मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो) | Khabarhub Khabarhub

मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)



काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपर स्टोरमा भएको छ ।

साना किसान र व्यवसायीलाई समेत गोलबन्द गरेर चलाइएको भाटभटेनी सुपर मार्केटका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ । अन्य चारवटा शाखामा व्यापक तोडफोड भएको छ।

यी तोडफोड र आगजनीको विध्वंशबाट मीनबहादुरले कम्तीमा पनि १५ अर्ब रुपैयाँको क्षति व्यहोर्नुपरेको हिसाब आइरहेको छ ।

तर, मीनबहादुरले हार मानेका छैनन् । निजी क्षेत्रमा सबैभन्दा ठूलो चोट बोकेका उनले क्षतिग्रस्त संरचना चार महिनाभित्र खडा गर्ने संकल्प लिएका छन् ।

आइतबार व्यवसायीहरूसँग नक्सालस्थित आगजनीबाट ध्वस्त पारिएको भाटभटेनीको भवन अवलोकनमा पुगेका त्यहाँ कार्यरत हजारौँ कर्मचारीका लागि पनि आफू थाक्न नहुने प्रण गरे ।

‘हाम्रोमा काम गर्ने हजारौँ कर्मचारीका पछाडि उनीहरुको परिवार छ, यसरी लाखौँको जीवन भाटभटेनीसँग जोडिएको छ,’ उनले भने, ‘म मेरा लागि भन्दा उनीहरूकै लागि गल्न मिल्दैन, बैंकहरूले मलाई विश्वास गरेर ऋण दिइरहनु भएको छ । सहयोग गर्नु भएको छ, अबको मेरो दायित्व कर्मचारी, सहयोगी र बैंकमाथि छ, म अबको चार महिनामा फेरि उठ्छु ।’

निजी व्यवसायिक प्रतिष्ठानमाथि गरिएको यस किसिमको आक्रमणबाट देश अधोगतिमा लाग्ने जोखिम पनि उनले सुनाए ।

‘हामी दुईवटा विश्वयुद्धमा जुधेर आएका गोर्खाली हौँ, अब फेरि यसरी लडेर पनि नेपाल उठ्न सक्छ, उठेको छ भन्ने सन्देश दिनुपर्ने छ, म त्यसका लागि सबथोक गर्छु’, भावुक देखिएका उनले भने ।

कर्मचारीकै सहयोग र मिहिनेतले भाटभटेनी स्थापित भएको बताउँदै उनले जलाइएका सबै शाखा सुचारू गरेका दिन उनीहरूसँगै खुसी साट्ने प्रतिवद्धता व्यक्त गरे ।

करिब १५ अर्ब क्षति अनुमान गरिएको अवस्थामा मीनबहादुर आफैँले भने प्रारम्भिक चरणमा १० अर्ब ८५ करोड रुपैँया बराबरको क्षति आँकलन गरिएको बताए ।

जेन–जीको आन्दोलनले उथलपुथल भएको देशको वर्तमान परिस्थतिमा जीउधनको सुरक्षाका लागि सरकारले आश्वासन दिएको उनले बताए ।

‘प्रधानमन्त्री सुशाीला कार्कीसहित गृह, अर्थ र भौतिक मन्त्रीसँग भर्खरै भेटेर आएको हुँ, उहाँहरूले सुरक्षा दिने वचन दिनु भएको छ । नेपालमा सुरक्षा छ, सुरक्षाको प्रत्याभूति मिल्छ भन्ने ढुक्कसाथ कम गर्नुछ’, उनले भने ।

भेट्न आएका अन्य व्यवसायीलाई पनि साक्षी राख्दै उनी थप्छन्, ‘नेपालका केही उदण्ड व्यक्तिहरूले यो क्षति पुर्‍याए, तपाईंहरू जस्तै यूवापुस्ताले इमान्दारीसाथ श्रम गर्ने हो भने यो देश अबको १५ वर्षमा संसारकै सुन्दर हुन्छ ।’

जेन–जीका नाममा आगजनी गरिएको भोलिपल्टबाटै पुनःनिर्माणको काम थालिएको पनि उनले सुनाए ।

‘आंशिक क्षति पुगेका स्टोर भदौ २५ बाटै सञ्चालनमा लाग्यौँ, हाम्रा भाइबहिनीलाई ढुक्क र सुरक्षाको अनुभुति गराउनु पर्‍यो नि’, उनले भने, ‘यसमा इन्जिनियर, विज्ञ लागिरहनु भएको छ । कोटेश्वर, महाराजगञ्ज र नक्सालमा पनि तीव्र गतिमा काम गरिरहनु भएको छ । अबको बढीमा चार महिनाभित्रै सञ्चालनमा ल्याउँछौँ ।’

नागरिक समानले देखाएको सहानुभूतिले नै आफू उभिन सकेको उनले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ०२ बजे

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

गण्डकी – ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा