काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निःशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको उनले बताए ।

पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीन वटा र मुग्लिङतर्फबाट दुई वटा मेशिन परिचालन गरिएको रिजालले जानकारी दिए । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द छ ।
प्रतिक्रिया