काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरू हुँदै गर्दा केही नेताले विरोध जनाएका छन् ।
प्रज्ञा भवन कमलादीमा सुरू भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् ।
त्यसअघि बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीबारे महासचिव देव गुरुङले जानकारी गराएपछि केही नेताहरूले आपत्ति जनाएका छन् ।
माओवादी केन्द्रीय सदस्य नेता रञ्जित तामाङ र सुदन किरातीसहितले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने मागसहित महासचिव गुरूङको प्रस्तावमा आपत्ति प्रकट गरे ।
तर प्रचण्डले सामूहिक रुपमा कुरा सुन्ने रणनीति बनाएका छन् । विरोध हुन सक्ने अवस्था बुझेपछि उनले समूहका नेता र पदाधिकारीहरूको मात्रै कुरा सुन्ने योजनासहित प्रचण्डले महासचिव गुरुङमार्फत् प्रस्ताव राख्दा विरोधको स्वर उठेको हो ।
प्रतिक्रिया