भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार « Khabarhub

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको रास्वपाको स्वीकार


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरेका छन् । आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गरे । प्रतिवेदनमा भनिएको छ, “रास्वपाले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन माग गरेको छ, जसमा दोषीलाई कारबाही गरिनुपर्छ ।” उनले घटना योजनाबद्ध भएको आशङ्का गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताए ।

आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशङ्कालाई पनि बढाएको छ ।”

दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन नसक्ने भन्दै प्रतिवेदनमा दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढ्ने उल्लेख गरिएको छ । दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुनेछ भन्ने उल्लेख गरिएको छ । छानबिनबाट मात्र भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भीड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यवाहक सभापति अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेको बताए ।

प्रतिवेदनमा आगामी चुनावलाई देशको रूपान्तरणका लागि निर्णायक अवसरका रूपमा चित्रण गरिएको छ । पार्टीले स्पष्ट बहुमतको सरकारले मात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य गर्न, नीतिगत स्थिरता प्रदान गर्न र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने ठहर रास्वपाले गरेको छ ।

महामन्त्री बुर्लाकोटीे तीन जिल्लाबाहेक अन्य जिल्लामा सङ्गठनको संरचना पुगेको बताए । ७४ जिल्लमा साङ्गठनिक संरचना बनिसकेको र विभिन्न आयोग तथा साङ्गठनिक संरचना निर्माणको काम भइरहेको उनले बताए । हालसम्म चार सय ६४ पालिकामा अधिवेशन सम्पन्न भइसकेको उनको प्रतिवेदनमा उल्लेख छ ।

दुवै जनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ । जसमा उपसभापति स्वर्णिम वाग्लेको चुनावी बाचापत्र, सहमहामन्त्री विपिन आचार्यको उम्मेदवार छनोटसम्बन्धी प्रतिवेदन र रास्वपा सभापतिको रिहाइका लागि सङ्कलन गरिएको हस्ताक्षरसम्बन्धी प्रतिवेदन पेस हुनेछ ।

ती प्रतिवेदनमा सामूहिक छलफलसँगै आगामी कार्यदिशासहित विस्तारित बैठक सकिने महामन्त्री बुर्लाकोटीलले जानकारी दिए । उनका अनुसार बैठकमा देशभरका पाँच सय १२ जना प्रतिनिधि सहभागी भएका छन् ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : ३४ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु