काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
मन्त्रालयमा शुक्रबार भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरे ।
त्यसैगरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने एनआरएनएको माग थियो ।
एनआरएनएले जेन-जी प्रदर्शनपश्चात् गठित अन्तरिम सरकार सफल हुनेमा गैरआवासीय नेपालीहरू विश्वस्त रहेको उल्लेख गर्दै, मुलुकको समृद्धिका लागि सहकार्य गर्न आफूहरू सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेटमा एनआरएनएका सल्लाहकार टिबी कार्की, पूर्व आइसिसी सदस्य सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पूर्व अध्यक्ष दीपक ओली, कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया