भारतीय निर्वाचन आयोगमाथि विपक्षीले लगाए धाँधलीको आरोप | Khabarhub Khabarhub

भारतीय निर्वाचन आयोगमाथि विपक्षीले लगाए धाँधलीको आरोप


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको भारतीय निर्वाचन आयोग अहिले आफ्नो विश्वसनीयता र स्वतन्त्रतामाथि अभूतपूर्व प्रश्न उठ्दै आलोचनाको घेरामा परेको छ ।

विपक्षी दलका नेता र आलोचकहरूले हालै सम्पन्न आम निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको र यसले सम्पूर्ण परिणाम प्रभावित पारेको आरोप लगाएका छन् । तर, निर्वाचन आयोगले भने सबै आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।

नयाँ दिल्लीको संसदमा प्रमुख विपक्षी नेता तथा कांग्रेस पार्टीका राहुल गान्धीले यस अभियानको नेतृत्व गरिरहेका छन् ।

उनले अघिल्लो पटक इलेक्ट्रोनिक मतदान मेसिनहरू त्रुटिपूर्ण भएको आरोप लगाएका थिए । अहिले भने उनले निर्वाचन आयोगले डिजिटल मतदाता रेकर्ड सार्वजनिक गर्न अस्वीकार गरेको बताउँदै आफ्ना समर्थकहरूले हप्तौँसम्म हातैले दर्ता सूचीहरू जाँच्दा भेटिएका त्रुटिहरू देखाएका छन् ।

पचपन्न वर्षीय गान्धीले सन् २०२४ को संसदीय चुनावमा मत हेरफेरका कारण आफ्नो पार्टीले दर्जनौँ सिट गुमाएको दाबी गरेका छन् । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभरि छ हप्तासम्म चलेको यो चुनावलाई मानव इतिहासकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिन्छ ।

गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी भाजपालाई समर्थन गर्न आयोगले मतदाता सूचीमा हेरफेर गरेको बताए । चौरहत्तर वर्षीय मोदीले गत वर्ष ऐतिहासिक तेस्रो कार्यकाल जिते पनि स्पष्ट बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

गान्धीका अनुसार धाँधलीका रणनीतिहरूमा एउटै व्यक्तिको नामबाट धेरै पटक मतदान गर्नु, नक्कली ठेगाना प्रयोग गरेर मतदाता थप्नु जस्ता काम समावेश थिए ।

अगस्ट ७ मा उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पार्टी सानो मतान्तरले हारेको निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी ‘नक्कली’ मत खसेको उदाहरण प्रस्तुत गरे । यस क्षेत्रमा कांग्रेस ३० हजारभन्दा बढी मतले पराजित भएको थियो ।

“हाम्रो माग स्पष्ट छ—निर्वाचन आयोगले डिजिटल मतदाता सूची पारदर्शी रूपमा सार्वजनिक गरोस् ताकि जनता र राजनीतिक दलहरूले स्वतन्त्र रूपमा लेखापरीक्षण गर्न सकून्”, गान्धीले भने ।

भारतीय निर्वाचन आयोगले यी सबै आरोपलाई ‘झुटा र भ्रामक’ भनेको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले आयोग कहिल्यै आफ्नो संवैधानिक कर्तव्यबाट पछि नहट्ने बताए ।

“निर्वाचन आयोगलाई राजनीतिक औजारका रूपमा प्रयोग गरेर भारतका मतदातालाई लक्षित गर्ने प्रयास भइरहेको छ”, उनले पत्रकार सम्मेलनमा भने, “आयोग सबै मतदातासँग दृढतापूर्वक उभिएको छ र कुनै भेदभावबिना आफ्नो कर्तव्य पूरा गर्न निरन्तर प्रतिबद्ध छ ।”

कुमारले आरोप लगाउनेहरूले प्रमाणसहित शपथपत्र पेस गर्न वा राष्ट्रसँग माफी माग्नुपर्ने चेतावनी पनि दिए ।

गान्धीले अगस्ट १७ मा बिहारमा एक महिनासम्म चल्ने ‘मतदाता अधिकार’ र्‍याली सुरु गरेका छन्, जसमा ठूलो जनसमर्थन प्राप्त भएको बताइएको छ । अक्टोबर वा नोभेम्बरमा त्यहाँ हुने विधानसभा चुनावअघि यी आरोपहरू चर्किएका हुन् ।

विपक्षीहरूले आयोगले पञ्जीकरण सुधारका नाममा कडा कागजात मागेर सामूहिक मताधिकार हनन गरेको दाबी गरेका छन् । तर, गत हप्ता भारतको सर्वोच्च अदालतले अधिकांश नागरिकसँग हुने बायोमेट्रिक आइडीलाई वैध मान्दै राहत दिएको छ ।

यसैबीच, कार्यकर्ताहरूले जीवित मतदातालाई मृत घोषित गरिएको, पूरा परिवारलाई दर्ता सूचीबाट हटाइएकोजस्ता घटनाहरू रिपोर्ट गरेका छन् ।

गान्धीले यसलाई ‘अन्तिम षड्यन्त्र’ भनेका छन् । बिहारमा मतदाता प्रमाणीकरण प्रक्रिया सेप्टेम्बर २५ भित्र सक्ने र अन्तिम सूची पाँच दिनपछि प्रकाशित गर्ने योजना छ ।

गान्धीले आरोप लगाउँदै भने, “सुधारको नाममा उनीहरूले नयाँ मतदाता थप्ने र पुराना मतदाता हटाएर चुनाव चोर्न खोजेका छन् ।”

आयोगले भने यो अभ्यास विदेशी अवैध आप्रवासीलाई मतदाता सूचीमा प्रवेश गर्न नदिन गरिएको स्पष्ट पारेको छ ।

मोदी नेतृत्वको भाजपाले लामो समयदेखि छिमेकी बङ्गलादेशबाट ठूलो सङ्ख्यामा कागजातविहीन आप्रवासी मुस्लिमहरू भारतको मतदाता सूचीमा प्रवेश गरेको दाबी गर्दै आएको छ ।

यता आयोगले बिहारमा मेसिनले पढ्न सकिने डिजिटल रेकर्डलाई स्क्यान गरिएको छविले प्रतिस्थापन गरेपछि आलोचना बढेको छ । आलोचकहरूको भनाइमा यस परिवर्तनले त्रुटि पत्ता लगाउन कठिन हुने र समय बढी लाग्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : २७ बजे

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि