जेन-जी आन्दोलनका अगुवाको दुख- के सोचेँ मैले, के भयो अहिले… « Khabarhub

जेन-जी आन्दोलनका अगुवाको दुख- के सोचेँ मैले, के भयो अहिले…

लहडको भिडियोले पुरुषोत्तममा ल्याएको विद्रोह चेत 



जेन-जी आन्दोलनका अभियन्ता पुरुषोत्तम यादवलाई जेन-जी आन्दोलन घोषणा पूर्व भ्याई नभ्याई थियो । जबाफदेहिताविहीन राजनीतिक नेतृत्वले आफूलगायत तीन पुस्ताको भाग्य भविष्य स्वाहा पार्ने अवस्था देखेपछि उनको समूहले विद्रोह गर्ने निधो गर्‍यो । 

यसका लागि उनी समाजले ‘क्लिन’ मानेकाहरूको घरदैलोमा गएर समर्थन मागे । आफूले सामाजिक सञ्जालमा हालेका देश शुद्धीकरणका एजेन्डाप्रति मानिसहरूको ओइरो समर्थन पाएपछि पुरुषोत्तमलाई लाग्यो– फलाम तातेका बेला यति बेलै हान्नुपर्छ । 

भदौ २३ गते भद्र अवज्ञा आन्दोलनको मिति तय भयो । माइतीघरमण्डलामा हुने कार्यक्रमका लागि अनुमति लिन पत्र लिएर सीडीओसँग कुरा गर्न उनै गए ।

सीडीओले सोधे– ‘सहभागी कति हुन्छन् ?’ पुरुषोत्तमको उत्तर थियो– ‘अधिकतम ५ सय जति’ । सीडीओले उनैको जबाफदेहितामा प्रदर्शनको अनुमति दिए । आन्दोलनमा मान्छेको अनियन्त्रित गतिविधिले हिंसा र सर्वनाशको अनपेक्षित रोजेपछिको दोष आफूहरूमाथि लागेको अवस्थाले उनीहरूलाई दुखी बनाएको छ । 

पुरुषोत्तम भन्छन्– ‘हामी बहुलवादमा विश्वास गर्छौँ । दलका असल मानिसहरू चुनाव जितेर आउन भन्ने हाम्रो कामना छ । सुशासन र नातावाद विरुद्ध जेन-जी विद्रोह हो ।’ खबरहबसँग उनले भने– ‘जेन-जीहरु नै यसरी विभाजित होलान् । हाम्रा एजेन्डा खोसिएलान् भन्ने सोचिएको थिएन । 

जेन–जी आन्दोलनको अवधारणा कसरी आयो ? 

स्वीस बैंकमा पैसा जम्मा गर्ने दक्षिण एसियामै नेपाल तेस्रो नम्बरमा पर्छ । भारत पहिलो नम्बरमा छ । हामी गरिब देश नागरिकको पैसा स्वीस बैंकमा कसरी पुग्छ ? त्यो कुराले मलाई घोच्यो । मैले सन् २०२२/२३ देखि भ्रष्टाचार विरुद्ध बोल्दै आइरहेको छु । रमेश खरेललाई भेटेर भ्रष्टाचार विरुद्ध नन पोलिटिकल मोमेन्टको फेस बन्न आग्रह गरेँ । 

अहिलेका शिक्षामन्त्री महावीर पुनलाई पनि आग्रह गरेँ । उहाँले किताब बेच्ने मान्छे मोमेन्टमा लाग्दिन भन्नुभयो । इण्डोनेसियाले अल्गोरिदम फालिरहेको थियो ‘नेपो बेबी किड’ भनेर । यो शब्द न्युयोर्क टाइम्सले २०२१ मा प्रयोग गरेको थियो । त्यहाँबाट प्रचलनमा आएको हो । त्यही शब्द लहडमा पहिलोपटक मैले भिडियो बनाएर हाल्दिएँ । 

बेलुका पोस्ट गरेर सुतेको भिडियो बिहान उठ्दा पाँच लाखले हेरिसकेका थिए । त्यसपछि क्रमश ः अन्य भिडियो पनि पोस्ट गर्न थालेँ । छोटो अवधिमै यसले अभियानको स्वरूप धारण गर्‍यो । युवाहरू जोडिन थाले । इन्फ्युन्सरहरु पनि बोल्न थाले । 

अर्को फेरि यही समयमा सामाजिक सञ्जाल बन्द हुँदा नागरिक आक्रोशमा आए । त्यो आक्रोशले पनि अभियानलाई सहयोग गर्‍यो । सेप्टेम्बर ८ मा प्रदर्शन गर्ने भनेर सिडिओ कार्यालयमा गएर मैले अनुमति लिएँ ।

२३ गतेको आन्दोलनमा पूर्वनिर्धारित के–के कार्यक्रम थियो ? 

हामीलाई सिडिओ कार्यालयले सोधेको थियो– कति जना मान्छे सडकमा आउँछन् ? हाम्रो अनुमान अनुसार चारदेखि पाँच सयको हाराहारीमा आउँछन् भन्ने थियो । भ्रष्टाचार विरुद्ध माइतीघरमा विरोध गर्ने कार्यक्रम थियो । सिडिओ कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरको एभरेष्ट होटलसम्म अनुमति दिएको थियो । 

हामी त्यहि तालिकाअनुसार गइरहेका थियौँ । तर माइतीघरमा हामीले सोचेभन्दा धेरै मान्छेहरू आइपुगे । करिब ३ घण्टा माइतीघर मण्डलामा बसेर र्‍याली बानेश्वरतिर लाग्यो । तपाईँ पनि त्यहाँ रिपोर्टिङमा हुनुहुन्थ्यो । ओली सरकारविरुद्ध हामीले नारा लगाएका थिएनौँ । कुनै व्यक्ति विशेषको आन्दोलन थिएन । हामीसँग कुनै पोस्टर पनि थिएन । 

सामान्य रुपमा जेन–जीहरु सहभागी भएका थिए । दुरुपयोग हुन्छ भन्ने ठानेर माइक कसैलाई पनि दिएको थिइन । आन्दोलनमा घुसपेठ हुन्छ कि, स्वार्थ समूहले नियन्त्रणमा लिन्छ कि भनेर सचेत भइरहेका थियौँ । यो आन्दोलन कुनै पनि व्यक्ति विरुद्धको थिएन । मात्रै सुशासनको माग थियो । अर्को राजनीतिक नियुक्तिको विरुद्धमा थियो ।

शान्तिपूर्ण तथा रचनात्मक आन्दोलन अचानक कसरी हिंसात्मक बन्यो ?

 एभरेष्ट होटल नजिक पुगेर सबै जना त्यहाँ रोकियौँ । स्वदेशगान लगाएर युवाहरू ऊर्जाशील भइरहेका थिए । नयाँ बानेश्वर अगाडीबाट अर्को स्वार्थ समूहको भीड सामेल भयो । र त्यो भीड अनियन्त्रित हुँदै गयो । सिभिल अस्पतालतिरबाट आउनेहरू वास्तविक जेन–जी होइनन् । त्यताबाट आउनेहरूले अराजकता फैलाए । 

अर्को प्रहरीको ब्यारिकेट चार पाँच लेयरको हुनुपर्ने थियो । प्रहरी तथा सरकारको तदारुकता नै थिएन । माइतीघरमा जम्मा भएको भीड देखेर प्रहरीले सतर्कता बढाउनुपर्ने थियो । संसद् भवन सुरक्षाको लागि तैनाथ प्रहरी खटाउनुपर्ने थियो । त्यो भीड एक लेयरको ब्यारिकेट हटाएर अगाडी बढ्यो । 

दोस्रो दिन अर्थात् २४ गतेको विध्वंस र विनाशसँग जेन–जी आन्दोलनको सम्बन्ध कति छ ? 

कत्ति पनि छैन । हामी शान्तिपूर्ण आन्दोलनको पक्षधर हो । संविधान र कानून मान्ने पक्ष हो । सार्वजनिक सम्पत्ति विनाश गर्ने भन्ने हामीले कल्पना मात्रै पनि गरेका थिएनौ । यो विध्वंसको सबै जिम्मा सरकारले लिने हो । कसरी विध्वंस हुन दिनुभयो ? उहाँहरूले जवाफ दिने कुरा हो । 

विध्वंस मच्चाउने उद्देश्य थियो भने हामी किन सिडिओ कार्यालयमा अनुमति लिन जान्थ्यौँ ? सत्ता परिवर्तन नभएको भए यति बेला म राज्यद्रोहको मुद्दामा जेलमा हुन्थें । तर हामी राज्यद्रोह गर्ने उद्देश्यले आन्दोलन गरेकै थिएनौँ । 

नेताहरूको पैसा जापानमा छ । हुण्डीबाट दुबई पठाएका छन् । अष्ट्रेलियामा बिल्डिङ किनेका छन् । अष्ट्रेलियामा नेपालीहरूले कन्स्ट्रक्सनमा लगानी गरेका छन् । यो सबै छोडेर गुडियामा केन्द्रित हुने हो ? 

प्रहरी मार्ने काम भएको छ । छात्रावासमा आपराधिक क्रियाकलाप भएको छ । चोरी गर्न नहुने हो । सिंहदरबारदेखि भाटभटेनीमा आगजनी गर्न नहुने हो । हामी त्यसको खण्डन गरिरहेकै छौं । तर समग्र आन्दोलन गुडियामा गएर मोड्न खोज्ने ? 

आन्दोलनको मोर्चा सम्हाल्नुभएको तपाईँ आन्दोलनको सफलतापछि  नसोचेका अरु पात्रहरू दृश्यमा आए । तपाई कहाँ र कसरी हराउनुभयो ? 

म राजनीति गर्न आएको थिइन् । नेता बन्छु भनेर आएको थिइन् । हामीलाई मिडियामा कसरी आउने भन्ने थाहा छैन । तर जो अहिले फ्रन्टलाइनमा देखिएका छन् , तिनीहरू पहिलेदेखि मिडियामा आइराखेको अनुहार हो । उनीहरूलाई मिडियाको उपयोगिता कसरी गर्ने भनेर थाहा छ । हामीले व्यक्तिगत तर्फबाट हरेक काम गरिरहेका छौँ । 

कुनै ठाउँ छैन, जहाँ म पुगेको छैन । मृतक परिवार र घाइतेहरूलाई भेट्न नपुगेको ठाउँ छैन । मिडिया वास्तविक जेन–जीको नेतृत्वकर्ता पहिचान गर्न चुकेको छ । आन्दोलनको दोस्रो दिन मिडियामा बोल्दा सिडिओ साबले पुरुषोत्तम यादव र सबल गौतमले आन्दोलनको जिम्मेवारी लिने भनेर भन्नुभएको थियो । 

त्यहाँ अहिले फ्रन्ट लाइनमा देखिएका कुनै पनि व्यक्तिहरूको नामै छैन । यो आन्दोलन सबैको थियो र हो । तर यस आन्दोलनको बारेमा नकारात्मक सन्देश गयो । मलाई अहिले भन्न लाज लागेको छ –म हुँ वास्तविक जेन–जी आन्दोलनको सहजकर्ता । ‘म’ होइन ‘हामी’ भन्ने सिद्धान्तमा विश्वास गर्ने मान्छे हो म । मैले गरेँ होइन हामीले गरेको हो । 

त्यत्रो जनधनको क्षति भएर बनेको सरकारको म्याण्डेड अब चुनाव गराउनु मात्रै हो ? तपाईँहरूको एजेन्डा त शासन प्रणालीमै ‘रिफर्म’ गर्ने होइन र ? 

चुनाव गराउनको लागि यो आन्दोलन भएकै होइन । संविधानमा टेकेर रिफर्म गर्नुपर्छ । मुख्य कुरा राजनीतिक नियुक्तिलाई हटाउनुपर्‍यो । आर्यघाटदेखि सिंहदरबारसम्म राजनीतिक नियुक्ति खाएका मान्छेहरू छन् । यो खराब अभ्यास तोड्नु पर्छ । पत्रकार, प्रहरी, वकिलसम्म राजनीतिक दलका कार्यकर्ता हुन्छन् । 

नेपाल एयरलाइन्सको सञ्चालक समितिमा शिक्षकहरू छन् । त्यो जायज हो ? त्यसकारण राजनीतिक दलका नेताहरूले पनि यो आन्दोलन किन भयो भनेर बुझ्नुपर्छ । यिनै बेथितिविरुद्ध यो आन्दोलन भएको हो । लोकतन्त्रमा विश्वास गर्छौँ हामी । हामी राजनीतिक दल विरुद्ध छैनौँ । राजनीतिज्ञ मात्रै होइन घुस दिने विरुद्ध पनि हाम्रो आन्दोलन हो । जो सुशासनको विपक्षमा छन् तिनी सबै विरुद्धको आन्दोलन हो । 

जेन–जीहरु आफैँ विभाजित भएका छन् । उनीहरूको एजेन्डा नै यति बेला अपहरणमा परेको देखिन्छ । यस्तो किन भयो ? 

जेन–जीहरुलाई पनि यसरी विभाजित भइएला भन्ने लागेको थिएन । यति बेला जेन–जीले नसोचेको र नहुने कुरा भयो र भइरहेको छ । यो मिडियाको पनि जिम्मेवारीको कुरा हो । मिडिया जेन–जी अभिभावक बन्नुपर्छ । अनलाइन खबरले जेन–जी ले संविधान मान्दैन भनेर समाचार छापेको छ । हामीलाई नसोधी नाम कोड गरेर संविधान मान्दैनौ भनेर लेख्यो । 

मलाई सुदन गुरुङको टिमको भनेर लेखेको छ । केही यस्ता व्यक्तिको कोड गरेको छ, जो जेन–जी नै होइनन् । मिडियाले आचारसंहिता पालना गर्नुपर्दैन ? यो देश बिग्रनुमा मिडियाको पनि ठुलो भूमिका छ । मिडियाले समाचार लेखिरहेपछि अक्टुबर ९ मा हाम्रो कुनै सहभागिता छैन प्रेस विज्ञप्ति निकाल्न पर्‍यो । 

संविधान विरुद्धको नारा लगाएकै थिएनौ । अहिले हरेक दलबाट जेन–जी निस्किएका छन् । पानी बाँड्न र स्वास्थ्य सेवा दिन आएकाहरू साथै, आइएनजीओका साथीहरू आज जेन–जी हुँ भन्दै आएका छन् । 

सुशासन तपाईँहरूको पहिलो र अन्तिम एजेन्डा थियो । तर पनि ६ महिनापछि पुराना दल चुनिएर आउने लक्षण देखिदैछ ? 

यिनै पुराना दलहरूले चुनाव जित्लान् भन्ने व्यक्तिगत रूपमा मलाई लाग्दैन । अर्को कुरा राजनीतिक दलभित्रका सबै नेता खराबै छन् भन्ने पनि होइन । जो असल छन्, जो सुशासन चाहन्छन् उनीहरूले चुनाव जिते राम्रै हुन्छ । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी दल पुन आएर केही फरक पर्दैन । भ्रष्ट नेता मात्रै अब आउनु हुँदैन भन्ने हो । 

वर्तमान सरकार र मन्त्रीहरूको कार्यशैली जेन–जीको मुताबिक पाउनुभएको छ ? 

यो सरकार जेन–जीको मात्रै होइन । यो नेपाल सरकार हो । त्यसकारण हरेक नेपालीको सरकार हो । एक व्यक्तिले मन पराउने, एउटा समूहले मन पराएर हुँदैन । समग्र देशवासीले मन पराउने सरकार बन्नुपर्छ । भर्खरै बनेको सरकार हो । आशावादी बनौँ भन्न चाहन्छु । 

संसद्मा शपथ लिएको नेताले अचुक भ्रष्टाचार गरिरहेको छ । संविधानको शपथ लिएकोले चोरी गरिरहेको छ । सरकारको उत्तरदायित्व के हो ? सरकार एउटा गुडिया चोर्‍यो भन्नेतिर लाग्ने हो ? सयमा एक जना खराब निस्कन्छ । त्यसको सम्पूर्ण जेन–जीले भार बोक्ने ? 

घुस विना व्यापारीले पनि काम गर्न सकिरहेका थिएनन् । छानी–छानी व्यापारिक केन्द्र जलाउने काम घुसपेठियाले गरेका हुन् । तर माहौल राम्रो बन्दै जान्छ । यो देशमा लगानीकर्ताहरू भित्र्याउन समय लाग्दैन । उत्पादन विना देशको विकास हुँदैन । त्यसमा जेन–जी सचेत छ । 

देश संकटको अवस्थामा गयो । त्यतिबेला आवश्यकताको सिद्धान्त अनुसार संविधान बुझेको मान्छे सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमत भइयो । हाम्रो आन्दोलन ज्येष्ठ नागरिक हटाउनुपर्छ भन्ने होइन । 

युवा फेसबुकमा स्टाटस लेखेर बस्छ । स्टाटसले देश चल्छ र ? युवाले नेतृत्व लिन अग्रसरता देखाउनुपर्‍यो । मृतक वा घाइते परिवारबाट पनि मन्त्रिमण्डलमा सहभागी हुनुपर्छ भनेर हामीले बोलिरहेका छौ । 

मन्त्रीहरु केहीले सेवा सुविधा नलिने र कार्यालयमै भात पकाएर खाने गर्नुभएको छ । यो के हो ? 

मन्त्रीले पाँच लाख तलब लिए पनि हुन्छ । तर भ्रष्टाचार गर्नुभएन । उनीहरूको तलब र सेवा सुविधा प्रति जनताको आक्रोस होइन । इमानदारीपूर्वक काम गर्नुस् र सेवा सुविधा लिनुस् । सरकारले दिएको गाडी चढ्दिन, मन्त्रालयमै भात पकाएर खान्छु भनेर पाखण्डपन जनतालाई चाहिएको छैन । 

माथिल्लो निकायको कर्मचारीतन्त्रको भ्रष्टाचार नेताहरूको भन्दा बढी छ । भ्रष्टाचार नगर्ने हो भने तलब मजाले खानुस् । शिक्षा र स्वास्थ्य नागरिकको लागि निःशुल्क व्यवस्था गर्ने गरी काम गर्नुपर्‍यो । 

चुनाव हुन्छ ? 

समयमै चुनाव हुन्छ । सहिद र घाइते परिवारको सबै मुद्दा छिटो भन्दा छिटो समाधान हुन्छ । सरकारलाई अझै केही समय दिनुपर्छ । आजैबाट आलोचना गर्न आवश्यक छैन । नेताहरूले स्वीटजरल्याण्ड बनाउँछौ भनेर सपना देखाए । तर हामीलाई यो देश स्वीटजरल्याण्ड होइन, उन्नत नेपाल बनाउनु छ । 

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ०८ बजे

अरूलाई फिर्ता बोलाउँदा तानिएका पुरानै एसपीलाई सुनसरीको गणमा खटायो हलचोकले

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका