काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच राष्ट्रियसभालाई अगाडि बढाउने र यससँग सम्बन्धित समसामयिक तथा व्यवस्थापकीय विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।
उनले अन्तरराष्ट्रिय संसदीय मञ्च (आइपियु)को यही अक्टोबर १९ देखि २३ सम्म स्विटजरल्यान्डको जेनेभामा हुने सम्मेलन र त्यसमा नेपालका तर्फबाट भाग लिने प्रतिनिधिमण्डलबारे परामर्श भएको बताए ।
अध्यक्ष दाहालले आगामी फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सांसदको अवधि समाप्त हुने र त्यसका लागि ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने प्रावधानबारे अवगत गराएका थिए ।
यसैगरी राष्ट्रियसभा बैठक बस्दा प्रयोग हुने हलको अभावबारे छलफल भएको र त्यस सम्बन्धमा सरकार तथा सङ्घीय संसद् सचिवालयको योजनाअनुसार अबको एक महिनाभित्र सभाहल तयार हुनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
“राष्ट्रियसभामा केही विधेयकहरू बाँकी रहेका छन् र तिनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत सरसल्लाह भएको छ । संसद् विघटन भएको अवस्थामा राष्ट्रियसभा अलि बढी सक्रिय हुनुपर्ने भएकाले यस विषयमा पनि छलफल भयो”, अध्यक्ष दाहालले भने ।
प्रतिक्रिया