ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा भड्किएको छ। प्रदर्शनकारीहरूले बिहीबार राति देशको सबैभन्दा ठूलो अखबार डेली स्टार र प्रथम आलोको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन्।
यसबाहेक पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानको निवासमा पनि तोडफोड गरिएको छ । शेख हसिनाको पार्टी अवामी लिगको कार्यालय पनि प्रदर्शनकारीले जलाएका छन्।
उस्मान हादी शेख हसिनाविरुद्ध जुलाई २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए। उनलाई १२ डिसेम्बरमा चुनाव प्रचारका क्रममा टाउकोमा गोली हानिएको थियो।
त्यसपछि उनलाई राम्रो उपचारका लागि सिंगापुर लगिएको थियो। ६ दिनपछि उनको मृत्यु भएको थियो।
हिन्दू युवकको हत्या, शवलाई रूखमा झुण्ड्याएर जलाइयो
बीबीसी बंग्लाका अनुसार धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकलाई कुटेर मारिएको छ। त्यसपछि उनको शवलाई नग्न बनाएर रूखमा झुण्ड्याई आगो लगाइएको छ। प्रहरीले मृतकको पहिचान दीपू चन्द्र दासको रूपमा गरेको छ।
प्रहरीका अनुसार यो घटना बिहीबार राति भालुकामा भएको थियो। सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भइरहेको छ जसमा मानिसहरू ‘अल्लाहु अकबर’ को नारा लगाउँदै देखिएका छन्।
भालुका प्रहरी स्टेशनका ड्युटी अधिकारीले बीबीसी बंग्लालाई भने, ‘बिहीबार राति करिब ९ बजे केही उत्तेजित मानिसहरूले पैगम्बरको अपमान गरेको आरोपमा उनलाई समाते र कुटपिट गरे। त्यसपछि उनको शवलाई आगो लगाए।’
सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगे र स्थितिलाई नियन्त्रणमा लिएका थिए। अधिकारीहरूले मृतक दासको शव बरामद गरेर मैमनसिंह मेडिकल कलेज अस्पतालको शवगृमा पठाइएको छ। यो घटनामा अझैसम्म मुद्दा दर्ता भएको छैन।
पत्रकारको गोली हानेर हत्या
बंगलादेशको खुलनामा इमदादुल हक मिलन नामक पत्रकारलाई गोली हानेर हत्या गरिएको छ। प्रहरीका अनुसार यो घटनामा अर्को व्यक्ति घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ।
अरंगघाटा प्रहरी स्टेशनका प्रभारी अधिकारी (ओसी) शाहजहाँ अहमदले पत्रकारहरूलाई बताए अनुसार यो घटना बिहीबार राति करिब ९:३० बजे भएको थियो।
मिलन शालुआ प्रेस क्लबका अध्यक्ष थिए। हमलाको समयमा मिलन शालुआ बजारको एक चिया पसलमा बसेर चिया पिइरहेका थिए। त्यतिबेला दुई मोटरसाइकलमा चारजनाले उनीमाथि गोली चलाएर भागे।
घटनापछि आसपासका मानिसहरूले उनलाई मेडिकल कलेज अस्पताल लगे, जहाँ डाक्टरले मिलनलाई मृत घोषित गरे। प्रहरीले अझैसम्म आक्रमणकारीको पहिचान गर्न सकेका छैनन्।

शेख मुजिबुर रहमानको हलको नाम हादीको नाममा राखियो
ढाका विश्वविद्यालयमा शेख मुजिबुर रहमान हलका आयोजकहरूले यसको नाम परिवर्तन गरेर ‘शहीद उस्मान हादी हल’ राखेका छन् । यस नामका पोस्टरहरू पनि टाँसेका छन्।
शरीफ उस्मान बिन हादीको मृत्युपछि क्याम्पसमा विरोध प्रदर्शनहरूका बीच नेताहरूले मध्यरातमा हलको अगाडि पोस्टर टाँसेका थिए । जसमा हलको नाम हादीको नाममा राखिएको थियो।
चुनाव आयोगले हादीको मृत्युमा शोक व्यक्त गरेको छ । बंगलादेशको चुनाव आयोगले उस्मान हादीको मृत्युमा शोक व्यक्त गरेको छ।
आफ्नो शोक सन्देशमा चुनाव आयोगले हादी बंगलादेशका लागि पूर्ण रूपमा समर्पित रहेको जनाउको छ । उनलाई आयोगले एक संघर्षशील व्यक्ति र युवाहरूको आवाज भनेको छ ।
खेलकुद मन्त्रीले भने : केहीले आन्दोलन भड्काइरहेका छन्
खेलकुद मन्त्री आसिफ महमूद सजीब भुइयाँले हिंसात्मक गतिविधिहरूमा युवा नेताहरूको हात नरहेको बताएका छन् ।
‘जब हामी यो देशका लागि एकजुट हुन्छौँ, कुनै स्वार्थी समूहले अलगाववादी गतिविधि गरेर हानि पुर्याउँछ,विवादमा घिसार्छ र हाम्रो संघर्षमा प्रश्न उठाउने अवसर दिन्छ’, उनले भने, ‘हामी स्पष्ट गर्न चाहन्छौं, आजका हिंसात्मक कारबाहीमा संलग्न व्यक्तिहरूको हामी पहिचान गर्दैछौं। केही मानिसहरू हादीको शहादतपछि न्यायको माग गर्ने हाम्रो आन्दोलनलाई भड्काएर अर्को दिशामा मोड्ने प्रयास गरिरहेका छन्।’
उस्मान हादीको शव साँझ बंगलादेश पुग्ने
उस्मान हादीका नातेदारहरू शुक्रबार दिउँसो ३:५० बजे उनको शवसँगै सिंगापुरबाट प्रस्थान गर्नेछन्। उनीहरू साँझ करिब ६ बजे बंगलादेश पुग्नेछन्। यो जानकारी इंकलाब प्लेटफर्मले फेसबुक पोस्टमा दिएको छ।
इंकलाब मञ्चले उनको अन्तिम संस्कार शनिबार जोहरको नमाजपछि ढाकाको मानिक मियाँ एभिन्यूमा हुने जनाएको छ।
डेली स्टारकी रिपोर्टरले भनिन्– सास फेर्न सक्दिनँ
अंग्रेजी दैनिक ‘डेली स्टार’को कार्यालयमा तोडफोड र आगजनीको घटनापछि धेरै कर्मचारीहरू छतमा फसेका थिए।
अखबारकी रिपोर्टर जैमा इस्लामले फेसबुक पोस्टमा भनेकी थिइन्, ‘म अब सास फेर्न सक्दिनँ। यति धुवाँ छ। म भित्र छु। तिमीहरू मलाई मार्दैछौ।’
अवामी लिगको कार्यालय जलाए
हादीको हत्याको विरोधमा बंगलादेशमा धेरै ठाउँमा हिंसा भएको छ। उस्मान हादीका समर्थकहरू र विद्यार्थी संगठनका नेताहरू तथा कार्यकर्ताहरूले ढाकाभित्र र बाहिरका धेरै जिल्लामा सडकमा उत्रेर प्रदर्शन गरेका छन्।
चटगाँउमा पनि धेरै ठाउँमा विरोध प्रदर्शन भएका छन्। भारतीय सहायक उच्चायुक्तको निवासको अगाडि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। उनीहरूले उच्चायोगमा इँटा हाने ।
यसबाहेक, शेख हसिनाको अवामी लिग सरकारका पूर्वशिक्षा मन्त्री मोहिबुल हसन चौधरीको घरमा तोडफोड गरेर र आगो लगाइएको छ।
स्थानीय मिडियाले राजशाहीस्थित अवामी लिग कार्यालयमा पनि तोडफोड र आगजनी भएको जनाएका छन् । हमलाका कारण प्रथम आलो र द डेली स्टार आज बन्द रहनेछन्
दुवै मिडिया संस्थानहरूका अनलाइन सेवाहरू पनि लगभग ठप्प भएका छन्। दुवै अखबारहरूका शीर्ष अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।
उनीहरूले राति भएको अचानक हमला, तोडफोड र आगजनीपछि सबै कर्मचारीहरूलाई तुरुन्त कार्यालय छोड्ने आदेश दिइएको बताएका छन् ।

न्यूज एजका सम्पादकमाथि हमला
ढाकामा डेली स्टार फार्म गेट कार्यालयमा न्यू एजका सम्पादक नूरुल कबीरमाथि केही मानिसहरूले हमला गरे।
कबीर बिहीबार राति तोडफोड र आगो लगाएपछि कार्यालय पुगेका थिए। उनले हमलाकारीलाई रोक्ने प्रयास गरेका थिए त्यसपछि भीडले उनलाई हिंसात्मक धम्की दियो ।
उच्चस्तरीय बैठक
बंगलादेशका अन्तरिम राष्ट्रपति मुहम्मद युनुसले उस्मान हादीको मृत्यु र देशभरि फैलिएको हिंसापछि आज दिउँसो ढाकामा एक उच्चस्तरीय बैठक बोलाएका छन्।
प्रदर्शनकारीहरूले बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानको निवासमा तोडफोड गरेका छन्। मुजिबुर रहमान पूर्व प्रधानमन्त्री शेख हसिनाका बाबु हुन्।
फेब्रुअरी २०२४ मा र फेरि अगस्ट २०२४ मा यो घरमा दुई पटक हमला भएको थियो। बंगलादेशमा अशान्तिका बीच छिमेकी भारतले आफ्ना नागरिकला सचेत रहने भनेको छ।
बंगलादेशमा भारतीय उच्चायोगले शुक्रबार बिहान सूचना जारी गरेर भारतीय समुदायका सदस्यहरू र भारतीय विद्यार्थीलाई यात्रा नगर्न अपील गरेको छ।













प्रतिक्रिया