पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि « Khabarhub

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ। हालै कालोपत्र सम्पन्न गरिएको १० किलोमिटर सडकको दिगोपनाका लागि निर्माण व्यवसायीले पहिरो रोकथामका लागि बायो इञ्जिनियरिङ प्रविधि अपनाएका हुन्।

हालै कालोपत्र सम्पन्न एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गतको बोक्से–सिगाना सडक निर्माणका क्रममा खसेको पहिरो रोकथाम गर्दै सडक संरक्षण गर्न निर्माण व्यवसायी कर्ण विल्डर्सले एक दर्जन पहिरोमा नेपियर जातको घाँस रोपेको छ।

कालोपत्र सडकलाई टिकाउन जोखिमयुक्त स्थानको पहिचान गरी बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको कर्ण विल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठले जानकारी दिए। यसको प्रयोगले सडकको संरक्षणसँगै प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकूलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि सहयोग पुर्याउने श्रेष्ठको भनाइ छ।

उनले बायो इञ्जिनियरिङमार्फत ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य सहयोगसँगै स्थानीय किसानलाई घाँसमा समेत सहयोग पुर्याउने गरी १० किमी सडकको पहिरो खसेको क्षेत्रमा नेपियर जातको एक हजार ५०० भन्दा बढी घाँसको विरुवा रोपिएको बताए।

“सडक चौडा बनाएर कालोपत्र गर्द एक दर्जन स्थानमा पहिरो खसेको थियो, उक्त पहिरोको दिगो समाधानका लागि पूर्वाधारको काम त कालोपत्रअघि नै गरिन्छ, त्यससँगै अहिले बर्खामा पहिरोमा बायो इञ्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ”, उनले भने, “पहिरो खसेको र सम्भावित पहिरोको जोखिम स्थानको पहिचान गरेर नेपियर जातका बहुवर्षीय घाँस लगाइएको छ जसले पहिरो रोकथामसँगै किसानको पशुपालनलाई सघाउँछ।”

नेपियर उखुजस्तो देखिने बहुवर्षीय घाँस हो। यसको उचाइ दुई–तीन मिटर अग्लो र धेरै झाङ हाल्न सक्ने भएकाले बायो इञ्जिनियरिङ प्रविधिमा प्रयोग गरिँदै आइएको छ।

बायो इञ्जिनियरिङअन्तर्गत काँस, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवनजस्ता बिरुवा रोप्ने गरेमा यसले एकातर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्कातर्फ पानीको मुहान सुक्नबाट जोगाउने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताउनुभयो।

पहाडी क्षेत्रमा विकास निर्माण गर्दा हरित व्यवस्थापनमा समेत ध्यान दिन थालिएको उनको भनाइ छ। ठूलाठूला पहिरो समेत बायो इञ्जिनियरिङमार्फत रोकथाम भएको उनको भनाइ छ।

नेपालको पहाडी भेगमा विकाससँगै भूक्षयको दर घटाउन बायो इञ्जिनियरिङ प्रविधि उपयुक्त रहेको मिश्रको भनाइ छ। ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको १० किमी कालोपत्र सकेर निर्माण व्यवसायीले बायो इञ्जिनियरिङ प्रविधिमार्फत पहिरो रोकथाम, मासिएको सिँचाइ कुलो गोरेटोबाटो निर्माण गरिरहेको छ।

उक्त सडक रु २९ करोड ३७ लाख ८८ हजारमा दुई वर्षअघि सडक डिभिजन कार्यालयले कर्ण विल्डर्ससँग ठेक्का सम्झौता गरी कालोपत्र गरेको हो।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ८ : ३४ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड