कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं « Khabarhub

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी चलाउन विचार, उद्देश्य र वस्तुपरक योजना चाहिन्छ । योजना प्राप्तिका लागि स्पष्ट दृष्टिकोण आवश्यक छ । देशको नेतृत्व गर्नेसंग तीन करोड जनताको व्यवस्थापकीय ज्ञान, सीपको दरकार पर्छ । अझ सुशासनको आवाज उठाउनेले राज्यसञ्चालन प्रक्रियामा जनताको गुनासो आउन नदिने विश्वसनीय सूत्र प्रतिपादन गर्नु वाञ्छनीय छ । तर नयाँ दलका भनिएका नेताहरु पुराना दलका नेतृत्वलाई धारेहात लगाएर सराप्नमा समय खर्चिरहेका छन् । के यसले उनीहरुले चाहेको राजनीतिक परिवर्तनलाई मद्दत गर्ला ?

जेन–जी आन्दोलनपछि जनताले परिवर्तनको अपेक्षा गरेका छन् । जसअनुसार सरकारले फागुन २१ गते चुनावको मिति घोषणा गरेर तयारी तीब्र पारिसकेको छ । १ सय ४३ दल निर्वाचनमा सहभागी हुनेछन् । यसवर्ष २७ नयाँ दल दर्ता भएका छन् ।

जनतामा निर्वाचनका लागि उत्साह पनि छ । तर चुनावमा जाने ती नयाँ दल घोषणा र उनीहरुले दिएको प्रतिक्रिया हेर्दा पुरानै ढर्राका देखिन्छन् । आखिर परिवर्तनका लागि आएका नयाँ दलको शैली किन विगतको जस्तै देखिन्छ ?

रिमा विश्वकर्मा

बुधबार भएको उज्यालो पार्टी घोषणा कार्यक्रममा कलाकार रिमा विश्वकर्माले दिएको भाषणलाई लिएर यतिबेला विभिन्न कोणबाट चर्चा हुन थालेको छ । स्टेजमा कार्यक्रम होस्ट गर्दा निकै प्रभावशाली प्रस्तुति दिने उनको स्वरलाई केहीले राजनीतिमा आउनेबित्तिकै खरो भएको टिप्पणी गरेका छन् ।

‘रिमा विश्वकर्मालाई सञ्जालमा गालीको वर्षा देखेपछि मैले उनले बोलेको खोजेर सुनेँ। सुन्दा रोचक पनि लाग्यो। एउटै भाषणले रिमालाई नेतृ भनेर चिनाइदियो । तर सधैँ कोइलीझैँ कुहु–कुहु गर्ने स्वरले यसपटक कागले झैँ काग–काग गरेको अनुभूति गरायो ।’प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सन्तोष देउजाले फेसबुकमार्फत धारणा राखे ।

जनअपेक्षाअनुसार आगामी कामको फेहरिस्त बताउलिन् भन्ने आशा गरेकोमा उनी गालीगलौजको शैलीमा उत्रिएको देउजाले उल्लेख गरेका छन् । सो दिन भाषण गर्ने क्रममा उज्यालो पार्टीकी केन्द्रीय सदस्य बनेकी रिमाले माओवादी, कांग्रेस र एमालेलाई सर्मथन गर्नेले आफूलाई पशुसरह माने हुनेसम्मको अभिव्यक्ति दिइन् ।

उनले भनिन्, ‘तीन दशकदेखि राज गरिरहेका भ्रष्टाचारीले देश बनाउँछु भनिरहेका छन । अझै पनि उनीहरुको कुरा पत्याउने र दलको वादमा अल्झिरहने हो भने, सर्वश्रेष्ठ प्राणी मानिएका स्वविवेकी हामीहरु गोठमा बस्न गए हुन्छ, चौरमा चर्न गए हुन्छ ।’

बोल्ड स्वर र दमदार शैलीमा प्रस्तुत भएकी उनले बोल्ने अवधिभर पार्टीको रणनीति भन्दा पनि पुराना दलविरुद्ध बढी समय खर्चिइन् ।

कुलमान घिसिङ

सरकारसँग राजनीतिमा फर्किने वाचासाथ उर्जा तथा जलस्रोत, शहरी विकास र पूर्वाधार तथा यातायात गरी तीन मन्त्रालयको मन्त्री भएका कुलमान घिसिङको अभिव्यक्ति पनि उस्तै छ । केपी ओली नेतृत्वको सरकारले आफूलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणकोकार्यकारी बनाएको थियो ।

ओलीकै शैलीमा उनले पनि मन्त्रीको शपथ लिएलगत्तै शाक्यलाई पदमुक्त गराए । भलै यसबारे उनले शाक्यको नेतृत्व क्षमताका कारण बर्खास्त गर्नुपरेको दाबी गर्दै आएका छन् । ५५ वर्षीय उनले पछिल्लो समय बुढ्यौली उमेरका नेताको क्षमता नपुगेकाले देशले गति लिन नसकेको ठोकुवा गर्दै भने, ‘७० वर्ष कटेपछि हात, खुट्टा दिमाग केही चल्दैन । त्यस्ता बुढालाई देश सुम्पिएर देश बन्छ ?’

यसबारे राजनीतिक जानकार उद्धव प्याकुरेल भन्छन्, ‘अहिले कुलमानजीले ७० कटेका माथि प्रश्न उठाइरहनुभएको छ तर के उहाँको पार्टी स्थापित भयो भने७० कटेपछि उहाँले आराम गर्नुहोला ? हेर्दै जाउँ त्यसो भयो भने, उहाँले पनि ७० पुग्दासम्म म नै अध्यक्ष हुन्छु । म जस्तो जान्ने कोही छैन भन्नुहुन्छ । समयले देखाउँछ ।’

यसैगरी अर्कालाई प्रहार गर्ने आफू नसच्चिने प्रवृत्तिले देश विकासमा समस्या निम्त्याएको हो उनले भने । यसका बाबजुद पूर्वाधार क्षेत्रमा उनले देखाएको दतारुकता भने प्रशंसनीय छ ।

हर्क साम्पाङ राई

कार्की नेतृत्वको सरकारले मन्त्रीमा नपत्याएपछि जनताको भोटबाटै नेतृत्वमा आउने दाबीका साथ धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गरे । यतिबेला उनी चुनावी माहोल बनाउन देशभर दौडधुप गरिरहेका छन् ।

आफू जुन जिल्ला पुग्दा पनि बिजुली काटिएपछि उनी कुलमान घिसिङमाथि फेसबुकमार्फत खनिए । आक्रोशसहित फेसबुकमा लेखे, ‘कुलमान घिसिङजी, भोजपुर गएँ लाइन काटिदिनु भो, तालेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो, अब हेटौंडा जाँदैछु त्यहाँ नि काटिदिनु है एमसीसीलाई खुसी बनाउनु ल प्रभुशक्तिलाई खुसी पार्नु ल ।’

त्यतिमात्रै होइन्, फेसबुक लाइभमा समेत बोल्दै साम्पाङले आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्वले कुलमानलाई प्रयोग गरेको आरोप समेत लगाए । पूर्वी जिल्लामा जातीय मुद्दाबाट जनताको मत आफ्नो पोल्टोमा पार्नखोजेको भन्दै साम्पाङ घिसिङमाथि खनिएका खनियै छन् ।

योसँगै चन्दा संकलनबाट सुम्निमा पारुहाङको मूर्ति बनाउने अभियानमा अपचलन भएको उजुरी हाल्नेमाथि पनि साम्पाङले आगो ओकले ।

सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै आक्रोसका साथ उनले भने, ‘मजस्तो कन्सेप्ट र भिजन भएको मान्छेले काम सुरु गर्दा यहाँ विकास विरोधीहरू थुप्रो छन् । विरुवा रोप्दा पानी ल्याउँदा पहिले पनि आरोप लगाएकै हुन् । देश बिग्रेकै यस्ता सडे गलेका, कुहिएको मनस्थिति भएका मान्छेहरूले गर्दा हो । हामीले प्रत्येक कुराको हिसाब देखाउँछौँ, देखाइरहेका छौँ । यहाँ त आफ्नो बारीमा मकै रोप्दा पनि मुद्दा लगाउँछन् । अब उजुरी/फुजुरी हाल्नेहरूले पनि माटो चुनाव चिह्नमा भोट हाल्नु खुरुक्क ।’

यसबारे अख्तियारलाई आफूले बिहिबार नै जवाफ पठाइसकेको थपे । हर्कवाद नै पार्टीको मुख्य सिद्धान्त भनेको यस पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री,श्रमदान, समानता र सुशासनको मुद्दाअघि सारेको छ ।

लोकतान्त्रिक प्रगतिशील पार्टी

पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी केन्द्रलाई निष्कृय बनाउँदै नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि लामो समयदेखि पार्टीमा नेतृत्व परिवर्तनका लागि विद्रोह गर्दै आएका जनार्दन शर्माले पनि पुराना सहकर्मी बाबुराम भट्टराईसँगको सहकार्यमा म्ांसिर ७ गते लोकतान्त्रिक प्रगतिशील पार्टी गठन गरे । जहाँ भट्टराई संरक्षक र शर्मा, रास्वपा त्यागेका सन्तोस परियार, पूर्व पर्यटनमन्त्री सुदन किराती, जेन–जी नेतृ ओजस्वी भट्टराई, भट्टराई पुत्री मानुसी लगायत केन्द्रीय सदस्य बने ।

वैकल्पिक पार्टी गठनपछि पहिलो पटक गत सोमबार टेलिभिजन अन्तर्वार्तामा प्रचण्डकै जोडबलमा उर्जा, गृह हुँदै अर्थ मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका शर्माले उनीविरुद्ध आगो ओकले । प्रचण्डमाथि उनले पार्टीको लेबी समेत अपचलन गरेको आरोप लगाउँदै भने, ‘२०६२/०६३ को आन्दोलनपछि जनतामा आशा बोकेर आएको माओवादी भित्रपनि पछिल्लो समय परिवारवादसँगै भ्रष्टाचार मौलाउन थाल्यो । पार्टीमा बैंकबाट आएका सहयोगबाहेक अन्य केही हिसाबकिताब छैन । त्यसविरुद्ध पार्टीभित्रैका सदस्यको सम्पत्ति छानबिन र पार्टीमा आफू होइन युवा नेतृत्व ल्याउनुपर्ने, विधि र सिद्धान्तअनुरुप चल्ने लगायतका माग गर्दा म हेयमा परे, पछि प्रचण्ड जी आफै माधवकुमार जीहरुको पछाडी लाग्नु भो ।’

त्यसको सुनुवाई गर्नुको सट्टा प्रचण्ड अन्यसँग विलय भएपछि आफू पनि विकल्पको खोजीमा जानुपरेको उनले दाबी गरे ।

जेन–जी समूहमा त्यही रोग

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि केही दल र व्यक्तिको सिन्डिकेटबाट देश मुक्त हुँदै परिवर्तनको टुसा अंकुरण हुने जनअपेक्षाथियो । तर परिवर्तनको नारा बोकेर आन्दोलनमा होमिएकाहरु नै यतिबेला २५ बढी समूहमा छिन्नभिन्न छन् ।

अझ भनौं, केही दलकै भातृसंगठनको ढर्रामा देखिन्छन् भने केही जातीय र समावेशी मुद्दारुमलिएका छन । तर उनीहरुले बहुमतका साथ नेतृत्वमा पुगेर सुशासनको ढोका खोल्ने बाटो समउन भने सकेका छैनन् । न संयमितशैलीमा प्रस्तुत हुन नै सके । उल्टो पुरानै नेतामाथि खनिने प्रवृति दोहोर्‍याइरहेका छन् ।

जेन–जी आन्दोलन पूर्व डिजिटल पाटोको नेतृत्व सम्हालेको बताउँदै आएका मिराज ढुङ्गानाले तारे होटलमा कार्यक्रम गरेर पार्टी खोल्ने घोषणा त गरे । तर अन्तत उनको त्यो निर्णय घोषणामै सीमित हुन पुग्यो । उनी दल दर्ताका लागि निर्वाचन आयोगनै पुगेनन् । यतिबेला उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् ।

यस्तै आन्दोलनको क्रममा पानी बाँड्न पुगेका ‘हामी नेपाल’का सुधन गुरुङ आन्दोलनपछि नेता बनाइए । जेन–जी पुस्ता समेत नरहेका उनी प्रधानमन्त्री, मन्त्री नियुक्तिदेखि सरकारसँग हालसम्मको वार्तामा प्रमुख भूमिकामै रहे । यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सरकारबीच पुलको काम समेत गरिरहेको उनीयतिबेला नयाँ शक्तिलाई एकीकृत गर्ने दौडाहामा छन् ।

बालेन, विकासे मन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एकै ठाउँमा उभ्याउन तल्लीन रहेको गुरुङको दाबी छ । सोही क्रममा बिहिबार उनी रविलाई भेट्न सुन्धारास्थित कारागार पुगे । भेटपछि उनले रबिको मुद्दामा तत्काल निर्णय गर्न सरकारलाई दबाब दिने अभिव्यक्ति दिए । सरकार गठनको ३ महिना पुगिसक्दा पनि आफूहरुको माग स्थापित गराउन नसकेका जेन्जी निर्वाचनमा विभिन्न शक्तिमा विलिन हुने सहजै आंकलन गर्न सकिन्छ । योसँगै उनी प्रधानमन्त्री कार्कीलाई मन्त्री हेरफेर गर्न दबाब दिन पुग्न समेत भ्याएको स्वयम् कार्कीले बताउँदै आएकी छिन् ।

पछिल्लो समय गुरुङमाथि उनको हातमा रहेको ‘तिब्बतीयन ओरिजिनल ब्लड’ नामक ग्रुपको ट्याटु आदि विषयलाई लिएर पनि उनीमाथिप्रश्न उठ्ने गरेको छ । जसकारण केहीदिन अघि उनी आफ्नो जन्मभूभि भन्दै गोरखाको चुमनुम्ब्री नै पुगेर नातेदारसँग भेट्दै आफू नेपाली नै भएको विश्वस्त बनाउन खोजेको भान गराए । भलै उनको छबिबारे प्रहरी सजग नै छ । यसबाहेक उनीबाट पनि पुराना दलको आलोचना गर्नेबाहेक आगामी निर्वाचनमा नेतृत्व गर्ने अन्य कुनै आधार हालसम्म खुलेको छैन ।

आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका जेन–जी अभियन्ता पुरुषोत्तम यादवले गृह जिल्ला सिरहा क्षेत्र नम्बर ३ बाट उठ्ने बताइसकेका छन् । आन्दोलनपछि आफूलाई ओझेलमा पारिएकोमा दुख व्यक्त गर्दै आएका उनी यतिबेला गृहजिल्लामै स्थानीयसँगको भेटघाटमा व्यस्त देखिन्छन् । मधेशको न्याय र सुशासनका लागि आफ्नो उम्मेदवारी रहने उनले बताउँदै आएका छन् । तर कुनै पार्टीसँग संलग्न रहे नरहेको भने उनले खुलाएका छैनन् । जेन–जी मन्त्री बब्लु गुप्तासहित सिरहाको ४ वटै क्षेत्रमा जेन–जी पुस्ताका युवा मैदानमा उत्रिने उनको दाबी छ ।

राजनीतिक जानकार उद्धव प्याकुरेलको बुझाइमा राजनीतिज्ञ, दल वा संघसस्था आम सर्वसाधारण र समाजको रिफ्लेक्सन हो । हामी जस्तो प्रवृतिका छौं, हाम्रो समाजमा भएका संघसंस्था दल राजनीतिज्ञ सबै त्यस्तै हुन्छन् । ती दलमा तपाईँ म जस्तै व्यक्तिनै जाने हो अन्य कुनै फरक ग्रहबाट त्यहाँ कोही आउँदैन । त्यो हुँदा जति नै नयाँ संस्था बनेपनि सुरुमा ती केहीहदसम्म परिवर्तनशील देखिएलान तर अन्तिममा सबै उस्तै हुँदै जानेछन् ।

‘जबसम्म हामी परिवर्तन हुँदैनौं तबसम्म दल परिवर्तन हुँदैन । आरोपप्रत्यारोप नगरी अगाडी बढ्नै सक्दैनौं भन्ने परम्परा स्थापित भइसकेको छ । परिपक्क राजनीतिक वातावरण हुन यस्तो प्रवृत्ति विस्तारै कम हुँदै जानुपर्छ । लोकतन्त्र संस्थापन हुने र त्यसप्रति दल, राजनीतिज्ञ, जनता सबै प्रतिवद्ध भएर लाग्नुपर्ने हुन्छ । जब मान्छेमा व्यवस्था गुम्ने त्रास हुँदैन तब राजनीतिबाट माथि उठेर जनता र देशका लागि सोच्छ ।’

उनी थप्छन्– ‘समाज अकस्मात परिवर्तन हुँदैन यसको आफ्नै प्रकृया हुन्छ । समयक्रमसँगै परिवर्तनशील हुन्छ । समाजमा तत्काल परिवर्तन खोज्ने र त्यो गर्छु भन्दै आश्वासन बाँड्ने गर्नु हुदैन । यति कसैले नचाहिँदो आश्वासन दिइरहेको छ भने त्यसलाई झट्टै पत्याउन हुँदैन । समाजले त्यसमा प्रश्न गर्ने आधार खोज्ने गर्नुपर्छ । नागरिकस्तरबाट त्यसो गरिएन भने केही वर्षपछि हामी फेरि निराश भन्ने र आक्रोस पोख्ने काम भइरहन्छ ।’

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : ३२ बजे

ईश्वर पोखरेलका एजेन्डा : विद्या भण्डारीलाई एमालेमा फर्काउने, ७० वर्षे र दुई कार्यकाल ब्यूँत्याउने

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

एजेन्सी– सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै