स्थापनाकालमा यो संस्था केपी शर्मा ओलीकै विचारसँग सम्बिन्धत रहेको प्रष्ट्याए । थापागाउँमा पुगेर विद्या भण्डारीलाई हौसला दिँदै पोखरेलले ‘विचारको टोपी लगाएकाहरुबाटै विचारमाथि प्रहार हुने गरेको’ भन्दै व्यंग्यसमेत गरे ।

अध्यक्ष ओलीको कुरा सुन्दा एमाले नेताहरुकै सक्रियतामा तर पार्टी संरचना बाहिरैबाट बनेको मदन भण्डारी फाउन्डेसनले त्यसबेला एमालेभित्र वैचारिक संघर्ष गरेको थियो ।

तर, अहिले यो फाउन्डेसन ओलीको ‘ग्रिप’ बाट बाहिर गएको छ । विगतमा ओलीलाई आड भरोसा दिएको यो फाउन्डेसन अब केपी ओलीसँगै अन्तरसंघर्ष गर्नका लागि विद्या भण्डारीको ‘व्यक्तिगत अस्त्र’ बन्न पुगेको छ ।

अर्थात्, जे प्रयोजनका लागि ओलीको सक्रियतामा मदन भण्डारी फाउण्डेसन जन्माइएको थियो, त्यही प्रयोजनका लागि खब विद्या भण्डारीले यसलाई ‘च्यासल’विरुद्ध प्रयोग गरेकी छन् । ओली आफैंले रोपेको वृक्ष आफ्नै विरुद्धमा खडा हुन पुगेको छ । विहीबारको कार्यालय उदघाटन र विद्याले ‘च्यासल’को नामै लिएर गरेको भाषणले यही सन्देश दिएको छ ।

आखिर, एमालेभित्रैको एउटा गुटबाट विगतमा ‘मदन भण्डारी फाउन्डेसन’ कसरी र कुन उद्देश्यका साथ खोलिएको थियो ? एमाले अध्यक्ष ओलीले एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा गरेको व्याख्याको सारसंक्षेप, उनकै शब्दमा पढौं–

फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिमा अन्योल छ : ओली

हामीले पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्‍यौं । पहिले–पहिले प्रधानमन्त्री भएपछि भ्याउँदैन, के भन्ने गरेर एउटाबाट अर्कोमा चेञ्ज गर्ने छँदै थियो । पछि केही व्यक्तिहरुले त्यो पद छोड्दै नछोडेर अनि त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरुलाई आफ्ना समर्थकको रुपमा बुझ्ने अथवा बहुमत राखेर त्यो आफ्नो ग्रिपमा लिइराख्ने र त्यसलाई नियन्त्रण गरे । त्यो संस्था कब्जा गरे ।

त्यो (संस्था) आन्दोलनको पक्षमा, देशको पक्षमा, विचारको पक्षमा र परिवर्तनको पक्षमा निष्टाका साथ लाग्ने संस्था होइन कि व्यक्तिको ठगीखाने भाँडो भन्ने कि ? पार्टी र आन्दोलनप्रति निष्ठा होइन, व्यक्तिप्रति । त्योखालका तरिकाहरु अवलम्बन भए ।
पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । र, अरु प्रतिष्ठानहरु पनि हामीले पार्टीले बनाएका छौं । कतिपय पार्टीले गर्छ, पछि ती व्यक्तिका हुन्छन् । त्यस्तोखालको परिपाटी हुनुहुँदैन । हाम्रा संस्थाहरु एकदमै सामुहिक संस्था हुनुपर्छ । समूहका संस्था हुनुपर्छ ।

मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, त्यो आफैं बनाएको हो, अर्को ढंगले । जतिबेला मदन–आश्रित स्मृति दिवस मनाउन नपाइने स्थिति बन्यो । श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो । जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरु लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो गरेपछि हामीले एउटा संस्था बनाउनुपर्‍यो । मदन स्मृति प्रतिष्ठान त्यसरी जन्मिएको हो ।

तर, त्यो पार्टीप्रति, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको हो । यत्ति हो, मदन भण्डारीका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरुको ‘ग्रिप’ मा नगएको मात्रै हो । त्यो पार्टीको पक्षमा हो, आन्दोलनको पक्षमा हो ।

अब त्यसको (फाउन्डेसनको) आगामी दिनमा के हुन्छ, कसरी जान्छ भन्ने कुरा अलिकति हेर्नुपर्ने अवस्थाचाहिँ बनेको छ । किनकि, त्यसका पदाधिकारीहरुका अभिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दाखेरि कसरी जाने हो त्यो भन्ने कुराचाहिँ अलिकति अन्योल छ ।

हाल केपी ओलीबाट फुत्केर विद्या भण्डारीको ‘ग्रिप’ मा पुगेको मदन भण्डारी फाउन्डेसनको पृष्ठभूमिबारे बरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ पनि ओलीसँगै मिल्दोजुल्दो छ । तर, पोखरेलले अब यो फाउन्डेसनको भूमिका फेरिएको र फेरिनुपर्ने संकेत गरेका छन् ।

अब फाउन्डेसनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तअनुसार कम्युुुनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण एवं पुस्तान्तरण गर्ने र नेतृत्व हस्तान्तरण गर्ने विधिको पक्षमा बोल्नुपर्ने भन्दै पोखरेलले विद्या भण्डारीलाई हौस्याएका छन् ।

विहीबार थापागाउँ पुगेर एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलले के भने, उनै शब्दमा पढौं–

जबज पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्ने विधिको कुरा बोल्ने विचार हो : ईश्वर पोखरेल

यो झट्ट हेर्दा सानो तर महत्वका हिसाबले धेरै ठूलो कार्यक्रम हो । म सम्झन्छु– नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली जुनवेला एउटा विचारको प्रखरताको झण्डा बोकेर अगाडि बढिरहनुभएको थियो, प्रारम्भ गर्नुभएको थियो, त्यसबेलादेखि नै यो मदन भण्डारी फाउन्डेसन महत्वपूर्ण ढंगले सम्बिन्धत हुँदै आयो । जोडिँदै आयो । र, उहाँको सानिध्यता पाएर वास्तवमा यो फाउन्डेसनले महत्वपूर्ण भूमिका पनि खेल्दै आयो । म आज ती कुराहरु सम्झन चाहन्छु ।

त्यो फाउन्डेसनले अहिले त्यही सिलसिलामा जननेता मदा भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने उद्देश्य राखेर एउटा आयोजक कमिटी निर्माण गरेको छ । त्यो आयोजक कमिटीले आफ्ना कामहरुलाई व्यवस्थित बनाओस् भन्ने उद्देश्य राखेर यो कार्यालयको स्थापना गरेको हो । यो मदन भण्डारी फाउन्डेसन त्यो उद्देश्य राखेर स्थापना गरिएको हो । यो कार्यालयले आफूलाई थप व्यवस्थित ढंगले सञ्चालन गरोस् । र, उद्देश्यअनुरुप काममा सफलता प्राप्त गरोस् । हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

हामीले जननेता मदन भण्डारी र उहाँले प्रतिपादन गर्नुभएको विचार जनताको बहुदलीय जनवादको बारेमा कुरा गरिरहँदा आजको यो महत्वपूर्ण अवसरमा म एउटा कुरा उल्लेख गर्न चाहन्छु– यो विचार शान्त तलाऊमा डुंगा चलाएजस्तो सललल अगाडि बढेको होइन । यो विचार प्रतिकूलता, अप्ठ्यारा र चुनौतीहरुसित जुधेर अगाडि बढेको हो । कतिपयलाई लाग्न सक्छ, जनताको बहुदलीय जनवाद शान्त तलाऊमा सलल डुंगा चलाएजसरी आएको हो कि ? तर, म भन्न चाहन्छु, यो आँधी तुफानसित जुध्दै, प्रतिकुलताहरुलाई पराजित गर्दै अगाडि आएको विचार हो । जसमा जननेता मदन भण्डारीले अगुवाइ गर्नुभयो ।

कहिलेकाहीँ विचारकै टोपी लगाउनेहरुले विचारलाई क्षत–विक्षत बनाइरहेका हुन्छन् । टोपी लाएर प्रस्तुत हुनेहरु मात्रै विचारका सम्वाहक हन्छन् भन्ने ठान्ने भुल गर्नुहुँदैन । यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ । सम्भावित चुनौतीहरुका बारेमा हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ । यस्तो दुर्भाग्य निम्तिनु हुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।

अहिलेको अवस्थामा नेकपा एमालेले भनेको छ, मार्क्सवादलाई सिर्जनात्मक ढंगले नेपालमा प्रयोग गर्दा विकसित भएको विचार हो । यो चिजलाई नेकपा एमालेका कसैले पनि बिर्सनुहुँदैन । भुल्नु हुँदैन । कसैले पनि यसलाई कमजोर बनाउनु हुँदैन । यो विचारको प्रतिरक्षा गर्नु हामी सबैको कर्तव्य हो ।

यो कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण र पुस्तान्तरण गर्ने, नेतृत्व हस्तान्तरण गर्ने विधिको कुरा बोल्ने विचार हो । त्यसकारण यो विचारलाई हामीले त्यस हिसाबले पनि बुझ्नुपर्छ । यो फाउन्डेसनका साथीहरुलाई एमालेका तर्फबाट भन्न चाहन्छु– चुनौतीहरु आए, अप्ठ्याराहरु आए, अपजसहरु आए, अवगालहरु आए भनेर अलिकति पनि मनोवल कमजोर बनाउन हुँदैन । यो अहिलेको आवश्यकता हो । यस हिसाबले हामी अगाडि बढ्नुपर्छ । यो महत्वपूर्ण काममा यो कार्यालयले संयोजनकारी भूमिका खेलोस् म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

एमालेले नचिनेकी विद्या

विहीबार कार्यालय उदघाटनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सदस्य रहेको दाबी गरिन् । उता, विद्याको सदस्यताबारे नेकपा एमालेको ०८२ साउन १२ गते जारी अन्तरपार्टी निर्देशन–१२ ले के भनेको छ, एकचोटि स्मरण गरौं –

एमालेको निर्णयमा भनिएको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।’

हेर्नुहोस् एमालेको अपानीको बुँदा नं ६

सम्मानीय पूर्वराष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ–

लोकतान्त्रिक गणतन्त्र एउटा राजनीतिक प्रणाली मात्र होइन, यो आफैंमा संस्कृति, मूल्य र आचरण पनि हो । हामीले अवलम्वन गर्ने अभ्यास, अनुकरण गर्ने शैली र स्थापित गर्ने मान्यताहरुले यसलाई समग्र पद्धतिको रूपमा विकास गर्दै लैजान्छ । डेढ दशक अगाडि मात्रै स्थापना गरिएको लोकतान्त्रिक गणतन्त्रलाई समग्र प्रणाली र राष्ट्रको जीवनका रुपमा स्थागित गर्न हामीले तदनुरुप सचेतना र संयमका साथ गर्दै जानुपर्छ ।

नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक, संविधानको संरक्षक, पालनकर्ता र नेपाली सेनाको परमाधिपतिजस्ता गुरुत्तर दायित्व सुम्पिएको छ । यो भूमिका आफैंमा अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्वको छ । राष्ट्रपति संस्थाको यही गरिमामय ओहोदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्य संस्थागत आवद्धताबाट पूर्ण रूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रूपमा राष्ट्रपति रहने मुलुकको प्रवन्धभन्दा भिन्न रहेको स्पष्ट छ ।

यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन् । भविष्यको कुनै आश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न सात दशकभन्दा बढी समय बलिदानी सङ्घर्षको अग्रमोर्चामा रहेको र नेपालको संविधान निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका खेलेको नेकपा (एमाले) यस प्रणालीलाई रक्षा, विकास र सुदृढ गर्न दृढ सङ्कल्पित छ ।

सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढङ्गले ती ओहदाहरूलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ । नेपालमा लैङ्गिक समानता र समावेशिताको आइकन’का रूपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गतः वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ’गणतन्त्र गौरवका रूपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ । पार्टी नेताका रूपमा रहँदा होस् या मुलुकको राष्ट्राध्यक्ष रहँदा र त्यसबाट अवकाश प्राप्त गर्दा, उहाँ हाम्रा निम्ति सबै सम्मानित रहँदै आउनुभएको छ ।

यिनै पृष्ठभूमि, सन्दर्भ र मान्यतालाई ध्यानमा राखेर केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयम्को सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ । पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकले उपरोक्त मान्यताका आधारमा सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सम्वन्धमा निम्नानुसारको निर्णय गरेको छ ः
सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।

उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।

जननेताका नाममा जनङ्गी डम्फू !

विगतमा माधव कुमार नेपाल वा झलनाथ खनाल एमालेको नेतृत्वमा रहँदा पनि मदन भण्डारी फाउन्डेसन या मदन आश्रित स्मृति प्रतिष्ठानका नाममा दुईवटा संस्था समानान्तर रुपमै चलेका थिए । तर, ती दुबै केपी ओली समूहकै सेवामा सक्रिय थिए ।

अहिले उषाकिरण भण्डारीले चलाएको फाउन्डेसन ओलीको ‘ग्रिप’बाट बाहिर गएको छ भने प्रदीप ज्ञवाली अध्यक्ष रहेको मदन–आश्रित प्रतिष्ठान भने ओलीकै पक्षमा छ ।

गत साउन २३ गते मदन–आश्रित स्मृति प्रतिष्ठानको साधारणसभाले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो । यसअघि प्रदीप नेपाल प्रतिष्ठानको अध्यक्ष थिए । नेपालको निधनपछि प्रतिष्ठानको ३१ औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाएको छ ।

प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना र कोषाध्यक्षमा सरोज दाहाल छन् । त्यसैगरी, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ छन् ।

यता ०८२ बैशाख १५ मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भइन् । सम्मेलनले सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मीना भण्डारीलाई चयन गरेको छ । चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्ष चयन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्मेलन उदघाटन गरेका थिए ।

मदन भण्डारी फाउन्डेसनको ३१ सदस्यीय कार्यसमितिमा पनि प्रतिष्ठानमा जस्तै सबै एमालेकै कार्यकर्ता संलग्न छन् । जसमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा. डा. प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा. डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्रा. डा. बद्रिविशाल पोखरेल, डा. विमला राई पौडेल, डा. कैलाश भण्डारी, रामशरण प्याकुरेल, डा. कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, इन्जिनियर अमन कुमार मास्के, चिन्तन पाठक, इन्जिनियर विनय के.सी., अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा. सुरेश तिवारी र बलबहादुर आचार्य छन् ।

माथिका सबै तथ्यहरु पढिसकेपछि अब तपाई आफैं भन्नुहोस्– एमाले फुटेकै हो त ? अथवा, मदन भण्डारी फाउन्डेसन मात्रै ओलीको पकडबाट बाहिर गएको हो ? कतै यो फुटको पूर्वसंकेत पो हो कि ?

यो पनि-

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ९ : ०१ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्