ललितपुर– नेकपा (एमाले)को दशौँँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए।
उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । बैठकमा अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
यसअघि यही असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।
बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ ।
बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शंकर पोखरेलले जानकारी गराए।
बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराए।
प्रतिक्रिया