कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी | Khabarhub Khabarhub

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चार वटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरियाको गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका र वडा नं १ देखि १२ सम्मका कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा करोडौँको नोक्सानी पुर्‍याइएको छ ।

भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका गरी पाँचवटा पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

त्यसैगरी, निवर्तमानगृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा समेत आगजनी र तोडफोड भएको छ ।

व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाका प्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडीसहित १६ वटा सवारीसाधनमा पनि तोडफोड र आगजनी भएको छ । तीमध्ये शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलर छन् । प्रहरीका अनुसार जिल्लाभर भएका तोडफोड र आगजनीका घटनामा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्ति नोक्सानी भएको छ । 

कारागारबाट भागेकामध्ये एक सय २४ कैदीबन्दी फिर्ता

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ । 

कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : ५२ बजे

‘पोलिटिक्स’ बुझ्न नचाहेकाे पुस्ताको राजनीतिक प्रारम्भ

जेनजी अर्थात् नयाँ पुस्ता । सन् १९९० को दशकको अन्त्यतिर

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि

सनाले गर्यो १३५ नाल हतियारहरू बरामद, भागेका कैदीहरू मध्ये ४३ नियन्त्रण 

काठमाडौं– नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद

झलनाथ खनालको निवास पूर्ण रूपमा ध्वस्त (तस्बिरहरू)

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पूर्णरूपमा ध्वस्त  भएको छ

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका