आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री « Khabarhub

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् ।

गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल बिक्री भएको समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए । यस अवधिमा करिब दुई हजार किलो सयपत्री फूल बिक्री भएको छ । प्रतिकिलो रु ३५० देखि रु चारसम्म फूल बिक्री भएको उनले बताए ।

फूल बिक्रीका लागि बजारको समस्या नभएको बताउँदै गुरुङले यहाँ उत्पादित फूल आँबुखैरेनी, दमौली, डुम्रे, पोखरा, मुग्लिन, नारायणगढसम्म पुगेको उल्लेख गरे । उनले भने, “पहिलो र दोस्रो चरणको टिपाइबाट दुई हप्ताको अवधिमा रु सात लाख बराबरको फूल बिक्री गर्न सफल भयौँ । फूलले बजार पाउँदा झनै उत्साहित छौँ ।”

बारीमा अझै पनि सयपत्री फूल बाँकी रहेको र उक्त फूलहरू आँबुखैरेनीमा शनिबारदेखि एक सातासम्म हुने महायज्ञमा प्रयोग गरिने उनको भनाइ छ । उनले भने, “तेस्रो र चौथो चरणको टिपाइ छिम्केश्वरी बूढीदेवी महायज्ञ र एकादशी पर्वका लागि बिक्री गरिनेछ ।”

पहिलो चरणको टिपाइबाट एक हजार फूलको माला बनाएर दश दिनसम्म चिस्यान केन्द्रमा राखी माग उच्च भएका बेला बिक्री गरिएको थियो । उनले भने, “यस वर्ष चाँडै फूल फलेकाले चिस्यान केन्द्रमा राखेर जुनबेला माग उच्च हुन्छ त्यही बेला बिक्री गर्ने व्यवस्था मिलाएका थियौँ ।”

यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यो वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्‍याएको अध्यक्ष गुरुङले बताउनुभयो । समूहमा ४५ जना महिला आबद्ध छन् ।

बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रुपमा फूलखेती लागिरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले उल्लेख गरे ।

गत वर्ष कतारसमेत फूल निर्यात भए पनि यस वर्ष स्थानीयस्तरमै माग बढी भएकाले विदेश पठाउन नसकिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीपसमेत सिकाएको उनको भनाइ छ । उनले भने, “फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलालाई प्रदान गरिएको छ ।”

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १० : ४० बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत