काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भूभाग र मधेसलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराइ, कर्णाली प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यसैगरी, आज राती पनि देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ।
आज (शुक्रबार) देखि असोज २० गतेसम्म अत्यन्त जरुरी नभए लामो यात्रा नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यो अवधिमा पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि अनुरोध गरेको हो ।
बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन प्राधिकरणले सबैसँग अनुरोध गरेको छ ।
यस्तै, बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बग्ने ससाना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ। यसैले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।
प्रतिक्रिया