बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट « Khabarhub

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तम्घास– यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ । 

यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टरमा धानखेती गरिएको थियो । जसमा २२ हजार ९०९ मेक्ट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएकामा ११ प्रतिशत अर्थात् दुई हजार ५२० मेक्ट्रिक टन धान पानीले भिजेर नष्ट भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । 

जिल्लाको कुनै पनि ठाउँमा हालसम्म धानबालीको बीमा नगरिएको पनि उहाँले बताउनुभयो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र चौरासी फाँटमा ९९९ हेक्टरमा धान रोपिएको थियो । जसमध्ये ४० प्रतिशत धान काटिसकेको अवस्थामा खेतमा नै भिजेको छ । 

तिहार लगत्तै धान काटेका किसान अहिले पानी परेसँगै चिन्तित भएका हुन् । लामो समयसम्म पानीले धान खेतमा नै भिज्दा टुसा पलाउन थालेका छन् । जसले गर्दा धानको मूल्य र उत्पादन घटेको छ । 

इस्मा गाउँपालिका–६ का कमलप्रसाद भण्डारीले साढे चार रोपनीमा रोपेको धान यही कात्तिक ९ गते बाटेका थिए । तर कात्तिक ११ गतेदेखि पानी पर्न सुरु गर्‍यो । काटिसकेको धानपानीले खेतमा नै डुबाउन थालेपछि उहाँले कात्तिक ११ र १२ गते १७ जना खेताला लगाएर धान उठाएर घर लगे । 

‘घाम लागेकै बेला उठाउन पाएको भए थ्रेसर लगाएर झाटिन्थ्यो, धान र पराल छुट्टाछुट्टै हुन्थ्यो,’ उनले भने, ‘अहिले घाम लागेपछि झाँट्न सुरु गरेको, टुसा पलाएको छ ।’ गत वर्ष २५ मुरी धान फलेकामा यो वर्ष अधिकांश धान खेतमा नै पोखिएको गुनासो गरे। 

स्थानीय कृष्णप्रसाद घिमिरेले पनि गत असार र साउनमा ७५ रोपनीमा धान रोपेका थिए । बीउको लागि चैते ५, हाइब्रिड महेन्द्र ३०–३०, जी टेक लगायतका धान रोपेका थिए । उनको खेतमा कुल तीन सय ५० मुरी धान फल्थ्यो । जसमा दुई सय २५ मुरी तिहार अगाडि नै स्याहारेका थिए । अझै १५ रोपनी खेतको छ मुरी हुने धान काट्न बाँकी छ । तर काटिसकेको १८ रोपनी खेतको करिब ९५ मुरी धान भने पानीले डुबाएको छ । 

खेताला लगाएर कात्तिक ९ गतेका धान काटेको धान पानीमा भिजेको हो । पानी नपरेको भए ११ गते नै थ्रेसरबाट उठाउने तयारी थियो । तर पानीले उनको धान मात्र डुबाएन, मेहनेत र पसिना समेत डुबाएको छ ।

‘पानीमा धान उठाएर आउने रकमभन्दा उठाउन लाग्ने लागत बढी भएकोले उठाइन’, घिमिरेले भने, ‘दुई लाख ६६ हजारको धान पानीमा डुबेको छ ।’ चौरासी फाँटको धान प्रतिमुरी दुई हजार आठ सयमा बिक्री हुँदै आएको छ । 

किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । ‘अब त धानमा टुसा आउने बेला भयो, त्यस्तो धान बिक्री नहुने समस्या हुन्छ,’ उनले भने, ‘पानीमा भिजेको पराल गाईवस्तुले पनि रुचाउँदैनन् ।’ गत वर्षहरूमा पनि हल्का बादल मात्रै लाग्ने तर पानी नपरेका कारण आफूले धान काटेको उनको भनाइ छ । उहाँको खेतमा करिब ९० मुरी धान हुन्थ्यो । अब पानीमा भिजेसँगै उत्पादन धेरै कम हुने भट्टराईको भनाइ छ ।

    काटिसकेको धान कसरी सुरक्षित गर्न सकिन्छ ?

काटिसकेको धान वर्षामा थुप्रोमा राख्दा भिजेको ‘फङ्गस’ लाग्न सक्छ । त्यसकारण धान ढुङ्गा, प्लास्टिक वा परालमाथि राख्न कृषि ज्ञान केन्द्र कार्यालयले सुझाव दिएको छ । 

त्यसैगरी अहिले धानलाई माथिबाट प्लास्टिकले छोप्ने र वर्षा रोकिएपछि तुरुन्तै सुकाउने, सावधानीपूर्वक धुवाँको ताप प्रयोग गर्ने, धानलाई हावा प्रसार हुने ठाउँमा राख्नेलगायतका उपाय अपनाएमा क्षति कम हुने कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : १३ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर