काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रसँग एकीकरण तयारी तत्काल रोक्न आग्रह गरेका छन्।
हाल श्रीमतीको उपचारका लागि भारतमा रहेका उनले अहिले पार्टी एकीकरणको ‘मौसम’ नभएको बताएका हुन् । उनले एमालेबाट भएको चार वर्षे विद्रोहको यात्राको गहिरो र आत्मालोचनात्मक समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पत्नी रविलक्ष्मी चित्रकारलाई स्याहारिरहेका खनालले आफ्नो भनाइ सार्वजनिक गर्दै माओवादीसँग नमिल्न नेतृत्वलाई चेतावनी दिएका हुन्।
अहिलेको अवस्थामा हतारमा एकता गर्ने प्रयास गलत दिशातर्फको कदम भन्दै उनले त्यसबाट पार्टीलाई भड्खालोमा पुर्याउन सक्ने बताएका छन् ।
‘हाम्रो पार्टीका लागि यो एकीकरणको समय होइन,’ उनले भने, ‘सबैभन्दा पहिले चार वर्षको यात्राको निर्मम समीक्षा गरौं। के सही भयो, के गल्ती भयो, दूध र पानी छुट्याऔं।’
खनालले युवाहरूको आवाजलाई प्राथमिकता दिँदै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीलाई आमूल परिवर्तनकारी, नेपाली विशेषतायुक्त समाजवादका निम्ति दृढ संकल्पित संगठनका रूपमा रूपान्तरण गर्नुपर्ने समय आएको उनले बताएका छन् ।
‘हामी सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई एउटै बृहत् राष्ट्रिय मोर्चामा गोलबन्द गरौं र प्रतिनिधिसभा निर्वाचनको तयारी योजनाबद्ध रूपमा अघि बढाऔँ’, उनले भने ।
खनालले पार्टी नेतृत्वलाई ‘कुबेलाको सहनाईँ नबजाउन’ आग्रह गर्दै सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रूपान्तरणको ऐतिहासिक यात्रातिर अघि बढ्न आह्वान गरेका छन्।
देश, जनता र वाम आन्दोलनलाई नयाँ धरातलमा उठाउन हरेक दलले आत्मसमीक्षा गर्दै पुनर्गठन र रूपान्तरणको बाटो लिनु अब अपरिहार्य बनेको उनले बताएका छन् ।
माओवादीलगायत एकता गर्न अध्यक्ष नेपालले अपानिमार्फत वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेका छन्।
वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन्। अपानिमार्फत जारी गरिएपश्चात पार्टीभित्र मतभेद छ।
उनले सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढाउनुपर्ने बताएका छन्। ‘एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौँ’, उनले भने, ‘मेरो विचारमा आजको सही मार्ग यही हो। कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौं। सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ।’
खनालले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको धारणा राखेका छन्।
प्रतिक्रिया