रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ? | Khabarhub Khabarhub

रुपन्देही ३ मा उपनिर्वाचन

रास्वपाले उम्मेदवार छान्नेबित्तिकै झमेला, के गर्दैछन् अरु दल ?


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै विवाद उत्पन्न भएको छ । 

रास्वपाले उम्मेदवार घोषणा गरेका डा. लेखजंग थापाले ‘बहुविवाह’ गरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । 

रास्वपाले आइतबार डा. थापालाई उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको थियो । थापा ०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट समानुपातिक उम्मेदवार थिए । 

को हुन् रुपन्देही–३ मा रास्वपाले उम्मेदवार बनाएका लेखजंग थापा ?

‘बहुविवाह’को विवाद देखिएपछि उम्मेदवार थापाले सोमबार दिउँसो २ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित भएको थियो । 

रास्वपाका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमलाई ‘ह्वाट्स एप ग्रुप’मार्फत् सन्देश पठाउँदै भनेका छन्, ‘विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको छ। असुविधाका लागि क्षमा चाहन्छौँ ।’ 

त्यो सन्देश पठाउनुभन्दा झण्डै डेढ घण्टा अघि उनैले उम्मेदवार थापाका पत्रकार भेटघाट तथा अन्तरक्रियामा उपस्थितिका लागि भन्दै सूचना दिएका थिए । 

रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न केन्द्रीय सदस्य कार्कीको माग

उता, नेकपा (एकीकृत समाजवादी) ले रूपन्देही–३ मा आगामी कात्तिक १७ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि सात जना आकांक्षीको नाम सिफारिस गरेको छ । 

भैरहवामा बसेको जिल्ला कमिटी बैठकले सोमबार महासचिव घनश्याम भुसालसहित सात जनाको नाम उपनिर्वाचनका लागि सिफारिस गरेको हो ।

भैरहवामा बसेको जिल्ला कमिटी बैठकले सोमबार महासचिव घनश्याम भुसालसहित सात जनाको नाम उपनिर्वाचनका लागि सिफारिस गरेको हो । भुसालसँगै लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ का सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको एकीकृत समाजवादीले जनाएको छ । 

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने बताइएको छ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रूपन्देही जिल्ला इन्चार्ज ई. नन्दलाल बन्जाडे र रूपन्देही अध्यक्ष हीराध्वज शाह कार्यदलमा छन् । 

रूपन्देही-३ उपनिर्वाचनका लागि एकीकृत समाजवादीबाट सातजनासिफारिस

कार्यदलले सातै जनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीको भनाइ छ । 

राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने उम्मेदवार छनोट गर्ने अन्तिम तयारीमा जुटेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टी संसदीय समितिको बैठक चाँडै बसेर उम्मेदवारको टुंगो लगाइने जानकारी दिए । 

यसअघि राजेन्द्र लिङ्देनले सिफारिस भइ आएका चार जना आकांक्षीलाई काठमाडौं बोलाएर छलफल गरेका थिए । अध्यक्ष लिङ्देनसँग चारै जनाले पार्टीले गर्ने निर्णयमा आफूहरूलाई स्वीकार्य हुने प्रतिवद्धता जनाएका छन् । 

‘जसले टिकट पाए पनि सहमति जनाउने, पार्टीले अघि सारेको उम्मेदवारलाई सम्पूर्ण रूपमा सघाउन कुनै कसर बाँकी नराख्ने भनेर चारै जनाले सहमति गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले खबरहबसँग भने । 

गत असार २९ गते सम्पन्न राप्रपाको जिल्ला कार्यसम्पादन समिति बैठकले पार्टी केन्द्रीय सदस्य वसन्तविक्रम शाही र स्वाती थापा, जिल्ला अध्यक्ष सागर प्रताप राणा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र दिलिप मल्लिक गरी ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

 जसमध्ये जिल्ला अध्यक्ष राणा र कानुन व्यवसायीसमेत रहेका नेता मल्लिकको नाम उम्मेदवारको सूचीबाट हटिसकेको छ । प्रवक्ता श्रेष्ठले उनीहरू दुवै जना सहमतिअनुसार ‘व्याक’ भएका प्रतिक्रिया दिए । बाँकी रहेका चार जनाले अध्यक्ष लिङ्देनसँग सहमति गरेको उनको भनाइ छ । 

रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनका लागि कांग्रेस अहिले अध्ययन र वस्तुस्थितिको समायोजनमा रहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

कांग्रेसले उपनिर्वाचन हुने क्षेत्रको वस्तुस्थिति मूल्यांकनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ । उनी साउन पहिलो साता र भदौ पहिलो साता रूपन्देही पुगेर फर्किसकेका छन् । 

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

साउन पहिलो साता रूपन्देही बसाइँका क्रममा महामन्त्री शर्मा औपचारिक रूपमा पार्टीका कुनै पनि कार्यक्रममा सहभागी भने भएनन् । उनले त्यहाँ पार्टीको प्रदेश कार्यसमितिदेखि भ्रातृ संगठनसँग छुट्टाछुट्टै निर्वाचन केन्द्रित छलफल गरेका थिए । 

यस्तै भदौ २ गते रूपन्देही पुगेका शर्माले गुरुङका अनुसार महामन्त्री शर्माले उपनिर्वाचनका लागि पार्टीले गठन गर्ने उपसमितिबारे छलफल गरेका थिए । उनले रूपन्देहीबाट पार्टीको १४ औँ महाधिवेशनमा विभिन्न तहका प्रत्यासीसँग पनि छलफल गरेको क्षेत्र नम्बर ३ का सभापति सुशील गुरूङले जानकारी दिए । 

त्यसअघि सभापति शेरबहादुर देउवाले गत साउन ९ गते पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेर उपनिर्वाचनबारे छलफल गरेका थिए । उक्त बैठकमा जिल्ला सभापति रामकृष्ण खाँण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाँणले रूपन्देही–३ को पछिल्लो वस्तुस्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए ।

रुपन्देही ३ मा उपनिर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पनि आन्तरिक छलफल थालिसकेको छ। राप्रपाले जितेको यो स्थानमा अहिलेसम्म एमालेले एक्लै लड्ने या कांग्रेससँग अघोषित तालमेल गर्ने केही निर्णय गरेको छैन ।

अर्कातिर एमाले अहिलेसम्म उम्मेदवारबारे पनि निर्णयमा पुगेको छैन । यद्यपि यहाँ राष्ट्रियसभाका पूर्वसदस्य खिमलाल भट्टराई र शशी पौडेलसहितका नेताहरूको नाम चर्चामा छ । रास्वपाले बलियो चुनौती दिने अनुमानबीच एमालेले यहाँ परिणाम आफ्नो पक्षमा पार्ने गरी उम्मेदवारको खोजी गरिरहेको छ ।

रास्वपाले बलियो चुनौती दिने अनुमानबीच एमालेले यहाँ परिणाम आफ्नो पक्षमा पार्ने गरी उम्मेदवारको खोजी गरिरहेको छ ।

यहाँ पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता तथा व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) एवम् लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र अर्का नेता यज्ञजीत शाहले टिकटको आकांक्षा देखाएका छन्।

यद्यपि रुपन्देही एमालेका अध्यक्ष यज्ञ गैरेले अहिलेसम्म कसैको नाम फाइनल भइनसकेको बताए । उनले केन्द्रकोसमेत सल्लाहमा चाँडै उम्मेदवारको नाम सिफारिस गर्ने जानकारी दिए ।

स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता हुनबाट वञ्चित भएको छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी समूहबीचको आन्तरिक किचलोका कारण आगामी कात्तिक १७ गते निर्धारित उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दलका रूपमा दर्ता हुनबाट वञ्चित भएको हो । 

रेशम-रञ्जिता किचलोले उपनिर्वाचनका लागि दर्ता भएन नाउपा 

रूपन्देही–३ मा हुने भनिएको उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता नभएपछि अध्यक्ष रञ्जिता र संरक्षक रेशम समूहसामु अब ‘डमी’ उम्मेदवार अघि सार्ने विकल्पमात्रै बाँकी छ । 

उपनिर्वाचन प्रयोजनका लागि नाउपा दर्ता नभए पनि तराई–मधेश केन्द्रित दलको मोर्चा संघीय लोकतान्त्रिक मोर्चा भने संरक्षक चौधरीले उठाउने उम्मेदवारलाई सघाउने पक्षमा देखिन्छ । तर, मोर्चामै रहेको जनमत पार्टीले भने रूपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भनेर निर्वाचन आयोगमा दल दर्ता गरेको छ । 

रूपन्देहीको बुटवल उपमहानगरपालिकाका १४, १५, १६, १७, १८ र १९ नम्बर वडा र मायादेवी गाउँपालिकाका ७ र ८ नम्बर वडा मिलाएर क्षेत्र नम्बर ३ निर्धारण गरिएको छ । 

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत यो क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहरा कांग्रेस नेता बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी खाणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । 

तत्कालीन समयमा यो क्षेत्रमा नेकपा (एमाले) ले राप्रपालाई सघाएका थियो । कांग्रेसलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को साथ थियो । एमालेको साथ पाएर तत्कालीन समयमा निर्वाचित राप्रपा समानुपातिकतर्फको मत परिणामअनुसार चौँथो स्थानमा आएको थियो । समानुपातिकतर्फको मतअनुसार रूपन्देही–३ मा राप्रपाको मत ९ हजार १८३ छ।

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

यहाँ समानुपातिकतर्फ पहिलो भएको कांग्रेसको २० हजार २७९ मत देखिन्छ । राप्रपालाई सघाएको एमालेको समानुपातिकतर्फ १६ हजार ९८६ मत आएको थियो । कांग्रेसलाई सघाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले समानुपातिकतर्फ क्रमशः दुई हजार ६३७ र ७८१ मत ल्याएका थिए ।

रूपन्देही–३ मा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले रूपन्देही–३ बाट उम्मेदवारी दिएका थिए ।

नाउपाका तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए । यहाँ समानुपातिकतर्फ १४ हजार १५४ मतसहित रास्वपा तेस्रो हुँदा नाउपाले ६ हजार १० र जनमतले तीन हजार ७३२ मत प्राप्त गरेका थिए ।

कांग्रेसमा प्रभावशाली नेताका रूपमा चिनिएका बहालवाला गृहमन्त्री खाणलाई चुनावमा नबोली पराजित गरेर नेता बोहरा चर्चामा आएका थिए । पोष्ट कोभिडका कारण घाँटीमा समस्या भएर चुनावी अभियानका दौरान नबोलेका बोहराको ०८१ चैत १९ मा उपचारका क्रममा काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : १८ बजे

निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक

अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण

करेन्ट लागेर एक जनाको मृत्यु

बाँके- राप्ती सोनारी गाउँपालिका-२ मधुवा बस्ने ३० वर्षीय सुमन चौधरीको करेन्ट

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर– बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित सडकमा बा.६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ

काठमाडौं – अविषेक खड्का र आकृति राज भण्डारीलाई शीर्ष भूमिकामा