बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’ | Khabarhub Khabarhub

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्’, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेलले भने ।

उनलाई अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई/चार घरमा मात्रै मान्छे भेटिन्छन् ।

यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउँछन् । ‘गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पुर्‍याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि त्रास हुने गरेको छ’, उनी भन्छन् ।

स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताए । एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःख सुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उनको भनाइ छ ।

यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ । ‘गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार सहर बजारमा घर बनाएर सारे । धनीमानी सबै सहर बजार र विदेशमा गए । त्यसैले जता हेर्‍याे  त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ’, उनले भने ।

काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् । काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौं र चितवन बसाइँ सरेका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको बताए । पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइँसराइ रोक्न नसकिएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ९ : ०५ बजे

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार

युनिटी कप ट्वान्टी–२० खेल्न युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं– वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको