ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य « Khabarhub

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताइन् ।  

‘तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालीन रुपमा रेष्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ’, गर्बुजाले भनिन्, ‘सोवाङ धुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौँ ।’

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउनु मुख्य विशेषता हो । 

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।   

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो । 

सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिँड्नसक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खायाममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने तथा हिउँदमा गाउँ नजिकैको बेंसीका फाँटमा झर्ने गर्दथे । 

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोला घर भई हाल पोखरामा बसोबास गर्ने तारा गर्बुजा पुन र उनका भाइ गोपिन पुनले सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँ नजिकै पाँच/पाँच सय लिटर क्षमताका दुई वटा ड्रम राखेका छन् । वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ ।  

हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । 

यहाँ होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ । टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर(टान) र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । 

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । रासस

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १२ : २८ बजे

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाहाखाले हाल

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा