त्रिवेणी– धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरको धानमा क्षति पुगेको छ ।
कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको छ ।
नवलपुरमा हालैको वर्षाका कारण १९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताए । त्यसबाट ५२१ मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए ।
नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताए ।
अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ ।
जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताए ।
धानको उचित मूल्य नपाएको किसानको गुनासो
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानखेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूहरूले नपाएको गुनासो गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ कायम गरेको छ । तर किसानहरूले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् ।
कावासोतीका इन्द्रलाल महतोले धानको मूल्य कम पाएको गुनासो गरे । उनले सरकाले भनेकोभन्दा कम मूल्यमा धान बेच्नुपरेको गुनासो गरे । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरूलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
नवलपुरमा व्यापारीहरूले धान प्रति क्विन्टल दुई हजार ८०० देखि तीन हजार १०० रुपैयाँ भन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताए ।
उनले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गरे । रासस













प्रतिक्रिया