च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म | Khabarhub Khabarhub

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले छपक्कै भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दशैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३०० च्याङ्ग्रा लिएर आएका थिए ।

दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १०० सस्तो मूल्यमा दिने विचारमा रोकाया थिए । मङ्गलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने योजनामा उनी थिए । तर बिक्री नहुँदा उहाँ निराश भए । रोकायाले दशैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उनी १५ वर्षदेखि यही पेसा गर्दै आएका छन् । तर बागलुङमा भने उनको पहिलो यात्रा हो ।

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकायाले पहिले दाङतिर जाने गरेको बताए । यसपाली पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ ।

बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनी बताउँछन् । बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भइसकेको रोकायाले सुनाए ।

‘दशैँको बेला सहर बजारमा बस्ने मान्छेहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्‍यो, अरु के गर्ने ?’, उनले भने, ‘डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?’

उनका साथमा साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि थिए । दुई जनाले साझेदारीमा डेढ–डेढ सय च्याङ्ग्रा लिएर आएका हुन् । दशैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए । डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उनले सुनाए । अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उनको भनाइ छ ।

यसवर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि ४५ हजार रुपैयाँ रहेको खत्रीले बताए । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४० हजारमा दिने गरेको उनको भनाइ छ । यो मूल्य अघिल्लो वर्षकोभन्दा चार हजारले कम भएको खत्रीले बताए ।

दशैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौं, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउने गर्दछन् ।

मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालागायत ठाउँबाट दशैँका बेला बागलुङमा भेडाच्याङ्ग्रा लिएर सयौँ व्यापारीहरु आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन् । (रासस)

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ५८ बजे

‘शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति,

ट्रम्प–नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग

समुन्नत राष्ट्र निर्माणमा सघाउन माधव नेपालको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

महोत्तरीको सोनामाई मन्दिरमा भूत मेलाको रौनक

जलेश्वर– भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिरमा अहिले भूत

सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको