काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त हुन दिएको निवेदन रूपन्देही जिल्ला अदालतले अस्वीकार गरिदियो ।
पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका बेला लामिछानेले थुनामुक्त गर्न माग गर्दै निवेदनसँगै बिगोबापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी पनि बुझाइसकेका थिए ।
तर, साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनको निवेदन अस्वीकार गर्यो । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको बास फेरि भैरहवा कारागार नै बन्यो ।
त्यसअघि उनले गत जेठ १४ गते जिल्ला अदालतसमक्ष अड्डासारका लागि निवेदन दिएका थिए । त्यसको दुई दिनपछि अदालतले लामिछानेलाई अड्डासारका लागि अनुमति दिएको थियो । तर, कारागार व्यवस्थापन विभागले अदालतले अनुमति दिए पनि लामछिानेको अड्डासारलाई गम्भीरतापूर्वक लिएन ।
यसैबीच, लामिछानेलाई एउटा झ्यालसम्म खुला नराखिएको कोठामा अमानवीय ढंगले राखिएको भन्दै ‘नयाँ पत्रिका दैनिक’ले साउन २३ मा ‘कारागारमा यसरी राखिएको छ रविलाई’ शीर्षकमा समाचार प्रकाशित गर्यो ।
त्यही दिन बेलुकी ‘अन्नपूर्ण दैनिक’ले अनलाइन संस्करणमा ‘रवि लामिछानेलाई जेलमा भीआईपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्’ शीर्षकमा छुट्टै समाचार छाप्यो ।
पाठक दुई भागमा विभाजित भए । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले लामिछाने राखिएको कारागारको स्थलगत निरीक्षण गर्यो । कारागारको अनुगमनपछि आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरूको अभाव रहेको सञ्चारमाध्यमलाई जानकारी दिए ।
आयोगले लामिछानेलाई अन्यत्र स्थानान्तरण गर्न अदालतले दिएको आदेशसमेत कार्यान्वयन नगरेको भन्दै आलोचना गरेपछि सरकार हच्कियो । साउन ३० गते उनलाई अड्डासार गर्ने निर्णय गरेर सरकारले साउन ३१ गते भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार अड्डासार गर्यो ।

अड्डासार भएको १० औँ दिन (भदौ ९) सोमबार लामिछानेपत्नी निकिता पौडेल रूपन्देही जिल्ला अदालतले बैंक जमानत बुझाउँदा पनि थुनामै राख्ने दिएको आदेशविरुद्ध उच्च अदालत दाङको बुटवल इजलास पुगिन् ।
उच्च अदालत, बुटवल इजलासका शाखा अधिकृत तथा सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने (निकिता मार्फत)ले जिल्ला अदालतको आदेशमा चित्त नबुझेको भन्दै निवेदन दर्ता गराएका छन् ।
सुप्रिम सहकारी संस्थाको करोडौँ बचत रकम ठगी अभियोगमा ०८१ चैत २२ गते बुटवल इजलासले नै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यसअघि बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई धरौटीमा छाडेको थियो । तर, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत अभियोग झेलिरहेका लमिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको थियो ।
उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरेपछि रास्वपा सभापति लामिछाने भैरहवा कारागारमा चार महिना बिताएर नख्खु कारागार अड्डासार भएर आएका छन् ।
पूर्वगृहमन्त्री लामिछानेले कानुनको सहारामा वैधानिक ढंगले मुक्त हुन खोजेको नख्खु कारागारबाट कम्युनिस्ट नेताहरू गैरकानूनी ढंगबाट भागेको इतिहास छ ।
आजभन्दा ४९ वर्ष अघि ३२ दिन लगातार सुरूङ खनेर कम्युनिस्ट नेताहरू नख्खु कारागारबाट फरार भएका थिए । उनीहरूले ०३३ फागुन १० गते दिउँसोबाट सुरूङ खन्न सुरू गरेर ०३३ चैत्र १२ गतेको साँझ ‘जेल ब्रेक’ गरेका थिए । कम्युनिस्ट नेताहरूले एउटा फलामको पन्यू, एउटा भाँचिएको छाताको डण्डी र एउटा डाडूलाई सुरूङ खन्ने औजारका रूपमा प्रयोग गरेका थिए ।
०३३ सालको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात (८३ औँ मई दिवस) मनाउन नेपालका कम्युनिस्ट नेताहरूले ‘मुस्लो परिवार’को तर्फबाट आह्वान गरिएको पर्चा छापेर वितरण गरेका थिए । उक्त पर्चा मस्यौदा गरेको, छापेको र वितरण गरेको ‘गम्भीर अपराध’मा तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले नेताहरू प्रदीप नेपाल, गोपाल शाक्य र माधव पौडेललाई १० वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना तोकेका थिए ।
उनीहरूसँगै वीरबहादुर लामा, राजेन्द्र पाण्डे, सूर्य लामिछानेलगायतका नेताहरू पनि नख्खु कारागारमा थुनिएका थिए । सुरूमा त उनीहरूले कानुनी प्रतिकारको बाटो नै अपनाए । तर, सरकारले प्रदीप, गोपाल र माधवलाई ‘नाइके’का रूपमा लिँदै नछोड्ने निर्णय गरेको थियो ।
एक वर्ष बित्दा पनि उनीहरूको मुद्दाको कुनै सुनुवाइ नै भएन । तत्कालीन सरकारले गरेको अन्यायको प्रतिकार गर्न उनीहरूले गैरकानुनी बाटो समात्ने अठोट गरे । त्यतिबेला नक्खु कारागारमा झापा विद्रोहका बन्दीहरू नेमुसिंह राजवंशी, चन्द्रप्रकाश (सीपी) मैनाली, धनेन्द्र बस्नेत, नरेश खरेल, हर्क खड्का, नारद वाग्ले, भीष्म धिमाल, धर्म घिमिरे र मोहन उप्रेती पनि आइसकेका थिए । यस्तै सूर्य कन्नङ्वा वा अशोक न्यौपाने जस्ता कम्युनिष्ट बन्दीहरू पनि नख्खुमै थिए ।
जिउँदै कारागारबाट निस्कन पाइन्छ भन्नेमा केही कम्युनिस्ट नेताहरूको विश्वास थिएन । बाहिरबाट सघाउने पार्टी पनि नाम मात्रको शक्ति च्यापेर बसेकाले हुन सक्छ, आन्दोलन गरेर पार्टीले बन्दीहरू छुटाउँछ भन्ने विश्वास उनीहरूमा थिएन ।
त्यसपछि उनीहरुले सुरुङ खनेर कारागारबाट भाग्ने निधो गरे ।

नख्खु कारागारमा सुरूङ खनेर भाग्नेमध्येका एक प्रदीप नेपाल (स्वर्गीय)ले ‘मुक्त आकाशको खोजी’ नामक पुस्तकमा लेखेका छन्, ‘जेलमा बसेर आफ्नो चाहनाअनुरूप जनताको सेवा गर्ने र निरंकुश सत्ताविरुद्ध निर्णायक सङ्घर्ष गर्ने काम गर्न पनि सकिँदैनथ्यो । त्यसैले जेलमा बसेका हामी कम्युनिस्टहरूले जेलबाट सुरूङ खनेर बाहिर निस्कने र राजनीतिक काममा संलग्न हुने निर्णय गर्यौँ ।’
कम्युनिस्ट नेताहरूले सुरूङ खन्ने निर्णय त गरे तर सुरूङ खन्नु सहज थिएन । त्यसमा पनि सँगै बन्दी जीवन बिताइरहेका सूर्य कन्दङवा र मोहन उप्रेती सुरूङ खनेर भाग्ने निर्णयमा सहमत भएनन् ।
सूर्य सुरक्षा कानुन अन्तर्गत बन्दी थिए भने मोहनप्रति पनि कारागार प्रशासनको दृष्टिकोण नरम थियो । सुरूङ खनेर अन्य कम्युनिस्ट नेताहरू भागेको अवस्थामा आफूहरूप्रति प्रशासनको नजर झनै नरम हुने र कारागारबाट छुट्न पाउने सोच उनीहरूमा थियो । ‘सानो सोचाई उहाँहरूमा थियो,’ पुस्तकमा प्रदीप नेपालले लेखेका छन् ।
सुरूङ खनेर भाग्ने निर्णय गरेकाहरूलाई अर्को असहजता थियो– जेलभित्र रहने प्रहरीहरू । ‘सुरूङ खन्नु सजिलो थिएन । पुलिसहरू जेलभित्रै, त्यो पनि हामी बसेको जेलको पश्चिमी हिस्सामा नै सुत्थे । जेलभित्र र बाहिर चारैतिर रमन घुम्थ्यो,’ पुस्तकमा लेखिएको छ, ‘चारैतिरका बुर्जामा बस्ने पुलिसहरू रातभर खबरदारको फेरी लगाउँथे । त्यसबाहेक जेलको आन्तरिक प्रशासन पनि हामीतिर कदुष्टि राख्थ्यो ।’
पुस्तकमा लेखकले नेपाली कांगे्रसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पनि ‘जेल ब्रेक’का क्रममा अप्ठ्यारो पार्ने पात्रका रूपमा चित्रित गरेका छन् ।
‘चौकिदार अलि भलाद्मी थिए र हामीमाथि विश्वास राख्थे । तर, उनी बाहेकका सम्पूर्ण व्यक्तिहरू हामीसित चर्काे शत्रुता राख्थे,’ नेपालले लेखेका छन्, ‘तत्कालीन कांग्रेसी बन्दी कृष्णप्रसाद भट्टराईलाई रिझाउने प्रयत्न गर्थे । यस्तो स्थितिमा हामीजस्ता निहत्था मानिसले सुरूङ खनेर जेलको घेरा नाघ्नु त्यति सजिलो थिएन ।’
असहजताका बाबजुद पनि कम्युनिस्ट नेताहरूले सुरूङ खन्ने पूर्वाधारका रूपमा जेलका बन्दी र आन्तरिक प्रशासनका कर्मचारीहरूसँगको सम्बन्धलाई अझै गाढा बनाउने प्रयास गरे । सामान्य बन्दीहरूसँगको घनिष्ठता र बारीमा लगाएको तुलफूल स्याहार्न गरिएकोे मिहिनेत हेर्दा जेलबाट भाग्छन् भनेर कल्पनासम्म कसैले गर्दैन थिए ।
‘तर ,त्यतिबेला जेलमा परेका नेपाली कांग्रेसका छुस्के भाइहरू भने हामी भाग्छौं भन्दै जेल प्रशासनलाई चुक्ली पनि लगाउँथे । त्यसलाई पनि मत्थर पार्न हामीले कांग्रेसी नेताहरूसँगको भेटघाट र छलफलको कार्यक्रमलाई नियमित बनायौँ । हामी खेलकुदमा पनि बढी व्यस्त हुन थाल्यौँ र नाचगान पनि गर्न थाल्यौँ,’ नेपालले लेखेका छन् ।
कारागारबाट सुरूङ खनेर भाग्ने निर्णयमा सहमत भएका १७ जनाले कार्य विभाजन गरे ।
उनीहरू ६ टिममा विभाजित भएर पालैपालो जेल र आन्तरिक प्रशासनसँग सम्बन्ध राख्ने, कांग्रेससँग कुराकानी गर्ने, तरकारी बारीको गोडमेल गर्ने, खरायोको हेरविचार गर्नेदेखि जेलको सरसफाई गर्नेजस्ता काममा खटिन थाले ।
स्वर्गीय नेपालको पुस्तकका अनुसार उनीहरूको विभाजित दायित्व परिवर्तित भइरहन्थ्यो । जसका कारण सुरूङ खन्न हराउने मानिसप्रति मान्छेको ध्यान जान पाउँदैनथ्यो । आज सुरूङ खन्ने मान्छे भोलि तरकारी बारीमा भेटिन्थ्यो । भोलि सुरूङ खन्ने पर्सि बन्दीहरूको बीचमा बसेर गफ चुटिरहेको हुन्थ्यो ।
‘पहिलो चरणको तयारी सकिएपछि ०३३ साल फागुन १० गते दिउँसोबाट हामीले सुरूङ खन्ने काम थाल्याैं । हामी जेलको सबभन्दा पश्चिमको वार्ड २ मा बस्थ्यौँ,’ पुस्तकमा लेखिएको छ, ‘पहिलो दिन हामी त्यही खरायोको खोर मर्मत गर्ने निहुँमा कोठामा पस्थ्यौँ र प्वाल पार्ने, इँटाको मुनि घोप्टेजस्तो वरपर सर्ने, घर्रा लगाउने र घर्रामुनि एकजना मान्छे बसेर माटो खन्न सकिने खाडल बनायौँ ।’
सुरूङ खन्न सुरू गरिएको पहिलो दिन उनीहरू सबैका लागि अत्यधिक रोमाञ्चक थियो । यसबारे नेता नेपालले लेखेका छन्, ‘हामी सबैको मुटु ढुकढुक गरिरहेको थियो र यो सुरूङ खन्ने कुरा भने हामीमध्ये केही मारिनु पर्ने कुरा निश्चित छ भनेर हामी खासखास–खुसखुस पनि गर्दै थियौँ । त्यो पहिलो दिन म अन्य दुईजना साथीसहित तरकारी बारीको ड्युटीमा खटिएको थिएँ ।’
बारीको गोडमेल र मलजलबाट समय निक्लने बित्तिकै पल्याक्–पुलुक् गर्दै कोठातिर चियाएको, खेलकुदमा मान्छे अलमल्याउने जिम्मा लिएकाहरूले बेला मौकामा झ्यालतिर आँखा डुलाएको, कोठाभित्रै कामको जिम्मा लिएकाहरूले आफ्नो उत्तेजनालाई ढाकछोप गर्दै बाहिर निस्किएर सुसेली हालेको नेपालले पुस्तकमा स्मरण गरेका छन् ।
‘हामीले अनुमान गरेभन्दा सहज ढंगले हाम्रो प्रारम्भिक कार्य सम्पन्न भयो । उत्साहको लहरमा बग्नुभएका साथीहरूले पहिलो दिनमै ३ फिटभन्दा गहिरो खाडल खन्नुभयो,’ पुस्तकमा लेखिएको छ, ‘खाडल तयार भएपछि माथिबाट घोप्टे लगाएर, घोप्टेलाई माटो र इँटाले पुरेर साथीहरू बाहिर निस्केपछि हामी सबैले एकै मनले भन्यौँ– हामीले आधा विजय प्राप्त गरिसकेका छौँ र अब चाँडै नै हामी जनताको काखमा जानेछौँ ।’
पहिलो दिन अत्यधिक रोमाञ्चक भए पनि दोस्रो दिनबाटै उनीहरू सामु खनेको माटो कसरी व्यवस्थापन गर्ने भन्नेबारे चुनौती खडा भयो । ‘सुरूङ खन्दा निस्केको माटोे लुकाउने समस्या र खन्ने औजारहरू प्राप्त गर्ने कठिनाइले हामीमाथि विपत्तिको पहाडै खन्यायो,’ नेपालले लेखेका छन्, ‘खन्ने औजारको नाममा हामीसित एउटा फलामको पन्यू, एउटा भाँचिएको छाताको डण्डी र एउटा डाडूमात्र थियो । यति चिजले डेढ मिटरको व्यास भएको सुरूङको एक बित्ता माटो खन्न पनि पसिना निस्कन्थ्यो । त्यसपछि खनिएर थुप्रिएको त्यो माटोलाई तह लगाउन हामीलाई अर्काे प्रलय पथ्र्याे ।’
चौथो दिन उनीहरूले खन्ने काम रोके । खनेको माटो व्यवस्थापनबारे आपसमा छलफल गरे । उपाय निस्कियो– खनेको माटो पाइन्ट र ज्याकेटको गोजीमा हालेर कोठा बाहिर निस्कने र तरकारी बारीमा पातलो गरी छर्ने ।
‘खनेको माटोलाई हामी पेन्ट र ज्याकेटको गोजीमा हालेर बाहिर निस्कन्थ्यौँ । त्यो माटोलाई पातलो गरेर तरकारी बारीमा छथ्र्यौँ र फेरि माटो लिनभित्र जान्थ्यौँ,’ सुरूङ खन्दाका दिनहरू स्मरण गर्दै नेता नेपालले लेखेका छन्, ‘यो काम धेरै अप्ठ्यारो र खतराले भरिएको थियो तर त्यो अप्ठ्यारो र खतरालाई हामीले केही जस्तो ठानेका थिएनौँ ।’
सुरूङ १५ दिनसम्म खास कठिनाईबिना तन्कियो । १५औँ दिनको रात पर्खालभित्र घुम्ने कैदी कर्मचारीले कम्युनिस्ट नेताहरू सुत्ने कोठैमुनि आएर भने ‘हैन यी मोरा कम्युनिस्टहरू कतै सुरूङ खनेर त भाग्दैनन् ?’
नेताहरूको निधार चिसो भयो, शरीरका रांैहरू ठडिए । उनीहरूको मनमा चिसो पस्यो– ‘यिनीहरूले हाम्रो काम थाहा त पाएनन् ?’ त्यो राति सुरूङभित्र दुईजना पसेका थिए । बिहानको ४ नबज्दासम्म उनीहरू बाहिर निस्कने सम्भावना थिएन ।
भर्खरै सुरूङको चर्चा गर्ने कामदारहरू शंकाकै भरमा सुत्ने कोठामा मान्छे हेर्न आए भने ? नेपाल लेख्छन्, ‘शंकाको भुँवरी (भुमरी)मा परेर हामी सबैको आँखाले निन्द्रालाई बिदाइको सलामी दियो । त्यो रात हामीले छटपटीमै बितायौँ ।’
नेताहरूलाई त्यो संकट टार्नु थियो, टर्यो पनि ।
कैदी कामदारले आफ्नै लहडमा त्यस्तो टिप्पणी गरेका रहेछन् भन्ने कुरा भोलिपल्टका उनीहरूका गतिविधिले प्रष्ट भयो । कैदी कामदारहरूले सुरूङ खनिरहेकाहरू माथि कुनै शंका गरेका थिएनन् ।
‘त्यसको दुई–तीन दिनपछि हाम्रो सामु अर्काे संकट तेर्सियो । हामी पर्खालको जगमा पुगेका थियौँ र यामानका ढुङ्गाहरूले हाम्रो बाटो छेकेका थिए । हामी ती ढुंगाहरू बोकेर बाहिर ल्याउन सक्दैनथ्यौँ र ती ढुङ्गाहरू फुटाउने कुनै औजार हामीसित थिएनन्,’ पुस्तकमा लेखिएको छ, ‘त्यसैले हामीले ढुङ्गाले ढङ्ंगै फुटाउने आदिम प्रविधि अपनायौँ ।’
जगमा भेटिएका राणाकालीन ईटाहरूको जोड सिमेन्टभन्दा कडा थियो । त्यो फुट्दै नफुट्ने, त्यसलाई लुकाउन झनै हम्मे–हम्मे । ८ फिट चौडाइको ढुङ्ंगे जग पार गर्न आफूहरूलाई सबभन्दा अप्ठ्यारो परेको स्मरण पुस्तकमा गरिएको छ ।
‘टुक्र्याएर साना पारिएका ढुङ्गाहरूलाई भने हामीले बाटोमा लगाउने र तरकारी बारीको ड्याङ बनाउने काममा प्रयोग गर्यौँ । जग नाघेर माटोमा पुगेपछि हामीले ढुक्कले सास तान्यौँ ।’
राणाकालीन इँटाहरूको जोडयुक्त जग भत्काउँदा आवाज प्रहरीको कानसम्म नपुगोस् भनेर बेलुकी गितार बजाएर ठूल्ठूलो स्वरमा गीत गाएको, चौरमा वरिपरि घेरा लाएर नाचेको र थपडी बजाएको स्मरण पनि पुस्तकमा छ ।
कम्युनिस्ट नेताहरूको विश्वासले बलियो आधार भेट्टाएको थियो । अब कुनै पनि शक्तिले जेलको बन्धनमा बाँधेर राख्न नसक्ने दृढता उनीहरूमा पलाएको थियो ।
‘हामीले सुरूङलाई उकालोतिर लग्यौँ । अब हरेक पल हाम्रो लागि खतराको क्षण थियो । कुनै पनि बेला भ्वाक्क प्वाल पर्न सक्दथ्यो र हाम्रो एक महिनाको परिश्रम स्वाहा हुनुसक्थ्यो,’ नेपालले लेखेका छन्, ‘कतै हामी जमिनको सतहमै त पुगेनौँ ? हरेकपटकको माटो परीक्षणमा हामीले यो प्रश्नको उत्तर खोज्नु पथ्र्याे । हाम्रो आतुरताको समाप्ति आइपुगेको रहेछ ।’
चैत १२ गते साँझ सुरूङ खन्ने ड्युटीमा रहेका माधव पौडेल र गोपाल शाक्यले आलुका जरा भेटिएको समाचार पठाए । अनि कम्युनिस्ट नेताहरूले त्यही रात कारागारबाट निस्कने अठोट त गरे । तर, निस्कनु अगाडि उनीहरूले थुपै्र काम गर्नु पर्ने थियो ।
सबैभन्दा ठूलो काम थियो– जेलको चारै दिशामा चर्काे उज्यालो फ्याँकिरहेको हजार वाटको बत्ती निभाउनु ।
पहिलोपल्ट नै उनीहरू सजिलै तार जुधाएर बत्तीको फ्युज उडाउन सफल भए । जेल अन्धकारको कोलाहलभित्र डुब्यो । ‘बत्ती के भो ?’ को आवाजले जेलभित्र हल्लीखल्ली मच्चायो । त्यसैबीचमा प्वालको मुख भत्काएर माधव पौडेल बाहिरको खुला संसारमा निस्किन सफल भए । बाँकी नेताहरू एकपछि अर्को गरी बाहिर निस्किन पंक्तिवद्ध (लाइन लागे) भए ।
तर, अचानक बत्ती झलमल्ल बल्यो । मेन स्वीचको फ्युज उडेको थिएन । त्यसैले तुरुन्त बत्ती बल्यो । सबैको आङ जिरिङ्ग भयो । बाहिरको रमाइलो संसारमा निस्कने सपना सँगालेका उनीहरू सबैलाई एउटा ठूलो पहिरोले थिचेजस्तो भयो । सबै आत्तिए ।
तर, आत्तिएर काम चल्नेवाला थिएन । उनीहरूले फेरि बत्ती निभाउनै पथ्र्याे र बाहिर निस्कनै पथ्र्याे । जेलमा अब उनीहरू कसैको जीवन सुरक्षित थिएन । पहिलेकै ठाउँमा बत्ती निभाएर उपलब्धि पाउने सम्भावना पनि थिएन । त्यो बत्ती तुरून्त बल्न सक्थ्यो । उनीहरू ठूला ताराहरूको खोजीमा लागे ।
‘भड्याक्क’ एउटा ठूलो आवाजसहित फेरि बत्ती निभ्यो । गोपाल शाक्य र नारद वाग्लेले पाइखानाको मोटो तार जुधाउनासाथ एकपल्ट उज्यालो झिल्को निकालेर ट्रान्सफरमै बिस्फोट गराएजस्तै आवाज आयो र जेल अन्धकारको भुँवरीमा डुब्यो । नेताहरू हतार–हतार सुरूङको मुखमा भेला भए ।
‘म १२ औँ नम्बरमा थिएँ । सुरूङ पहिले जस्तो ओसिलो र गर्मिलो थिएन । खुला संसारको चिसो हावा खाँदै म सुरूङमा घस्रिन थालेँ । तीन मिनेटपछि म ताराहरू रिमरिमाइरहेको खुला आकाशमुनि निस्किएँ,’ नेता नेपालले आफ्नो पुस्तक ‘मुक्त आकाशको खोजीमा’ लेखेका छन् ।
नख्खु कारागारबाट कम्युनिस्ट नेताहरू सीपी मैनाली, प्रदीप नेपाल, माधव पौडेल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, वीरबहादुर लामा, हर्क खड्का, जीवन मगर, अशोक न्यौपाने, धर्म घिमिरे, नरेश खरेल, निभुसिंह राजन (भारतीय कम्युनिस्ट पार्टीका कार्यकर्ता), कामेश्वर हलुवाई र भीष्म धिमालले विद्रोह गरेको बताइन्छ ।
सीपी मैनाली नख्खु आएपछि….

नख्खु कारागारबाट भागेका मध्येमा पर्ने नरेश खरेल झापा आन्दोलनका क्रममा पक्राउ परेका थिए । झापा आन्दोलनका क्रममा गिरफ्तार हुँदा उनी १५–१६ वर्षका मात्रै थिए । खरेलले नख्खु ‘जेल ब्रेक’को सम्झनामा ‘नयाँ पत्रिका’सँगको कुराकानीमा सीपी मैनालीलाई नख्खु ल्याइएपछि निर्णायक छलफल अघि बढेको बताएका छन् ।
‘सीपीलाई नख्खु ल्याइएपछि जेल ब्रेकबारे निर्णायक विमर्श सुरु भयो । सीपीले के गर्न सकिन्छ विमर्श सुरु गर्नुभो, मैले तीनवटा उपायबारे ब्रिफिङ गरेँ । पहिलो विकल्प– मुख्य गेटबाट बाहिरिने । दोस्रो, वाल नाघेर जाने । तेस्रो, सुरुङ खनेर निस्कने,’ पत्रकार शुरोजंग पाण्डेसँगको कुराकानीमा खरेलले भनेका छन्, ‘यद्यपि, उपयुक्त ठाउँमा सुरुङ खनेर उपयुक्त ठाउँमा मुख निकाल्न सक्यौँ भने लामो समय लागे पनि सुरक्षित ढंगले बाहिरिन सक्ने ब्रिफिङ उहाँलाई जानकारी गराइयो । सीपीले सुरुङ उपयुक्त विकल्प सुझाउँदै सम्भाव्यता अध्ययनका लागि निर्देशन दिनुभयो ।’
खरेलले भनेका छन्, ‘जेल प्रशासनलाई हामीले झापाली धेरै इमान्दार छन्, यिनीहरूले भाग्नेबारे सोच्दा पनि सोच्दैनन् भन्ने पारिसकेका थियौँ । प्रशासनसँग मेरो र घनेन्द्रजीको राम्रो सम्बन्ध थियो । चौकीदारसँग राम्रो सम्बन्ध थियो । अरूसँग पनि सम्बन्ध बढाएका थियौँ । त्यसबीचमै हामीले जेल कमिटी पुनर्गठन गर्यौँ र सीपीलाई नै सचिव बनायौँ । जेल कमिटीले राजनीतिकरूपमा प्रशिक्षित गर्ने र मर्नका लागि समेत तयार हुने गरी प्रशिक्षित गर्दै गयो । त्यतिवेला १७ जनाको मेसमा सँगै खाना खाने मोहन उप्रेती, सूर्य कन्दङ्वा र अशोक नेपाललाई चाहिँ योजना बाहिरिन सक्ने आशंकाले बताएनौँ । तीमध्ये कन्दङ्वा शान्ति सुरक्षाको मुद्दामा पक्राउ परेका थिए । पछि उनलाई योजना सुनायौँ तर उनी सहजै छुट्न सक्ने भएकाले सँगै बाहिर नलैजाने समझदारी भयो । हामी सबै मारियौँ भने उहाँले भन्नुहोला भनेर छोड्यौँ, त्यस कुरामा उहाँ सहमत नै हुनुभयो ।’
यो पनि–
प्रतिक्रिया