काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका छन्। प्रवासमा पनि पार्टी संगठन विस्तार गरेको एमालेले सबै ठाउँबाट प्रतिनिधि बोलाएको छ। आएका प्रतिनिधिले एमाले परिमार्जन भएर अगाडि बढ्ने र एघारौं महाधिवेशनपछि थप पार्टी बलियो हुने दाबी गर्छन्। उनीहरू इलेक्ट्रोनिक भोटिङ सिस्टममा मतदान गर्ने अभ्यास नेपालमा थोरै मात्रै भएको र पार्टीमा पहिलोपटक भएकाले मतदानमा समस्या भएको दाबी गर्छन्।
मतदानका लागि युकेबाट आएकी प्रतिनिधि सरस्वती केसी एमाले करेक्सन हुनुपर्ने भन्दै युवालाई प्रोत्साहन गर्नका लागि पाकाले अवसर दिनुपर्ने बताउँछिन्। उनी विवेक प्रयोग गरेर मतदाताले मतदान गरेकाले प्यानलगत नभएर दुवै टिमबाट पदाधिकारी र केन्द्रीय सदस्य चुनिने दाबी गर्छिन्। केसी वैकल्पिक माध्यमबाट पनि नजान्ने र पाका प्रतिनिधिलाई भोटिङको सिस्टम बनाएको भए यस्तो किसिमको समस्या नआउने दाबी गर्छिन् ।
यस्तै कोरियाबाट प्रतिनिधि भएर आएकी डाक्टर सन्जु पौडेल उम्मेदवारी दर्ता भएकै बेलामा इलेक्ट्रोनिक माध्यमबाट गरेको भए इलेक्ट्रोनिक भोटङमा समस्या नभएको बताउँदै पूर्व तयारी कमजोर भएको दाबी गर्छिन् । उनले एमालेको ११ महाधिवेशनले युवाको भावना समेटेर अगाडि बढ्ने र अनुभवी नेतासँग नयाँ अनुहारले काम गर्ने हुँदा उत्साह हुने अवस्था रहेको दाबी गर्छिन्। पौडेल एमालेमा कमजोरी भएकाले महाधिवेशनले यसलाई तोड्नुपर्ने मत राख्छिन्। महाधिवेशन केन्द्रित भएर हामीले एमालेका विदेशस्थित प्रतिनिधिलाई प्रश्न सोधेका छौँ ।
यूकेबाट प्रतिनिधि बनेर आएकी सरस्वती केसीलाई मतदानकै लागि आफू नेपाल आएको बताउँछिन् ।
एमाले महाधिवेशनमा भोट हाल्न नै यूकेबाट आउनुभएको ?
हो । म मतदान गर्न नै आएको हो । प्रवासमा पनि हाम्रो संगठन भएका कारण उत्साहपूर्ण सहभागी भएको हुँ ।
भोट हाल्नुभयो त ?
हालेँ । मैले २० मिनेट लगाएर हालँे । झन्झट भएन मलाई ।
यूकेको इलेक्ट्रोनिक निर्वाचन र यहाँ के फरक पाउनुभयो ?
उताको अलिक पूर्वतयारी भएकाले प्रविधिमैत्री छ । हिजो सानो टेक्निकल समस्या भएकाले यहाँ एक दिन नै सार्नुपर्यो । तर अभ्यासमा उस्तै हो । यहाँ पहिलो पटक एमालेले इलेकट्रोनिक अभ्यास गरेकाले पनि समस्या भएको हो । यूकेमा चाहिँ प्रविधिमैत्री सिस्टम भएर अलिक एड्भान्स छ । यसको सुधार गर्नुपर्ने हुन्छ । तर जति भएको छ त्यो नट ब्याड । नेपालमा पनि यसरी गर्न सकिने रहेछ तर पूर्वतयारी व्यापक चाहिन्छ ।
यहाँ चाहिँ अभ्यास नभएकाले इलेक्ट्रोनिक मतदानमा समस्या भएको होला है ?
सायद होला । अब हामी जान्नेलाई अप्ठ्यारो छैन । तर अभ्यास नभएका व्यक्तिलाई समस्या हुन्छ । मलाई लागेको चाहिँ केही अर्को पनि व्यवस्था भएको भए राम्रो हुने थियो । जो यो अभ्यासमा जानकार हुनुहुन्न थियो । अझै पनि वैकल्पिक व्यवस्था गर्न सकिन्छ कि ? किनकि मास व्यवस्थापन गर्न समस्या छ । तर यो अभ्यास पनि अव्यवस्थित चाहिँ छैन ।
के गर्न सकिने थियो पाका र नजान्नेहरूको लागि ?
उहाँहरूलाई कोही व्यक्ति आफैँले तोकेर मतदान गर्न लगाउने या पत्रबाट नै मतदान गर्न लगाएको भए हुने थियो कि ।
जेनजी आन्दोलनपछि एमालेमाथि प्रहार भएको देखिन्छ, महाधिवेशनपछि कस्तो आस र ऊर्जा जगाउँला ?
महाधिवेशनपछि एमालेलाई एउटा ऊर्जाको सन्देश दिन्छ । भदै २३ र २४ गते भएको जेनजी आन्दोलनमा एमालेको शक्ति बाहिर ल्याउन सकेन किनकि देशलाई जोगाउनु थियो । अस्ति आन्दोलनमा पार्टीका मान्छे कोही पनि बाहिर आएनन् । खै त एमालेका मान्छे भनेर पनि खोजी भयो । यो गलत हो । किनभने भिडन्तमा हामी चुप बस्नु नै जित हो । तर एमाले कमजोर भएको होइन । तर सुधार अवश्य गर्नु छ ।
प्रवासीहरूलाई पनि त जेनजी आन्दोलनले ऊर्जा र दिएको होला नि ?
जेनजी आन्दोलनको प्रभाव अवश्य पनि परेको छ । तर पार्टी नै छाडेर जाने कुरा छैन । एमाले मजवुद बनाउने कुरा छ । तर पार्टी करेक्सन चाहिँ हुनुपर्छ । युवालाई प्रोत्साहन गर्नुपर्छ । पाकाले अवसर पनि दिनुपर्छ ।
महाधिवेशनपछि कस्तो प्यानल आउला त एमालेमा ?
मिसिएर नै आउनुहुन्छ जस्तो लागेको छ । हामीले पनि विवेक प्रयोग गरेर मतदान गरेका छौँ । अब परिणाम आएपछि थाहा हुन्छ ।
त्यस्तै हामीले दक्षिण कोरियाबाट आएकी प्रोफेसर डा सञ्जु पौडेललाई पनि यसैबारे सोधेका छौँ ।

एमाले महाधिवेशनमा कोरियाबाट मत मात्र हाल्न आउनुभएको हो ?
प्रवासमा पनि नेपालीको संगठन भएकाले हामी मत हाल्न नै आएको हो । म खास एमालेको नेतृत्व चुन्नका लागि नै आएको हो । एमाले सबल र एकताबद्ध बनाउन म आएँ ।
विदेश र नेपालको मतदानको शैली के फरक रहेछ ?
बाहिरचाहिँ यो अभ्यासमा अलिक एडभान्स छ । तर यो नेपालमा पार्टी र हामीले गरेको नयाँ प्रयोग भएका कारण समस्या भएको हो । पाका र अभ्यास नभएका व्यक्रिहरुलाई समस्या भएको छ । यो स्वाभाविक पनि हो किनकि नयाँ अभ्यासले समय लिन्छ ।
इलेक्ट्रोनिक सिस्टमले मतदानमा समस्या हुँदा यहाँहरूलाई असर गरेन ?
उम्मेदवारी दर्ता भएकै बेलामा इलेक्ट्रोनिक माध्यमबाट गरेको भए समस्या हुने थिएन । तर पछि सिस्टममा राख्नका लागि अफ्ठ्यो भएको हो । पहिलो अभ्यास भएको भएर समय लागेको छ । नाम इन्ट्री गर्दा नै मेसिनबाट गर्नुपर्ने थियो ।
समय धेरै लाग्दा प्रवासबाट आउने र गाउँबाट आउनेलाई त समस्या भयो नि होइन ?
सबैभन्दा पहिला त इलेक्ट्रोनिक अभ्यासले समय लियो । व्यवहारिक हिसाबले ठीक भएन । तोकिएको समयमा नहुँदा कठिनाइ भयो । तयारी कमजोर भयो कि भन्ने पनि छ । किनकि धेरै टाढा टाढाबाट साथीहरू आउनुभएको थियो ।
अब एमालेमा कस्तो नेतृत्व आउँला ? यसले पार्टी शुभेच्छुकको असन्तुष्टि तोड्ला ?
एमाले यो महाधिवेशनमा पक्कै पनि परिवर्तन भएको छ । हरेक समावेशिता र युवाको भावना समेटेर अगाडि बढेको देखिन्छ । पहिलाको अनुभवी नेतासँग नयाँ अनुहार आउँदा पक्कै पनि सबैमा उत्साह देखिन्छ । नयाँ अनुहारले एमालेको अवस्था बुझेर परिमार्जनसहित अगाडि बढ्छ भन्ने मेरो विश्वास छ ।
उसो भए जेनजी आन्दोलनपछि एमाले पार्टीमा देखिएको वितृष्णा महाधिवेशनले तोड्छ ?
तोड्छ । किनकि युवा पनि समायोजन हुनुभएको छ । टिममा सबै समावेश भएपछि यसको ओज र राफलाई राम्रो गरेर जान्छ । एमालेमा कमजोरी भएको छ । महाधिवेशनले तोड्छ ।













प्रतिक्रिया