काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।
भेटवार्तामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म सञ्चालन हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो ।
राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे ।
सो अवसरमा अपर त्रिशुली–१ जलविद्युत आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमासमेत कुराकानी भएको छ ।
मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिबद्धता जनाए ।
उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे ।
दुवै पक्षले कन्फरेन्समार्फत नेपालको जलविद्युत क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया