नेताहरूको अनुहारमा मुसोलिनीको छाप | Khabarhub Khabarhub

नेताहरूको अनुहारमा मुसोलिनीको छाप



एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख । केही पाएनौ भने सुसाइड नोट भएपनि लेख ।’ भनिन्छ, लेख्न कठिन छैन । आफ्ना अगाडि रित्तो पन्ना फल्याउ र हृदयलाई तप्किन देऊ, आफैं लेखिन्छ ।

राम्रो अनुष्ठान गर्नेका लागि हरेक समय शुभसाइत हो । २४ घण्टाको यही समयले कसैलाई बिल गेट्स बनाएको छ त कसैलाई विन लादेन । देशमा तेलै तेलको खानी भएर के गर्नु ? हातमुख जोर्न नपाएका सुडानी दुई देशमा विभाजित भएर भूगोल हैन, भोक बाँडेका छन् । यही २४ घण्टाभित्रै विन लादेन बिदा भएका छन् ।

स्वतन्त्रता सेनानी नेल्सन मण्डेलाको जीवन विश्वकै लागि अपुग भयो । उत्तरार्द्धमा रहँदा उनको दीर्घजीवनको कामना गर्दै विश्वभरका मान्छेहरु मन्दिर, चर्च र मस्जिद पुगेका थिए । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको विदाइमा तीनपुस्ता सडकमा आएर कोकोहोलो गर्दै आँसुधारा बगाएको थियो ।

भौतिक उपलब्धताको दृष्टिले दलाई लामासँग के छैन ? तर देश नहुँदाको पीडा कस्तो हुन्छ ? देश धेर भएका हाम्रा नेताहरुले उनको मनोविज्ञान पढे घाँटी घाँटीसम्म थाहा हुन्छ । मानिस समस्याका कारण आतिन्छन्, रुन्छन, कराउँछन्, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । रामराज्यमा त थियो भने कलिमा नहुने कुरै भएन ।

भौतिक उपलब्धताको दृष्टिले दलाई लामासँग के छैन ? तर देश नहुँदाको पीडा कस्तो हुन्छ ? देश धेर भएका हाम्रा नेताहरुले उनको मनोविज्ञान पढे घाँटी घाँटीसम्म थाहा हुन्छ ।

तपाईं कल्पना गर्नुस् त यदि समस्या नहुँदो हो त मानिस चौबीस घण्टा कसरी बिताउँथ्यो होला ? यही समस्याकै निदान खोज्न गरेको प्रयासले नै उसले आफैंले पत्याउन नसक्ने गरी आविष्कार गर्‍यो । होइन भने भीमफेदीबाट नोलमा गाडी बोकेर ल्याएको दृश्य इतिहास हैन वर्तमान हुने थियो ।

हाम्रो समाजमा एकथरि मान्छे छन्, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक । अर्काथरि मान्छे जो यति अतिवादी छन् कि समाधानभित्र पनि समस्या खोजीदिन्छन् । तेस्रोथरिको त रोगै विचित्रको छ, उनीहरु संसारका भएजति सबै दुख बटुल्छन् अनि खोज्छन्- सुख ।

आन्दोलनको आवरणमा पसेर अराजक गतिविधि गर्नेले देशभर बग्रेल्ती हतियार छरेका छन् । ती अनियन्त्रित काँटी थान्को लगाउने तर्फ कसैको चासो छैन । जेनजी आन्दोलनका नाममा लुटको बैधता प्राप्त ती हतियार अपराध कर्ममा प्रयोग भए भने के हुन्छ ? हतियार खोसिएको पुलिस मेलामा हराएको बालक जस्तो सास न बासको भएको छ । यी दृश्यसँग परिचित सेना पानीमाथिको ओभानो भएर बसेको छ ।

एक समय थियो- इटलीको मिलान शहरमा बेनिटी मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा पनि लाखौंको भीड जुट्थ्यो। मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मुसोलिनीको स्वागतमा लाखौं लाख युवा ड्यूचे, ड्यूचे नारा लगाउँथे ।

मुसोलिनी त्यहाँका जनताका लागि अगुवा मात्र नभएर ‘ईश्वर’ पनि थिए । तर पाँच वर्षपछि तिनै युवाले मुसोलिनी र उनकी प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर लाखौं लाखले थुके । भ्रमको आयु कसरी समाप्त हुन्छ ? जेन जी आन्दोलनमा नेताको हविगतले मुसोलिनीको नियति सम्झाएको छ ।

एक समय थियो- इटलीको मिलान शहरमा बेनिटी मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा पनि लाखौंको भीड जुट्थ्यो। मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मुसोलिनीको स्वागतमा लाखौं लाख युवा ड्यूचे, ड्यूचे नारा लगाउँथे ।

जन्मिएको धर्तीप्रति आत्मगौरव गर्नेहरुले मात्र माटोको सुगन्ध आत्मसात गर्न सक्छन् । ज्ञान र सत्यबाट हिँडेको मानिसले झारपातबाट मह उत्पादन गर्नसक्छ । अरुलाई दुःख दिनेले कहिल्यै सुख पाउँदैन । देश बनाउने जिम्मेवारी पाएका हाम्रो देशका अधिकांश शिल्पी पढेलेखेका छन् । कुन नेता छन्, विदेश नगएका हुन् । कुन जंगी, निजामतीका अधिकारी छन्, विदेशमा पढेका छैनन् ।

लिक्वानको देश बनाउने भिजन, देङ सियाओ पिङको आर्थिक क्रान्ति, मोहमद महाथिरको संकल्प सबै नेतालाई कण्ठ छ । एशियाको मोती भनिने श्रीलंकाबाट प्रभावित भएर आफ्नो देशलाई पनि त्यस्तै बनाउने संकल्प गरेका लिक्वानले सिंगापुरलाई स्वर्ग बनाए, तर प्रेरणा लिएको भूमि श्रीलंका भने खरानी भएर बल्ल थिग्रिने कोशिसमा छ ।

पाँच दशक अघिसम्म नेपालले अन्न पठाउने गरेका कोरिया, थाइल्याण्ड, भियतनामजस्ता मुलुक जहाँका जनताको प्रतिव्यक्ति आय २४ हजार डलरसम्म पुगिसक्यो । हामी तीन सयको लाजमर्दो दौडमा छौं । जनतालाई बाँच्न हैन, माग्न सिकाउने कुपात्रहरु राजनीतिको चुलो चौकोमा हावी हुँदै जाँदा कालो बादल झन्झन् मडारिँदो छ ।

राजा छँदा दोषको भुतभुते उनलाई खन्याएर आफू पानीमाथिको ओभानो हुन खोज्ने नेताहरु देशमा बढेको बेथिति स्वीकार्न तयार छन्, तर जिम्मेवारी लिन किमार्थ तयार छैनन् । राजनीतिमा नैतिकताको ‘न’ पनि बाँकी छैन् । रंगशालामा चलेको हावाहुरीका कारण भएको भागदौडमा मान्छे मारिँदा नैतिकताको आधारमा पदबाट राजीनामा दिने केशरबहादुर विष्टको त्यो साखमा चार दशकयता कुनै राजनीतिका माइकलालले नैतिकताको एउटा उल्लेख्य इँटा थप्न सकेका छैनन् ।

नैतिकता भनेको स्वधर्मको नाम हो । आत्माको पुकार हो । कुतर्क गर्ने हो भने रंगशालाको ढोका मन्त्रीले खोल्ने होइन, के को राजीनामा ? कसैले खुकुरीले ठुन्क्यायो भने दोष मानिसलाई किन ? हातले त काट्दैन । काट्ने त खुकुरी हो । आखिर तर्क सकिएपछि बाँकी रहने भनेको कुतर्क नै हो । अहिले देखिने नाटक यस्तै विवेकशून्यताको परिणाम हो ।

हामीले सुन्दै आएको टेबुलमुनिको घुसखोरी त दन्त्यकथा जस्तो भइसक्यो । भ्रष्टाचार त अब नीतिगत र संगठित रुपमा स्वाभाविक प्रक्रियाजस्तै भएको छ ।

हामीले सुन्दै आएको टेबुलमुनिको घुसखोरी त दन्त्यकथा जस्तो भइसक्यो । भ्रष्टाचार त अब नीतिगत र संगठित रुपमा स्वाभाविक प्रक्रियाजस्तै भएको छ । भ्रष्टाचारी र सदाचारी खुट्याउनु भनेको सर्वतबाट चिनी निकाल्नुजस्तै कठिन बन्दै गएको छ । दल र तिनीहरुले लाइसेन्स दिएका दलालबाट राज्यका हरेक निकाय प्रताडित छन् । कौटिल्यको अर्थशास्त्रले भनेको छ- ‘जसरी माछाले पानी खाएको देखिदैन, त्यसरी नै सरकारी कर्मचारीले घुस खाएको देखिदैन ।’

पञ्चले गर्ने गरेको लाखको भ्रष्टाचार नयाँ नेपालमा अरबको कोटीमा पुगेको छ । घुस माग्नुपर्छ हैन, दिनुपर्छ को क्रान्तिकारी शैलीमा विकास भएको छ । स्थानीय निकायमा विकासका लागि गएको झण्डै २० अर्ब रुपैयाँ दलीय संयन्त्रका नाममा बाँडचुँडमै सकिने गरेको छ । जनताको हाड, पसिनाको कमाइ सदुपयोग गर्नुपर्छ भनेर कुनै राजनीतिक दलले चुँ सम्म पनि गरेको सुनिदैन ।

यी सबै दृश्यले भन्छ- नीतिको राजा राजनीति, उद्योग भएको छ । राजनीतिक दल प्राइभेट लिमिटेड । सत्ताभित्रका दल लुट्न मस्त छन् । प्रतिपक्षी दल सत्ताको आगोमा स्वार्थको रोटी सेकाउन नपाउँदा अंगुर अमिलो शैलीको अभिनय गरेर बसेका छन् । देशको राजनीतिमा कम्युनिस्टवाद हावी छ । थोरै नाटक, धेरै वास्तविकता विश्वका कम्युनिष्ट नेताको विशेषता भए पनि नेपालको परिवेश उल्टो छ ।

जनताको हातमा रोटी नपुगेसम्म कसैलाई केक काट्ने अधिकार नभएको बताउने लेनिनका चेलाचपाटीहरु स्टीलको गिलासमा वाइन बोकेर पानी खाएको अभिनयमा मस्त छन् । पंक्तिकारले किन भन्नु पर्‍यो र, माओत्सेतुङको भनाइ नै काफी छ नि- ‘जो देश र जनताका लागि मर्छ, उसको मृत्यु पहाडजस्तै गर्‍हौ हुन्छ । आफनो निम्ति मात्र मर्नेको मृत्यु प्वा“ख जत्तिक्कै हलुका हुन्छ ।’ उनैका चेलालाई एउटा प्रश्न- ‘तपाईंहरु चाहिँ कस्तो मृत्यु रोज्ने, कमरेडहरु ?’

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ०८ बजे

ह्वाइट हाउसद्वारा मदुरोको वार्ता प्रस्ताव अस्वीकार

एजेन्सी– ह्वाइट हाउसले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरेर मनाइयो

काठमाडौं– आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन मंगलबार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

राजविराज– यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई

सुपर टाइफुन रागासा नजिकिँदा चीनका १० सहरमा विद्यालय-व्यवसाय बन्द

एजेन्सी– सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मंगलबार कम्तीमा

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन