सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास ! | Khabarhub Khabarhub

बाबुको मुख हेर्ने दिन

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

‘पैसा चाहिन्छ , बाआमा चाहिँदैन’



काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’ दिनमा छोराछोरी भेट्न आउँदैनन् भन्नेमा ढुक्क छन् । तीन वर्षदेखि उनी पशुपतिस्थित वृद्धाश्रममा छन् । तर कहिले पनि छोराछोरी बुवाको मुख हेर्ने दिनमा पुगेका छैनन् ।

बुवालाई मान्ने विशेष दिनमा नआए पनि अरु बेला पैसा माग्न भने आउने गरेको महर्जनले सुनाए । भन्छन्, ‘बुवा खोज्दैनन्, पैसा मात्रै खोज्छन् । कहिले छोरा त कहिले छोरी बुवा पैसा दिनुस् भन्दै आउँछन् । सन्तानको माया खाली हात फिर्ता गर्न मन लाग्दैन । आफूसँग जति छ, दिएर पठाउँछु । तर मेरो पैसाले छोराले सुई हान्छ । दुःख मलाई त्यसैमा छ ।’

२०६० सालमा श्रीमतीको मृत्यु भएपछि मंगलदासको जीवन कठिनाइतिर धकेलियो । पत्नीसँगको वियोगले धेरै बिरामी भए । सुगर र प्रेसरले ओछ्यानमै ढलायो । भएका एक छोरी र एक छोरा कुलतमा फसेपछि उनको सहाराको लागि कोही भएन । भाइबुहारीले सकेजति उपचार त गरे तर उनीहरू आफैँ समस्यामा थिए । 

तीन दाजुभाइमध्ये जेठा उनी विस्तारै सबैको लागि बोझ बन्दै गए । बुढेसकालमा वृद्धाश्रामको यात्रा आफ्ना सन्तानलाई उचित संस्कार नदिँदाको परिणाम भएको उनी स्वीकार गर्छन् । ‘पढ्न भनेर घरबाट पठायो, स्कुल नै नजाने रहेछन् । सरकारी विद्यालयमा त्यति विद्यार्थीको ध्यान पनि नहुने । बाहिर खेलेर, डुलेर बेलुका घर फर्किने रहेछन्’ उनले भने ।

‘सन्तानलाई असल अभिभावकत्व दिन सकिनँ । त्यसकारण दुवैले पढेनन् । त्यसैक्रममा छोराले ड्रग्स लिन सिकेछ । सुई पनि हान्न थालेछ । कुतल छोड्नै नसक्ने अवस्थामा पुगेपछि छोरा बिग्रिएको थाहा पाइयो’ उनी थप्छन् ‘सन्तानको गलत कदम सबैभन्दा ढिला थाहा पाउने भनेकै आमाबुवाले रहेछ । समयमै अथवा सुरुमै थाहा पाएको भए रोक्न सकिन्थ्यो होला ।’

काठमाडौंमै जन्मिए पनि आमाबुवाले उनलाई सानैदेखि ज्यामी काममा लगाइ दिए । खेतमा काम गर्न पठाए । युवावस्थामा सिकर्मी र डकर्मीको काम गरे । विशेष गरी बगैँचा बनाए । मानिसहरूको घर तथा होटलहरूमा उनले बगैँचा बनाउने काम गरे । पाँच कक्षासम्म अध्ययन गरेका उनी आफू भने कहिल्यै पनि कुलतमा फसेनन् । आफूले पढ्न नपाए पनि छोराछोरीले पढून् भन्ने उनको चाहना थियो । तर उनीहरू मात्तिएर पढेनन् ।

वृद्धाश्रमको बगैँचा देखाउँदै उनले भने, ‘यो वरिपरि यी बोटबिरुवा, फूल र दुबो देख्नुभएको छ ? यो सबै मैले रोपेको हुँ । हरियाली साह्रै मन पर्छ । मलाई यो काम गरेको पारिश्रमिक दिन्छन् । तर मैले मागेको होइन, कार्यालयले आफैँले दिएको हो । दिए पछि लिनै पर्यो ।’

छोरीले पनि पाँच कक्षासम्म पढिन् र भागेर बिहे गरिन् । तर ज्वाइँ राम्रो नपरेर उनले दुःख पाएकी छिन् । छोराले बिहे गरेर एक छोरा (नाति) पनि जन्मेको थियो । तर बुहारीले छोडेर हिँडिन् । ड्रग्स खानेसँग कसको छोरी बस्छ ? उनले प्रश्न तेर्साए । उनी भन्छन्, ‘छोडेर ठिकै गरी बुहारीले जस्तो लाग्छ । छोरा सुध्रिने भए पो ।’

मंगलदासलाई भाइबुहारीले अर्को बिहे गर्न भनेका थिए । तर उनले छोराछोरीको हालत देखेरै बिहे गर्न सकेनन् । कान्छी आमा ल्याए झन् दुःख थपिन्छ जस्तो लाग्यो । आफैँ बिरामी भएर काम गर्न नसक्ने भएका बेला अर्काकी छोरी ल्याएर दुःख दिन उनलाई मन लागेन । मरे मर्छु, दुखै होस् तर एक्लै बस्छु भन्ने ठानेर बसेँ ।

बिजोग देखेर छिमेकीहरूले उनलाई वृद्धाश्रम जानु भनेर सुझाए । उनी सुनेर झसक्क भए, त्यो भन्दा अगाडि यो शब्दै सुनेका थिएनन् । बुबाआमाले पढाएनन् त्यसकारण पनि थाहा भएन होला । उनको पहिलो वाक्य थियो– के हो वृद्धाश्रम ? परिवार नभएका वा बेसहारा बूढाबूढी बस्ने ठाउँ रहेछ । सरकारले खुवाउने बस्ने व्यवस्था गर्ने रहेछ ।

छोराछोरी सहारा बन्छन् भन्ने आश थिएन । भाइबुहारीले पनि कति नै हेर्न सक्छन् र ! वृद्धाश्रम आउँदा कत्ति पनि दुःख नलागेको उनले सुनाए । ‘म खुसी हुँदै आएँ । अहिले पनि आनन्दको साथ बसिरहेको छु । मलाई आश्रम घर जस्तै लाग्छ । रगतको नाता नभएका तर भावनाले नजिक र माया गर्ने दाइहरू छन् ।’

‘आश्रममा भोकै बस्नु पर्दैन । सुत्ने कहाँ हो भन्नु पर्दैन । सुगर, प्रेसर र दमको औषधी खानु पर्छ । त्यसको यहीँ व्यवस्था छ । कतिपय सन्तानले यति सुखले राख्छन् कि राख्दैनन्’ उनी थप्छन्–‘वृद्ध अवस्था सहज हुन सम्पत्ति हुनुपर्छ र सन्तानलाई संस्कार दिनुपर्ने रहेछ । ती दुवै कुरा गर्न सकिएन ।’

मान्छेको जीवन सुन्दर छ 
घरपरिवार र सन्तान जन्माएर जीवनभर उनीहरूको लागि बाँचेकाहरू पनि वृद्धाश्रममा देखेर ७७ वर्षीय नारायणप्रसाद  प्याकुरेल बिहे नगरेकोमा पछुतो नरहेको बताउँछन् । नुवाकोट स्थायी घर भएका उनले बिहे गरेनन् । तीन दाजुभाइमध्येका कान्छा भएपनि पढ्न पाएनन् । ८ वर्षकै उमेरमा काम खोज्दै भारत पस्नु पर्‍याे ।

बालकमै परदेश पसेका उनले उतै एक अभिभावक भेटाए । उनीहरूले छोरा भन्न थाले । उनले पनि अब्बाअम्मा पाए । काम गर्दै भारतमै हुर्किए । भाँडा माझ्नेदेखि ‘कुक’सम्म काम गरे । दुःख र परिस्थितिले गर्दा बिहेमा मन नगएको उनले बताए ।

भन्छन्, ‘बिहे गर्नुपर्छ भनेर कसैले भनेनन् । अर्काकोमा काम गर्ने भएर होला कसैसँग प्रेम गर्ने मौका पनि मिलेन । तर समय जान कत्ति बेर नलाग्ने रहेछ । जवानै छु भन्दाभन्दै बिहे गर्ने उमेर घर्कियो । मेरा ८ भाइ भतिज छन् । उनीहरूले मसँग नाता लगाउँदैनन् । मैले दुनियाँ देखेँ र भोगेँ । आफ्नाले चिन्दैनन् र खोज्दैनन् भनेर चिन्ता लाग्दैन ।’

‘परिवार हुने र नहुने, पढेका र नपढेका, धनी र गरिब लगभग सबैको जीवन एकै हो । धेरैको घरमा मेलमिलाप छैन । कर्तव्यबोधले भन्दा पनि समाजको डरले वृद्ध आमाबुवाको सेवा गर्ने गर्छन्’ उनी थप्छन्, ‘थोरै मात्रै सन्तान छन्, जसले आमाबुवाको मनवचनले सेवा गर्छन् ।’

भारतका अब्बाअम्मा बितेपछि प्याकुरेल २०७२ सालमा नेपाल आएका हुन् । नेपाल घर खोज्दै आए, तर उनले कसैलाई चिनेनन् । नत दाजुहरूले उनलाई चिने । नुवाकोटमा थोरै जग्गा र एक झुपडी छ । तर प्याकुरेललाई त्यो सम्पत्तिप्रति कुनै मोह छैन । निराश हुँदै उनले भारतका अब्बाअम्मा सम्झे, ‘उनीहरू नमरेको भए, नेपाल फर्कने थिइनँ । नेपाल आउँदा मलाई कसैले चिनेनन् ।’

दाजुहरूसँग १८ महिना बस्दा पनि अपनत्व नभएपछि उनले वृद्धाश्रमलाई गन्तव्य बनाए । ‘यहाँ आएदेखि दाजुभाइ कोही भेट्न आएका छैनन् । वृद्धाश्रममा रमाइलो लाग्छ । परिवार नभएको मान्छे, यहाँ आमा, दिदी, दाइ भेट्टाएको छु । थोरै खानेकुरा पनि बाँडेर खान्छन् । सुखदुखको कुरा गर्छन् ।’

‘पहिले एक्लो महसुस हुन्थ्यो, यहाँ आएदेखि भएको छैन । सुगर र प्रेसर केही पनि छैन । बिहान ३ बजे निद्राले छोड्छ । यहीँ वरिपरि घुम्ने, डुल्ने गर्छु । हल जस्तो छ जसमा हामी ११ जनाको विस्तारा छ । सुत्नेबेला गफ गर्दै निदाउँछौँ’ उनले भने ।

उनी मुटुको बिरामी थिए, अहिले निको हुँदै गएका छन् । मानिसको जीवनलाई नियाल्दा निकै सुन्दर रहेको उनको अनुभव छ । ‘यो चोला मैले बाँचे र अहिले पनि बाँचिरहेको छु । निकै खुसी छु, उनी थप्छन्, ‘आफूसँग भएको कुरामा सन्तोष मान्नु नै खुसी रहेछ । यो मेरो र यो तेरो भन्ने केही छैन । यो सास गएको दिन तपाईँले हातमा लगाएको घडी पनि थुत्नेछन् ।’

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १२ : ५६ बजे

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले