युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा « Khabarhub

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबीच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ ।

युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्थाहरू राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन् । यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ताहरू आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताहरूले कुनै बाधा पाएका छैनन्, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानूनी प्रतिनिधिहरू उपस्थित छन्’ भनेका छन् ।

यी दुवै निकाय युक्रेनी उच्च अधिकारीहरू संलग्न रहेको करिब १० करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्र सम्बन्धी कथित ठूलो भ्रष्टाचार प्रकरणको मुख्य अनुसन्धानकर्ता हुन् । यर्माकका दुई पूर्व सहकर्मी ओलेह टाटारोभ र रोस्टिस्लाभ सुर्मा विभिन्न वित्तीय आरोपका कारण सन् २०२४ मै पदबाट बाहिरिनु परेको थियो । अर्का सहायक एन्ड्री स्मिर्नोभमाथि पनि घुस तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धान भएको थियो, यद्यपि उनी अहिले पनि यर्माकका लागि काम गरिरहेका छन् ।

युक्रेनले युद्धकालीन आवश्यकताका कारण पश्चिमी मुलुकहरूसँग थप सहायता मागिरहेका बेला उत्पन्न यस काण्डले राष्ट्रपति जेलेन्स्कीमाथि अतिरिक्त राजनीतिक दबाब सिर्जना गरेको छ । युरोपेली सङ्घमा समावेशीकरण प्रक्रिया अघि बढाउन पनि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने भन्दै इयुले जेलेन्स्कीलाई निरन्तर आह्वान गर्दै आएको छ ।

ऊर्जा क्षेत्रसम्बन्धी अनुसन्धान सार्वजनिक भएपछि यसै महिनाको सुरुआतमा जेलेन्स्कीले आफ्नै दलभित्रबाट अभूतपूर्व प्रतिरोध सामना गर्नुपरेको थियो । यर्माकमाथि प्रत्यक्ष कुनै गलत कार्य गरेको आरोप पुष्टि नभए पनि जेलेन्स्की दलका वरिष्ठ सांसदहरूले जनविश्वास पुनर्निर्माण गर्न उनले नै जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिएका छन् । केही सांसदहरूले यर्माकलाई बर्खास्त नगरिए दल नै विभाजित हुनसक्ने चेतावनी समेत दिएका छन्, जसले संसदीय बहुमतमा असर पर्नसक्ने सम्भावना औँल्याएका छन् । तर राष्ट्रपति जेलेन्स्कीले ती मागहरू अस्वीकार गर्दै एकताको आग्रह गरेका छन् ।

जेलेन्स्कीले युक्रेनी जनतालाई ‘राजनीतिक खेलहरू रोक्दै एकजुट हुन’ आव्हान गर्दै हाल अमेरिकाबाट भइरहेका रूससँग सम्झौताको सम्भावित दबाबको सन्दर्भ पनि उल्लेख गरे । एन्ड्री यर्माकले करिब १५ वर्षअघि जेलेन्स्कीसँग भेट गरेका थिए । त्यतिबेला उनी टेलिभिजन उत्पादन क्षेत्रमा प्रवेश गरिरहेका वकिल थिए भने जेलेन्स्की चर्चित हास्य कलाकार थिए । पहिलो राष्ट्रपति टोलीको सदस्यका रूपमा विदेश मामिलासम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै यर्माक सन् २०२० मा चिफ अफ स्टाफका रूपमा पदोन्नति भएका थिए ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विदेश यात्रामा अधिकांश समय जेलेन्स्कीका साथमै रहने यर्माक राष्ट्रपतिले अत्यधिक भरोसा राख्ने व्यक्तिका रूपमा चिनिन्छन् । देशभित्र उनलाई ‘राष्ट्रपतिका पहरेदार’ का रूपमा व्याख्या गरिन्छ र प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका महत्त्वपूर्ण पदहरूमा नियुक्ति छनोटमा पनि उनको प्रभाव निर्णयकारी रहेको व्यापक विश्वास छ ।

यर्माक तथा राष्ट्रपति कार्यालयसँग जोडिएका केही व्यक्तिहरू विगतमा पनि विभिन्न अनुसन्धानको दायरामा परिसकेका छन्, जसले वर्तमान छानबिनलाई झनै संवेदनशील बनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २४ बजे

प्रधानमन्त्री र अध्यक्ष ढकालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसद्मा

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर