काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ नेतृत्वको रस्साकस्सी सुरू भएको छ।
सल्लाघारीमा उद्घाटन शत्र सकेपछि नेताहरू काठमाडौंको भृकुटीमण्डपतिर केन्द्रित भइसकेका छन् ।
शनिबार रातिसम्म अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित भएको छ।
प्रतिस्पर्धामै जानुपर्ने भएपछि ओलीले वरिष्ठ उपाध्यक्ष पोखरेल समूहलाई हरेक कोणबाट कमजोर बनाउन खोजिरहेको छ।
महाधिवेशन प्रतिनिधि चुन्दैदेखि ओली पक्षले आफूतिर खुल्ने गरी ‘ख’ गराउने गरेको थियो । शनिबारसम्म आइपुग्दा बिहान मात्रै वरिष्ठ उपाध्यक्ष पोखरेललाई छक्याउँदै ओलीले १०८ जना कार्यकर्तालाई महाधिवेशान प्रतिनिधिमा मनोनीत गरे। जबकि शुक्रबारको सचिवालय बैठकमा ती १०८ जनालाई दुवै समूहमा ६० र ४० प्रतिशतको दरमा बाँड्ने सहमति भएको थियो । तर ओलीले शुक्रबारको बैठकमा पेश गरेको सूचीमा एक अक्षर तलमाथि नगरी सूची सार्वजनिक गरिदिए ।
ओलीको यो हर्कतको पोखरेलले कडा प्रतिवाद गरेका छन् । ओलीले हरेक ठाउँमा पेलेर अघि बढ्दा पोखरेल समूह पनि कुनै हालतमा सम्झौताको पक्षमा देखिएको छैन ।
‘सहमतिको लगभग सम्भावना सकिएको छ । नयाँ नेतृत्वका लागि टीमबारे छलफल भइरहेको छ । हामी संगठनात्मक काम र भोलि हुने बन्दसत्र सफल बनाउन पनि तयारी गरिरहेका छौं’, एमाल उपमहासचिव प्रदीपव ज्ञवालीले खबरहबलाई भने, ‘प्यानल नबन्दासम्म सहमतिको भन्ने आश त गर्न सकिन्छ । तर वरिष्ठ उपाध्यक्षज्यूहरू आफ्नो तयारीमा जुटेपछि हामी पनि त्यसमा लागेका छौँ ।’
एमाले सचिव योगेश भट्टराई पनि महाधिवेशनका लागि टीम बनाउने छलफल भइरहेको स्वीकार गर्छन् । आफूहरू प्रतिस्पर्धा गरेर जाने पक्षमा रहेकाले अब सहमति नहुने बताउँछन् ।
‘हामीले त भनिरहेकै छौँ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा सहमति गरौँ। अरु हामीलाई केही चाहिँदैन। यदि उहाँको नाममा सहमति नभए अरुको नयाँ पात्रबारे छलफल गर्न सकिन्छ’, उनले भने, ‘प्रतिनिधि मनोनित गर्ने कुरामा होस् या अन्यमा अध्यक्ष ओलीले मनोमानी गर्नु भएको छ। उहाँले विगतको आफ्दै दर्शन र सिद्धान्तविपरीत तेस्रो पटक उम्मेदवारी दिनु हुँदैछ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई सहयोग गरेकै कारण नेताहरूमाथि प्रतिशोध साँधिरहनुभएको छ। यो त कम्युनिष्ट पार्टीको मर्मविपरीत भयो नि ।’
यता वरिष्ठ उपाध्यक्ष पोखरेल पनि आफ्नो नाममा सहमति गर्ने भए एक मन एक चित्त भएर अगाडि बढ्न आग्रह गरिरहेका छन् । एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा ओलीले आफूपक्षीय पक्षका नेताहरूलाई मात्रै बोल्न दिए। उपमहासचिव प्रदिप ज्ञवालीले कार्यक्रम चलाए भने स्वागत मन्तव्य ओलीनिकट महासचिव शंकर पोखरेलले राखे ।
शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारीको सङ्ख्या बढाउन नसकेपछि ओली कुनै हालतमा पोखरेल पक्षलाई रोक्न लागिरहेका छन् । त्यही प्रयासस्वरुप उनले १०८ जना प्रतिनिधि मनोनयनमा मनोमानी गरे । शुक्रबारको सचिवालय बैठकमा ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने गरी विधान संशोधन प्रस्ताव राखे पनि पोखरेल पक्षले त्यसलाई अस्वीकार गरिदियो । त्यहीकारण पहिलो पटक एमालेमा अध्यक्ष ओलीको प्रस्तावले फेल खायो।
गत भदौ २०-२२ गते ललितपुरको गोदावरीमा भएको दोस्रो विधान महाधिवेशनबाट पारित भएको विधानअन्तर्गत एमालेमा अब १५ पदाधिकारी र २५१ जना केन्द्रीय कमिटी सदस्य रहने छन्।
तर पदाधिकारीमा ओली पक्षकै धेरै आकांक्षी छन् । सचिवमा मात्रै देशभरबाट कम्तीमा पनि ५० जनाको दाबेदारी छ। चाहिएकोभन्दा तेब्बर धेरै आकांक्षी देखिएपछि अहिले प्रदेशगत रुपमा नेताहरू प्यानल निर्माणमा लागेका छन् ।
‘केन्द्रीय पदाधिकारीमा मात्रै प्यानल बन्न सक्छ । २५१ केन्द्रीय सदस्य छान्दा धेरैले आकांक्षा राख्नुहोला त्यसमा प्यानल नतोकिन सक्छ’, ओलीनिकट एक नेता भन्छन्, ‘स्वभाविक रूपमा पर्चा र सूची बाँडेर भोट हाल्नेको सूची दिन सकिएला । दुवैतिर पदाधिकारीको टीम बने पनि केन्द्रीय कमिटी सदस्यको नबन्न सक्छ ।’
छलफलमा नेताहरू
दुवै पक्षका नेताहरू अहिले राति पनि आफ्नो टीमबारे छलफल गरिरहेका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेल टीममा नेता व्यवस्थापन गर्न धेरै समस्या छैन। तर अध्यक्ष केपी शर्मा ओली टीममा धेरै आकांक्षीले गम्भीर संकट छ ।उपाध्यक्ष पदमा धेरै नेताहरूले आकांक्षा राखेपछि ओलीलाई सकस परेको छ। महासचिवमा पनि विवाद यथावत छ।
ओलीको पक्षमा खुलेका उपाध्यक्ष विष्णु पौडेलले शंकर पोखरेललाई महासचिवमा निरन्तरता दिन नचाहँदा ओलीलाई चुनौती थपिएको छ। पौडेलले महासचिवमा पृथ्वी सुबा गुरुङ या प्रदीप ज्ञवालीमध्ये एकजनालाई बनाउनुपर्ने माग राखेका छन्।
उनी शंकर पोखरेलसँग लुम्बिनीको भूगोलदेखि नै अन्तरसंघर्षमा छन् । यस्तै माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादललाई पनि सम्मानजनक पदमा राख्नैपर्ने दबाबमा ओली छन् ।
नेताहरूका अनुसार ओलीको प्यानलबाट उपाध्यक्षको नाम अझै टुंगिएको छैन । दोस्रो विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष काटेर अन्य तीन उपाध्यक्ष मात्रै राख्ने निर्णय गरिसकेको छ। ओलीको टीममा उपाध्यक्षको आकांक्षा राख्नेमा बादल, विष्णु पौडेल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि छन् । यदि प्रदीप ज्ञवालीलाई महासचिव बनाएमा उनले शंकर पोखरेललाई पनि व्यवस्थापनको चुनौती छ। सचिवमा केही नयाँ अनुहार आउने भए पनि उपमहासचिवमा अहिलेका सचिवहरू पद््मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा लगायतका नेता आउने सम्भावना छ।
ओली टीमबाट सचिवमा नयाँ अनुहारहरू आउँदैछन्। सचिवमा आकांक्षा राख्नेमा पदम गिरी , शेरधन राई, जीवन घिमिरे, ज्वाला कुमारी साह, महेश बर्तौला, रामकुमारी झाँक्री लगायत छन्। झाँक्रीले अहिलेसम्म मुखै खोलेर अध्यक्ष ओलीसँग सचिव पद मागेकी छैनन् । तर टीम समावेशी बनाउँदा रामकुमारी अटाउन सक्छिन् ।
यता वरिष्ठ उपाध्यक्ष पोखरेल समूहमा महासचिवमा सचिव योगेश भट्टराई, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव गोकर्ण विष्ट लगायतले आकांक्षा राखेका छन्। तर सहमति गरेर जाँदा महासचिवमा पाण्डे र भट्टराईमध्ये एकजनालाई अगाडि बढाउने तयारी छ।
ओली समूहले यदि महासचिवमा शंकरलाई दोहोर्याए पाण्डे या भट्टराई दुवैले जित्ने आकलन गरिएको छ। यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताहरू निरन्तर हुन सक्छन् ।
पोखरेल समुहले उपमहासचिवमा बिन्दा पाण्डे, गोकर्ण बिष्ट, कर्ण थापा, लेखराज भट्ट लगायतका नेताहरूलाई अगाडि सार्ने सम्भावना छ। यो समूहबाट सचिवमा भने धेरैले आकांक्षा राखेका छन्। सचिवका लागि रचना खड्का, झपट रावल, ठाकुर गैरे, बिमला राई पौडेल लगायतका नेताहरूले इच्छा जाहेर गरिरहेका छन्।
स्रोतका अनुसार नेताहरू प्रदेशगत छलफलमा छन्। ‘साथीहरू प्रदेशगत छलफलमा हुनुहुन्छ भन्ने मैले बुझिरहेको छु। प्यानलै अगाडि बढ्ने भए पनि भोलिसम्म सार्वजनिक होला’, एमाले सचिव पद्मा अर्याल भन्छिन्, ‘म त अध्यक्ष ओलीलाई साथ दिएर जाने तयारीमा छु। टिम मिलाउँदा जहाँ हुन्छऽ उहाँहरुले समायोजन गर्नुहोला। देशको आवश्यकता नै अध्यक्ष ओली हुनुहुन्छ ।’
पोखरेल समूहको टीम चाँडो बन्न सक्छ । तर ओली समूहका असन्तुष्ट नेताहरूलाई पनि तान्ने धेय यो पक्षको छ। पोखरेलसम्मले ओलीको टीम सार्वजनिक नभएसम्म आफ्नो नखुलाउने तयारी गरेको छ।
पोखरेल समूहले पर्ख र हेरको रणनीति अपनाउँदा ओली समूह विभिन्न चरणको छलफल छ । नेताहरूले बार्गेनिङ गरिरहेका छन्। ओलीनिकट एक नेताका अनुसार भक्तपुरको गुण्डुमा अहिले पनि पदाधिकारीका आकांक्षीहरू छलफल गरिरहेका छन्।













प्रतिक्रिया