मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ बगैँचाबाट पोखरा—काठमान्डौँलगायत स्थानमा पुर्याइसकिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष यस्तो स्याउको उत्पादन करिब १० प्रतिशतले वृद्धि भएको अनुमान छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको प्रारम्भिक सर्वेक्षणमा स्याउ उत्पादनमा वृद्धि भएको देखिएको बताए ।
गत वर्ष मुस्ताङमा ६० हेक्टर ‘हाइब्रिड’ स्याउ बगैँचा क्षेत्र रहेकामा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको उनले जानकारी दिए । यसवर्ष गत वर्षभन्दा एक सय २५ मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।
यहाँ परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । यस वर्ष गत वर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङले बताए ।
गत वर्ष यहाँ आठ सय ३० हेक्टरमा स्थानीय लगाइएकोमा ६ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । ज्ञान केन्द्रले गत वर्षभन्दा ९२ मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको छ ।
थासाङ—१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताए । ‘गत वर्ष लटरम्म फलेको थियो, तर यस वर्ष बोटमा स्याउ नै थोरै फलेको छ’, उनले भने ।
केही क्षेत्रमा भने उत्पादनमा समस्या नआउने अनुमान रहेको छ । यहाँको घरपझोङ—५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका सञ्चालक कर्म गुरुङले बताए । बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानले समेत स्याउ उत्पादनमा फरक पर्ने उनको भनाइ छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बोटमा फूल फुल्दै गरेको बेला वर्षा भएकाले असर पुर्याएकाले उत्पादनमा कमी आउने देखिएको बताए । तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्नेबारे असोजपछि यकिन हुने उनको भनाइ छ ।
केन्द्रका अनुसार स्थानीय र ‘हाइब्रिड’ गरी गतवर्ष यहाँ ६ हजार १६ हेक्टर क्षेत्रफलमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमध्ये १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ बाहिर निकासी भएको थियो । स्याउ निकासीबाट ८२ करोड ६८ लाख कारोबार हुँदा नौ करोड १८ लाख ६७ हजार बाराबर जिल्लामै खपत भएको ज्ञान केन्द्रले जनाएको छ । (रासस)
प्रतिक्रिया