राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन | Khabarhub Khabarhub

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन



काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका तेन्जिन दावा लामा दुर्गा प्रसाईं र नवराज सुवेदीले तीनकुनेमा आयोजना गरेको राजावादी आन्दोलनमा समेत सक्रिय रहेको तथ्य खुलेको छ । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) नामक संदिग्ध समूहमा आबद्ध भएको दाबी गरिएका लामामाथि हाल प्रहरीले विभिन्न कसुरमा अनुसन्धान गरिरहेको छ ।

तेन्जिनले आफूहरू टीओबी नामक बाइकर्स समूहमा आबद्ध रहेको र समूहमा अन्दाजी ५० जना जति संलग्न रहेको पनि बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार टीओबी समूहका सदस्यहरूलाई प्रदर्शनमा सहभागी हुनका लागि स–सानो रकम पनि दिने गरिन्थ्यो ।

उनीहरू आफ्नो साथमा रहेको बुलेट बाइकमा आन्दोलनमा सहभागी हुने गरेको पाइएको छ । गत चैतमा तिनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको राजावादी आन्दोलनमा समेत यस समूह संलग्न देखिएको प्रहरीले जनाएको छ ।

हाल तेन्जिनमाथि नागरिकता विवादमा पनि अनुसन्धान भइरहेको छ । लामाको नागरिकता प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको सिस्टममा भेटिएको छ । तर, ढड्डामा निवेदनका कागजातहरू भने भेटिएको छैन ।

नागरिकता बनाउन वडा कार्यालयको सिफारिस र आमाबुबाको नागरिकता आवश्यक पर्छ । तर, उक्त सिफारिस भेटिएको छैन । प्रहरीका अनुसार तेन्जिनले आफू काठमाडौं महानगरपालिका–६ मा जन्मिएको बताएका छन् । वडाध्यक्ष भुवन लामाले चाहिँ उनको नागरिकताको सिफारिस नभेटिएको जानकारी दिएका छन् । त्यसैगरी, वडामा जन्मदर्ताको विवरण पनि नभेटिएको उनको भनाइ छ ।

यसअघि सार्वजनिक समाचारमा नागरिकता प्रमाणपत्रमा बाबु उल्लेख गरेका कृष्णबहादुर लामाले तेन्जिनलाई चिन्न नसकेको जनाइएको थियो । अनुसन्धानका क्रममा प्रहरीले आफ्नो बाबु दाबी गरिएका कृष्णबहादुरलाई तेन्जिन सामुन्ने उपस्थित गराएका थिए । तर, न त कृष्णबहादुरले तेन्जिनलाई चिन्न सके न त तेन्जिनले नै कृष्णबहादुरलाई चिने । यसपछि तेन्जिनमाथिको अनुसन्धान थप पेचिलो बनेको छ ।

तेन्जिनको नागरिकता २०७९ असार २४ गते जारी भएको देखिन्छ । त्यस, नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत मुरारीप्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार हाल तेन्जिनमाथि तीन वटा मुद्दा चलाइएको छ । खबरहबसँग कुरा गर्दै उनले किर्ते र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।

साथै, उनको डेराबाट गाँजा फेला परेपछि उनीमाथि लागूऔषधसम्बन्धी मुद्दा पनि चलाइएको छ । उनीबाट बरामद भएको रेडियो सेटको लाइसेन्स पनि नरहेको पाइएको छ ।

त्यसैगरी, नागरिकताको विषयमा पनि थप अनुसन्धान भइरहेको एसपी भट्टराईको भनाइ छ । ‘उनले नागरिकता लिएको वडामा नागरिकता लिनको लागि गरिने प्रक्रिया पालना गरेको अहिलेसम्म भेटिएको छैन । अस्ति जेन–जी आन्दोलनमा वडा कार्यालयमा आगलागी भएका कारणले प्रमाण नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।’ उनले भने, ‘अर्को प्रक्रिया पूरा गरेको हो वा होइन भनेर यकिन साथ भन्ने कुनै प्रमाण छैन । आन्दोलनमा विध्वंश भएका सरकारी कार्यालयमा प्रमाण जुटाउन त्यति सजिलो छैन । त्यसको लागि समय लाग्छ । त्यसको थप अनुसन्धानमै छौँ ।’

तेन्जिनको कोठा खानतलासी गर्दा प्रहरीले गाँजा, नक्कली पेस्तोल र वाकिटकी (रेडियो सेट) बरामद गरेको थियो । उक्त सञ्चार सेटका लागि उनले कुनै लाइसेन्स नलिएको प्रहरीको दाबी छ । सोही नक्कली पेस्तोल देखाएर उनले भिडिओ बनाएको बताइएको छ ।

जेन–जी आन्दोलन भड्काउन टिओबी समूहको संलग्नता रहेको प्रहरीको शंका छ । तेन्जिनले बिजुली बजारमा पेस्तोल लिएर भिडियो बनाएको आधारलाई लिएर पक्राउ गरेको हो ।

त्यसैगरी, प्रहरी अनुसन्धानका क्रममा टीओबी समूह दुर्गा प्रसाईंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा समेत सक्रिय रहेको तथ्य खुलेको छ । प्रहरी अधिकारीका अनुसार समूहका सदस्यहरूलाई स–साना खर्चका लागि रकम दिइन्थ्यो, र उनीहरू बुलेट बाइकमा आन्दोलनमा सहभागी हुने गरेको पाइएको छ ।

प्रहरीले समूहका गतिविधि तिब्बतीयन एजेन्डासँग सम्बन्धित नरहे पनि त्यसबाट प्रभावित रहेको निष्कर्ष निकालेको छ ।

तेन्जिन बौद्धमा डेरा गरी बस्छन् । प्रहरीले उनको साथबाट वाकिटकीको चार्जर पनि फेला पारेको छ । उनको भदौ २३ गते भएको आन्दोलन भड्काउनमा भूमिका रहेको वा नरहेको थप अनुसन्धान भइरहेको छ ।

उनले आफ्ना बुबाको ७ वर्षअघि नै मृत्यु भएको र आमा भारतमा रहेको बयान प्रहरीसँग दिएका छन् । त्यस्तै आफ्नी दिदी पनि रहेको उनले बताएका छन् । उनले आफ्नो कपडामा रहेको टिओबीबारे पनि प्रहरीसँग बताएका छन् ।

टिओबी समूहको नाम उल्लेख भएको डायरी पनि बरामद भएको प्रहरीले जनाएको छ । कपडामा डिजाइन पनि आफैँ बनाएको उल्लेख गरेका छन् । तेन्जीन पेसाले ट्याटू आर्टिस्ट र गायकसमेत हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ०१ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते