काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन् ।
निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले देशको सर्वेसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाव जनतालाई पोख्न नहुने समेत बताइन् ।
उनले जनताको भावना अनुसार नै राजनीतिक दलहरू चल्न सक्नुपर्ने र कसैले पनि मेरो गोरुको बाह्रै टक्का गरेर नहुने धारणा राखिन् ।
राम्रा गरेको दललाई चयन गर्ने अधिकार जनतालाई रहेको भन्दै प्रधानमन्त्री कार्कीले जनताको भावना अनुसार राजनीतिक दलहरू चल्न सक्नुपर्ने उल्लेख गरिन् ।
उनले राजनीतिक दलको गीत गाएर मात्रै नहुने भन्दै सबैले देशको विकासका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले सुशासनका लागि पनि वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको समेत बताइन् ।
उनले निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकाले निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गरिन् ।













प्रतिक्रिया