छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा | Khabarhub Khabarhub

लाइसेन्स छपाइ

छाप्न थालेको दुई हप्तामा पनि सेवाग्राहीले पाएनन् लाइसेन्स, विदेश जानेहरु मर्कामा

छाप्ने र बाँड्नेबीच छैन तालमेल



काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभागले डेढ महिनापछि अस्थाइ रुपमा सर्भर खडा गरी कार्तिक १६ गतेबाट सेवा सुरु गरेको थियो । आंशिक रुपामा सेवा दिने बताउँदै विभागले पहिलो चरणमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ आवेदकका लागि सेवा खुला गरेको हो ।

लाइसेन्स छपाइका लागि भने विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिए ।

पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका ५ सय थान लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याङ्क पठाएको थियो । तर छपाइ सुरु भएको चौध दिनसम्म पनि छापिइसकेका ती लाइसेन्स विभाग र आवेदकको हात लागेको छैन । जसकारण वैदेशिक रोजगारी, विदेश अध्ययन र अत्यावश्यक सेवाका लागि आवेदन दिएका सेवाग्राही मारमा परेका छन ।

‘हामीले केन्द्रले छाप्ने लाइसेन्सको नमूना हेरेपछि तथ्याङ्क दिएअनुरुप पाँचसय प्रति लाइसेन्स छापिइसकेका छन् । सम्भवत् छापिएका लाइसेन्स आज केन्द्रले पठाउनेछ भन्ने बुझेका छौं । तर, विभागमा आइनपुगेसम्म ढुक्कसँग भन्न सकिँदैन । विभाग भने हिजोसम्म सङ्कलन भएका ११ सय र आज थपिने अन्य आवेदकको तथ्याङ्क केन्द्रमा छपाइका लागि पठाउने तयारीमा छ,’ सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।

उनका अनुसार सम्झौताका क्रममा केन्द्रले अत्याधुनिक उपकरणबाट काम हुने भएकाले ढिलाइ नहुने बताएपनि प्राविधिक जटिलताका कारण समस्या भएको हो । यता केन्द्र भने छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण भइरहेको र नेपालमै पर्याप्त नभए विदेश पठाउने तयारी गरेको जनाएको छ ।

‘पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने मापदण्डका विभिन्न आधार हुने रहेछन् सोहीअनुरुप यतिबेला पानीमा, तेलमा राखेर तुरुन्त भिज्छ भिज्दैन, हामीले छापेको लाइसेन्सको आयु कति दिर्घकालिन हुन्छ भन्ने परीक्षण भइरहेको छ । यो परीक्षण नेपालभित्रका ल्याबमा गरेका छौं । यो अब हप्तादिनमा पुरा हुन्छ त्यसपछि बल्ल विभागमा पठाउनेछौं ।’ केन्द्रका निर्देशक देवराज ढुङ्गानाले बताए ।

छापिएका लाइसेन्सको गुणस्तरमा ढुक्क हुन परीक्षणकै चरणमा रहेको केन्द्रले विभागबाट दोस्रो चरणको छपाइका लागि मंगलबार थप तथ्याङ्क पाउने केन्द्रले जानकारी दिएको छ । ‘अहिले गरेको परीक्षण दोस्रो चरणको परीक्षण हो, त्यसैले दोस्रो चरणको छपाइका लागि विभागले सोमबारसम्म संकलित तथ्याङ्क छपाइका लागि पठाउनेछ ।’ ढुङ्गानाले भने ।

विभागले २५ लाख लाइसेन्स छाप्न बाँकी छ । जसमध्ये विभागले २७ करोड ६० लाख रुपैयाँ बजेटमा १२ लाख थान मात्र छाप्न सकिने भएकाले थप बजेट आवश्यक रहेको खतिवडाले जनाएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : २२ बजे

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले

बडिगाडलाई पोषणमैत्री पालिका बनाउन तयारी तीव्र

गण्डकी – ‘खाजामा कहिले मकैको सातु बनाउँछौँ, कहिले कोदोको पुरी

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ

काठमाडौं– पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा प्रहरीले

जतिसक्दो छिटो दलित अधिकार विधेयक मस्यौदा तर्जुमा गर्छौं: कानुनमन्त्री सिन्हा

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले दलित