सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका लहान–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार घरमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेका छन् ।
नगरप्रमुख चौधरीले लहान नगरपालिकाको तर्फबाट तत्काल राहतस्वरूप एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच लिटर तेल र पाँच किलो नुन हस्तान्तरण गरेका हुन् । यसअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले सहिद विजयको परिवारलाई एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराउने घोषणा गरेका थिए ।
साथै, सहिद चौधरीकी चार वर्षीया छोरीको कक्षा १२ सम्मको शिक्षाको पूर्ण व्यवस्था गर्ने र श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै लहान–१५ मै सहिद विजयको स्मृतिमा सहिद पार्क बनाउन पहल गरिने पनि उनले जानकारी दिए । सो अवसरमा, पीडितपरिवारप्रति सहानुभूति प्रकट गर्दै सामाजिक संस्था ‘होप फाउन्डेसन’ की अभियन्ता पार्वती सुब्बाले पनि पीडित परिवारलाई घरमै पुगेर १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेकी छन् ।
गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि २७ वर्षीय विजय चौधरीको निधन भएको थियो । नौ दिनपछि यही मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको थियो । उनका आमाबुबा, एक दाजु र एक दिदी छन् ।
यसअघि सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गरिसकेको छ । साथै मृतकका परिवारलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । रासस
प्रतिक्रिया