एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य « Khabarhub

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य



काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी र श्रीमती केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचित हुनेमा एमाले महासचिव शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्य छन् । शाक्य यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

यस्तै, उपमहासचिव पदमा निर्वाचित रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतो पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

केन्द्रीय सदस्यमा धेरै जोडी आए पनि पदाधिकारीमा रहेका श्रीमानसहित केन्द्रीय सदस्यमा श्रीमती निर्वाचित हुने यी दुई जोडी हुन् ।

यसअगाडि सचिव रहेका रघुवीर केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए। यता शंकर ओलीका सबैभन्दा विश्वासिला पात्र हुन् ।

उनी महासचिवमा दोस्रो पटक दोहोरिएका छन् । यस पटक प्रदीप ज्ञवालीले उनलाई महासचिवमा रोक्न खोजे पनि अन्तिममा सकेनन् ।

श्रीमान-श्रीमती पदाधिकारीमा जाने क्रम अरू दलमा पनि रोकिएको छैन । माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड मिलेर बनेको नेकपामा पनि यस्ता जोडी छन् ।

यता नेपाली काङ्ग्रेसमा सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा सक्रिय राजनीतिमा छन् । देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्, उनकी पत्नी राणा परराष्ट्र मन्त्री भइसकेकी छन् ।

यस्तै बालकृष्ण खाण र मञ्जु खाण पनि कांग्रेसमा उच्च पदस्थ क्षेत्रमा पुग्ने नेताहरू हुन्।

एमालेले पनि यो परम्परालाई तोड्न सकेको छैन।एमालेको विधानमै श्रीमान्-श्रीमती दुवै पदमा नरहने व्यवस्था गरिएको छैन।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले यो अभ्यासलाई हटाएर विधानमै नातावाद, परिवारवादलाई तोड्ने व्यवस्था गरेको छ।

नातावाद र परिवारवादका कारण राजनीति चर्चामा आइरहने अर्का पात्र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड हुन्।

उनले त पार्टीलाई पारिवारिक बनाएको भन्दै नेता जनार्दन शर्माले विद्रोह नै गरेका छन् । शर्मा अहिले प्रचण्डलाई छाडेर फरक अभियानमा छन्।

यस्तै डा. बाबुराम भट्टराई र हिसिला यामीको पनि पार्टीमा चर्चा भइरहन्थ्यो। उनीहरू पनि श्रीमान्-श्रीमती नै राजनीतिमा सक्रिय व्यक्ति हुन्। अहिले दुवैजना सक्रिय राजनीतिबाट बिदा हुने चरणमा छन्। उनीहरूले मानुषी भट्टराईलाई अगाडि सारेका छन्।

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले राजनीतिमा नातावाद र परिवारवाद हावी नहुनुपर्ने माग राखेको थियो। राजनीतिमा यी दुई विषयले भ्रष्टाचार मौलाउने र जनताका छोराछोरीले अवसर नपाउने भन्दै करेक्सन हुनुपर्ने जेन-जी नेताहरूले उठाइरहेका छन्।

को हुन् पोखरेल पत्नी शाक्य ?

शाक्य पेशाले स्वास्थ्यकर्मी थिइन् । पोखरेल र शाक्यको राजनीति विवाह भएको हो। फरक संस्कारमा रहेका दुईजनाबीच राजनीति विवाह भएपछि शाक्यले पोखरेलाई अगाडि बढाएको बताइन्छ ।

२०४५ सालमा नर्सिङ क्याम्पस सभापतिसमेत रहेकी शाक्य उपत्यकामा एमाले नेताहरूबीच लोकप्रिय देखिन्छिन्।

पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेकी शाक्य यस पटक केन्द्रीय सदस्यमा निर्वाचित भइन्। शाक्य काठमाडौँ उपत्यका विशेष इन्चार्जसमेत थिइन्।

शालीन स्वभावकी शाक्यलाई पोखरेलको साथ लिएर बिचौलियाहरूसँग संगत गरेको आरोपसमेत लागेको थियो। यसै विषयमा पार्टीमा पटकपटक यो जोडीलाई विवादितसमेत बनाइएको छ।

को हुन् महतो ?

महतोले विवाह रघुवीर महासेठसँग राजनीतिक रुपमा गरेकी थिइन्। २०७४ मा एमालेको केन्द्रीय कमिटी सदस्य बनेकी महतो पार्टीको तत्कालीन जनकपुर जिल्ला अञ्चल कमिटी सदस्य थिइन्।

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार अनिलकुमार झालाई पराजित गरेर तेस्रो पटक धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा विजयी भएकी उनी मधेशमा राम्रो तरिकाले एमालेको राजनीति गरेको नेतृ मानिन्छिन्।

योपटक उनी एमाले सचिवालयमा जाने तयारी गरेकी थिइन् । तर श्रीमान्मा महासेठका कारण उनले एमाले सचिवालयमा नगएर केन्द्रीय कमिटीमै चित्त बुझाउनुपर्ने अवस्था आएको छ।

उनलाई पनि राजनीतिक रूपमा मधेशी जनताको पक्षमा काम नगरेको र विचौलियाको संगत गरेको आरोप लाग्ने गरेको छ।

श्रीमानसँगै नेतृत्वमा पुग्न खोजेका यी दुई महिलाहरूले महिला सहभागिता र समानताको विषयमा बोलेको सुनिँदैन ।

गलत परम्परा छ : विश्लेषक हरि रोका

राजनीति विश्लेषक हरि रोका कम्युनिस्ट पार्टीमा गलत परम्परा हुनाले जनताले दुःख पाएको बताउँछन् । उनी पार्टीमा लामो समयसम्म दुःख गरेका नेताहरूलाई अवसर नदिएर नातावाद र परिवारवादमा नेताहर फस्नाले जनताको समस्या बुझ्न नसकेको दाबी गर्छन् ।

‘हाम्रो राजनीति प्रणाली नै खराब भएको छ, विधान संशोधन गरेर श्रीमान्-श्रीमती नै राजनीति नेतृत्वमा पुग्ने वातावरण नबनाएसम्म परिवार र नातावाद निर्मूल हुँदैन’, रोकाले भने ।

उनले राजनीति अभ्यासमा नातावाद र परिवारवाद हावी भएकै कारण देशले दुःख पाएको बताएका छन् । रोकाले खबरहबलाई भने,’जेन-जी आन्दोलनले यसबारे अभियान चलाएको थियो । तर पार्टीहरू पुरानै ढर्रामा चलेपछि जनताले यसलाई नियालेका होलान् ।’

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ८ : २४ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र