काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै चारवटा सल्लाहकार समिति बनाएका छन् ।
राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित मन्त्रालयमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरिएको मन्त्री पुनले बताए ।
उनले समिति बनाएर निष्क्रिय हुने अवस्थाको अन्त्य गर्दै समितिलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण निर्माण गरिने धारणा राखे।
मन्त्री पुनले शिक्षा ऐनका बारेमा विज्ञहरूसँग छलफल र परामर्श गर्ने जानकारी दिए। विभिन्न क्षेत्रमा देखिएका कुशासन, भ्रष्टाचार अन्त्य गर्न पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै पुनले मन्त्री क्वाटरमा भन्दा पनि मन्त्रालयमा नै बस्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिए ।
मन्त्री भएपछि आफूले आविष्किार केन्द्रबाट राजीनामा दिएको उनले बताए । मन्त्री पुनले ६ महिनामा धेरै नसके पनि प्रभावकारी काम गर्ने बताए ।
प्रतिक्रिया