मन्त्री घिसिङद्वारा बिस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन | Khabarhub Khabarhub

मन्त्री घिसिङद्वारा बिस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत दुई सडकखण्डको आज अवलोकन गरेका छन् ।

बिस्तारित दुई खण्ड सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–खावा सडकखण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उनले निर्देशन दिएका हुन् ।

मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिएका थिए ।

“सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । हामी सोहीअनुसार तयारी गर्दैछौँ”, मन्त्री घिसिङको भनाइ उद्धृृत गर्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।

उनका अनुसार बिस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको छ । घिसिङले चालु आर्थिक वर्षभित्र सडक बिस्तारकार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रलायले पहल गर्ने बताएका थिए ।

यसैबीच वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्र्तगत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम भदौदेखि पुनः सुरु गरिएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि ‘सिटिबी’को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो ।

जनागालबाट भैँसेपाटीहुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । यसअघि असार र साउन महिनामा मनसुनका कारण बिस्तारकार्य रोकिएको उनले बताए ।

बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि बिस्तारकार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गरिरहेका छन् । अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन ।

हाल बनेपाको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माणकार्य भइरहेको छ । पुलबजारबाहेक सूर्यविनायकदेखि धुलिखेलसम्मका अन्य स्थानमा भने छोटो खण्ड–खण्डमा काम भइरहेको खनालले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा पर्खाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमै सडक कालोपत्रका लागि तयारी भइरहेको छ । धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युत्को हाइटेन्सन लाइनका पोल सार्न बाँकी रहेको जनाइएको छ ।

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई बिस्तारको काम भइरहेको छ ।

हाल दुई खण्डमध्ये सूर्यबिनायक–साँगा खण्डको ३७ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिए । साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने उनले बताए ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि चार लेनमा सडक बिस्तार थालिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ४६ बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा