काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारी गरेको छ ।
न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठानमा सुशासन कामय गराउने उद्देश्यले आज शिक्षक, चिकित्सक र स्वास्थ्यकर्मीसहित कर्मचारीका लागि १२ बुँदे आचारसंहिता जारी गरिएको जानकारी दिए ।
उनले सेवाग्राहीबाट व्यवस्थापनसमक्ष विगतमा विभिन्न गुनासो आएका बताउँदै सोबारे परिपत्र गरिएकामा अपेक्षित सुधार नभएपछि सेवा सुधारका लागि कर्मचारी आचारसंहिता जारी गरिएको उल्लेख गरे।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी तथा कर्मचारीले बिरामीसँग शिष्ट एवं मर्यादित व्यवहार गर्ने, कार्यालयको निर्धारित समयमा आफ्नो कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने, कार्यालय समयभित्र खाजा÷खाना खानुपरेमा आलोपालो मिलाएर निर्धारित समयमा व्यवस्थापन गर्नुपर्नेलगायत आचारसंहिता रहेका प्रतिष्ठानले जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यालय समयमा अस्पताल बाहिर गएर निजी अस्पताल÷क्लिनिकमा बिरामी हेर्न नपाउने, अस्पताल बाहिर औषधि पसल÷ल्याब वा इमेजिङ सेन्टरलगायत खोल्न नपाउने, अस्पतालमा हुने परीक्षणहरू अस्पतालमा नै गर्ने÷गराउने व्यवस्था मिलाउने, बिरामीलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर नगर्नेलगायत विषय आचारसंहितामा उल्लेख गरिएको छ ।
त्यस्तै बहिरङ्ग विभाग (ओपिडी)मा बिरामी नसकी ओपिडी छोडेर बाहिर नजाने, बिरामीलाई विशेष वा कुनै खास कम्पनीको औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य नपार्ने र अस्पताल फार्मेसीबाट औषधि उपलब्ध गराउने आचारसंहितामा उल्लेख गरिएको छ । न्याम्सअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पर्दछन् ।
प्रतिक्रिया