माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति « Khabarhub

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । 

अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ । 

आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । 

‘चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ,’उनले भने, ‘विस २०८३ फागुन भित्र विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार विद्युत् गृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।’ कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ । 

विसं जेठ ८ गते सुरु भएको बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युत्गृहको उत्खनन कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । 

विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो । 

धवलागिरि गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ । 

मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनौट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युत्गृहको उँचाइ एक सय ९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ । 

ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आवद्ध छ । 

विद्युत्गृहतबाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ । 

सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ । 

भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि रु छ करोड २० लाख बजेट बिनियोजन गरेको छ । 

हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिका भित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए । रासस

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : ५६ बजे

शंकर पोखरेल : जबजका व्याख्याता, एमालेभित्रका समन्वयकारी नेता

नेपालको वामपन्थी आन्दोलनमा स्थापित नाम हो–शङ्कर पोखरेल । विद्यार्थी कालदेखिकै

खैरो हिरोइनसहित आठ जना पक्राउ

चितवन– लागूऔषध खैरो हिरोइनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ

जेन-जीसँग सरकारको सम्झौता : भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाइने

काठमाडौं- जेन-जी जनआन्दोलनकारी र अन्तरिम सरकारबीच बुधबार १० बुँदे सम्झौतामा

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार