काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्दै आएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा पनि उनले सोही दाबी दाेहाेर्याए ।
‘०८४ मा एमालेले एकल बहुमत ल्याउनुपर्छ । हामी सबैजना मिलेर जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने यो सम्भव छ,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा पार्टी र जनवर्गीय संगठनका कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन ।’
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका नयाँ शक्तिलाई लक्षित गर्दै कटाक्षसमेत गर्न भ्याए । ‘आरीबाट घोप्ट्याएका, केही तत्व छन्, उनीहरू अनेक अनेक गरिरहेका छन्,’ उनको भनाइ थियो, ‘उनीहरू आरीबाट घोप्ट्याएपछि सकिन्छन् । तर, एमाले भने बलियो शक्ति हो । लाखौँ कार्यकर्तासहितको दह्रो शक्ति हो ।’
तर, रूपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय भएको प्रतिनिधि सभा उपनिर्वाचनमा एमालेका लागि ११ वर्षसम्म पार्टीमा सक्रिय रहेका एक युवा ‘बाधक’ बन्ने देखिएका छन् ।
बुटवल उपमहानगरपालिका ११ बुद्धनगर घर भएका ३१ वर्षीय किरण बिक रूपन्देही–३ मा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । उनको तयारीले सत्ताको नेतृत्व गरिरहेको एमालेलाई ‘धक्का’ पुग्ने देखिन्छ ।
पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट राजनीति सुरू गरेका किरण ‘विद्रोही उम्मेदवार’ का रूपमा स्वतन्त्र उम्मेदवारी दिने भए पछि एमालेको जितमा ‘तगारो’ बन्ने आंकलन हुन थालेको छ ।
शुक्रबार खबरहबको सम्पर्कमा आएका किरणले आफूलाई सुनिता बराल (हाल प्रतिनिधि सभा सदस्य) अध्यक्ष रहेको अनेरास्ववियुको केन्द्रीय सदस्य र एमालेको काठमाडौं–रूपन्देही सम्पर्क समिति सदस्यको रूपमा पार्टीका लागि काम गरिसकेको कार्यकर्ताका रूपमा चिनाए ।
किरणले उपनिर्वाचनलाई नै लक्षित गरेर पछिल्लो समय एमालेको संगठित सदस्यता नवीकरण गरेका छैनन् । ‘एमालेमा ११ वर्ष होलटाइमरजस्तो भएर काम गरेँ । पार्टीमा मेरो क्षमताको प्रयोग भएजस्तो लागेन,’ उनी भन्छन्, ‘एमालेमै छु । तर, सदस्यता रिन्यु गरेको छैन । फागुनमा पार्टीबाट ताकेता गर्दा पनि रिन्यु गर्दैन भनिदिएँ । मैले उपचुनावमा लड्छु भनेरै नवीकरण नगरेको हो ।’
ललितपुरको ह्वाइट हाउस कलेजबाट प्लस टु अध्ययन पूरा गरेका किरणले काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट ‘अर्बान प्लानिङ’ मा स्नातक गरेका छन् । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (एलएलबी) र ओस्कर इन्टरनेसन कलेजबाट ‘ब्याचलर अफ फिल्म मेकिङ’को पनि अध्ययन गरेका छन् ।
किरण आफू संसदीय राजनीतिको बाटोमा पुग्नुको कारण गत निर्वाचनमा उदाएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार बनेर विभिन्न तहमा निर्वाचित व्यक्तिहरूलाई देखाउन रूचाउँछन् ।
नयाँ खलेका दल र स्वतन्त्र उम्ेमदवार बनेर जितेका जनप्रतिनिधिहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण आफू निर्वाचनमा होमिन आएको उनको दाबी छ ।
‘नयाँले राम्रो काम गरेनन् । अराजकतालाई स्कुलिङ बनाए । राम्रो काम गरेको भए म चुप नै लाग्ने थिएँ । राम्रो गरेनन् । परिपक्वता देखाएनन्,’ किरणको भनाइ छ, ‘नयाँहरू पार्टी भन्नुस् कि स्वतन्त्र जितेकाहरू भन्नुस्, जनताको चाहनाअनुसार कामै गरेनन् । रमाइलोमा रमाइरहे । संसद्लाई पर्सनल ग्रोथमा लगे ।’
किरणले नयाँ भनिनेहरूलाई बेलैमा सच्याउनु नै आफ्नो उम्मेदवारीको प्रमुख कारणका रूपमा चित्रण गरे । ‘अब पनि गलत हुन दिनुहुन्न भनेर मेरो उम्मेदवारी हो,’ उनले सुनाए, ‘नयाँहरूलाई बेलैमा सच्याउनका लागि नै मेरो उम्मेदवारीको प्रमुख कारण हो ।’
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो कार्यकालमा दुईपल्ट संसद् विघटन गरेर युवालाई भड्काएर नयाँ शक्तितर्फ आकर्षित गराएको किरण बताउँछन् । ‘ओलीले दुईपल्ट संसद् विघटन गर्नुभयो । युवालाई भड्काएर नयाँ शक्तितिर आकर्षित गराउनुभयो,’ उनले भने, ‘तर, नयाँ शक्तिहरू पनि युवाको चाहनाअनुसार चलेनन् ।’
आफूलाई स्वतन्त्रभन्दा पनि निर्दलीय उम्मेदवार भन्न रूचाउने किरणले उपनिर्वाचन हुने क्षेत्रका जनताले बदलाव चाहेको पनि दाबी गरे । ‘चुनाव हुने क्षेत्रमा घुम्दा के देखियो भने जनतामा बदलावको चाहना छ । दलप्रति वितृष्ण छ । रास्वपा पनि दल भएकैले उप्रति पनि वितृष्णा छ,’ उनले भने ।
किरणले उपनिर्वाचनमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले अघि सार्ने स्वतन्त्र उम्मेदवार र आफूबीच प्रतिष्पर्धा हुने पनि दाबी गरे । ‘नेपाली कांगे्रस, मेरो रास्वपा र रेशम चौधरीको प्रतिष्पर्धा हुन्छ,’ उनले भने, ‘एमाले चौथो–पाँचौं हुन्छ ।’
सञ्चारमाध्यममा चर्चाका लागि त उम्मेदवारी होइन भन्ने खबरहबको जिज्ञासामा किरणले सुनाए– चुनाव लड्ने हो । मेरो तयारी सुरू भइसकेको छ । कसैसँग कुनै सम्झौता हुन्न । यसपल्ट सफल नभए पनि केही छैन । ०८४ का लागि ‘करिअर’ बनाउन उपचुनाव लड्दै छु ।
किरणले भैरहवाको सहरीकरणका लागि गुरूयोजना बनाउने नीति निर्माणको प्रमुख मुद्दा लिएर जनतामाझ जाने योजना बनाएको पनि सुनाए । उनले ‘क्रिप्टो’लाई वैधता दिलाउने पनि आफ्नो चुनावी एजेन्डा रहने पनि बताए ।
किरणले भैरहवाको अन्तराष्ट्रिय विमानस्थल चलायमान बनाउने र किसानले भोग्दै आएको रासायनिक मलको अभावको स्थायी समाधान खोज्ने विषय पनि चुनावी एजेन्डा हुने बताए ।
प्रतिक्रिया