काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न जेन–जेड आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेको छ ।
संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको बर्बर आक्रमण, आगजनी र तोडफोडप्रति गम्भीर दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वासघाती तवरले जबर्जस्ती हस्तक्षेप गरी जनधनको क्षति पुर्याउनुका साथै व्यवसायिक एवं निजी सम्पत्ति समेतमा आगजनी गरी खरानी बनाइएको घटना निन्दनीय तथा अमानवीय छ ।”
हामी नेपालका अनुसार, देशमा ठूला संकट वा प्राकृतिक प्रकोप आउँदा सहयोगका लागि निरन्तर खटिँदै आएको संस्थाले यसपटक पनि जेन–जेड आन्दोलनताका सरकार र युवाबीच समन्वयकारी भूमिका निर्वाह गरेको थियो ।
संस्थाले आफू कुनै पनि राजनीतिक दल वा संगठनसँग संलग्न नभएको प्रष्ट पार्दै भविष्यमा पनि विपत्ति, क्षति र चुनौतीका घडीमा रोकथाम, पुनःस्थापना र विकासका कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ । संयोजकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “मानव सेवाको यात्रामा हामी कुनै अवरोधबाट प्रभावित नहुनेछौं र अझ दृढतापूर्वक अघि बढ्ने बाचा गर्दछौं ।”

प्रतिक्रिया