राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा   | Khabarhub Khabarhub

राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा  


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई  आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

बडादशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानून भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन् ।

सन्देशमा भनिएको छ– ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहित बन्धुत्व भावले यी विविधताबीच पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादशैँले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।’

उनले गत भदौ २३ र २४ गते  ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद क्षणमा वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर-डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खर्बौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन् ।

संविधान मुलुकको सर्वोच्च कानून भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकाङ्क्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताए ।

सन्देशमा भनिएको छ– ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।’

उनले दशैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : २९ बजे

गाजा सम्झौता कायम राख्न ट्रम्पलाई इजरायली बन्धक परिवारहरूको आग्रह

एजेन्सी– गाजामा युद्ध अन्त्य गर्न तयार गरिएको प्रस्तावित सम्झौतालाई दृढतापूर्वक

धनकुटामा फूलपाती बढाइँ

धनकुटा– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्‍तमीका दिनमा मनाइने

तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो

दमौली– बडादसैँको सातौँ दिन आज तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका

राजमार्ग अवरोध : खसीबोकाको किनबेच यथावत

काठमाडौं– लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बीपी राजगमार्गसहित

गाजा शान्ति योजनामा प्रधानमन्त्री नेतान्याहूलाई दबाब दिने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री