काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल पार्टीले समावेशिताको एजेन्डा सङ्ख्याका आधारमा निर्धारण नगर्ने बताउँछिन्। एमालेको ११ औं महाधिवेशनमा सचिव पदमा दोहोरिएकी अर्याल देशको सर्वोच्च ठाउँमा एमालेले महिलालाई सहभागिता गराएको स्मरण गर्छिन ।
महाधिवेशनपछि ईश्वर पोखरेल प्यानलले पार्टी फुटाएर जाने विषयमा उनी विश्वास गर्दिनन् । यसबारे उनी भन्छिन्, ‘ईश्वर पोखरेल कमरेड एमाले पार्टीमा लामो समय योगदान गरेको मान्छे उहाँ केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । स्थायी कमिटीसम्म ल्याउने प्रयत्न छ ।’
एमाले पार्टी विधि र सिद्धान्तमा चल्ने भन्दै महाधिवेशनले अध्यक्षमा ओलीको विकल्प नदेखेकाले अब पनि एमाले विधिमा विचलित नहुने धारणा राख्छिन्। जेनजी आन्दोलनपछि अन्य पार्टीभन्दा एमाले नै जुर्मुराएर उठेको मत राख्दै उनले ‘पखलास एमाले’ भन्नेहरुले निर्वाचनमा एमालेको परिणाम देखेर छक्क पर्ने दाबी गर्छिन्। ” आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने र राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्प लिएर अगाडि बढिरहने उनी बताउछिन् । उनी भन्छिन, ‘एमालेले आत्मसमीक्षा सडक र सार्वजनिक समारोहमा गर्दैन आत्मसमीक्षा पार्टी कमिटी बैठकमा गरिन्छ।’
जेन-जी आन्दोलनबारे अर्यालको फरक मत छ। उनी भन्छिन्, ‘देशद्रोही काम जसले गरेको छ तिनै देशद्रोही काम गर्नेलाई क्षमा याचना गर्नुपर्छ र? इतिहासको एउटा कुनै कालखण्ड आउँछ जनताको प्रयत्न र जनताको साथले सबैलाई कठघरामा उभ्याउँछौं,’ अर्याल भन्छिन, ‘जसले देशमा आगो लगाए, जसले देश ध्वस्त गरे जसले देशद्रोही काम गरे तिनैलाई कठघरामामा उभ्याउँछौं ।’
उनी राज्यपक्षको व्यक्ति भएकै कारण केपी ओलीमाथि कुनै पनि हिसाबमा कारबाही र बयानमा जानु नपर्ने दाबी गर्छिन्। सर्वसाधारणमाथि कारबाही हुने र राज्यतर्फका व्यक्तिलाई कारबाही नहुने भन्ने प्रश्नमा उनी भन्छिन्,” राज्य जलाउने व्यक्तिलाई सर्वसाधारण मान्नुहुन्छ ? तपाईँ पहिले दृष्टिकोण परिवर्तन गर्नुहोस् न ?”
अर्याल निर्वाचनभन्दा पनि एमाले प्रतिनिधिसभा ब्युँताउनेतर्फ जाने बताउँछिन्। उनी चाँडै नै यो सरकार ढल्ने विश्वास गर्छिन्।
हामीले नवनिर्वाचित एमाले सचिव अर्यालसँग एमालेमा महिला सहभागिताको, पार्टी राजनीति,जेनजी आन्दोलनबारे दृष्टिकोण, सरकार र प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।
नेकपा एमालेको पदाधिकारीमा तपाईं मात्रै महिला नेतृ निर्वाचित हुनुभयो । एमालेको नेतृत्वमा महिलाको एजेन्डा कमजोर भयो भन्छन् नि ?
चासोका लागि धन्यवाद ! तर एमालेको आफ्नो विचार र दृष्टिकोण छ । अन्य तीनजना साथी पराजित हुनुभयो, म चाहिँ अनुमोदित भएँ । समावेशिताको विषयमा एमालेले सङ्ख्याको आधारमा धारणा बनाउँदैन । उसको बेग्लै धारणा छ । महिलाको ३३ प्रतिशतको मुद्दा उठाएको एमालेले हो । देशको सर्वोच्च ठाउँमा महिलाको उपस्थिति रहने कुराको अगुवाइ पनि एमालेले गरेको छ । राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्य सचिव, महिला मुख्यमन्त्री लगायत सबै क्षेत्रमा अगाडि बढाउने काम एमाले नेतृत्वबाट भएको हो । यी मुद्दामा हामी स्पष्ट छौँ । नीति, विचार र दृष्टिकोणमा फरक देखिएपछि यो मामिलामा शंका नगर्नु उचित हुन्छ ।
तर गुट निर्माण हुँदा महिला सहभागिता घट्यो, गुटको डरले महिलाले महिलालाई भोट मागेनन् भन्छन् नि ?
उम्मेदवार भएको मान्छेले अरूलाई भोट मादै हिँड्दैन । आफैंलाई तनाव हुन्छ । अहिले पराजित भएका साथीहरूले पनि माग्नुभएन होला । पहिलो कुरा आफू अनुमोदित हुने सबैको कुरा हुन्छ । त्यसपछि साथीभाइसँग सरसल्लाह गर्ने कुरा दोस्रो कुरा हो । त्यस कारण कुनै संकिर्णता हो कि के भएको हो भन्ने कुरा प्रतिनिधिका अधिकार हुन् ।
पुरानै पदमा दोहोर्याएका कारण यहाँ असन्तुष्ट हुनुन्थ्यो भन्ने पनि चर्चा थियो, त्यसो हो र ?
स्वभावैले पदोन्नतिको चाहना थियो । उपाध्यक्ष होइन, अरू पदमा दाबी थियो । तर पार्टी मिलाएर जाने कुरामा आवश्यकताले दिएन । मलाई त्यही निरन्तरता दिनु भनेपछि स्वीकार गर्नुपर्थ्यो । पार्टी संगठित हुने कुरालाई स्वीकार गरेँ ।
अर्को कुरा गरौँ, दुई प्यानलमा प्रतिस्पर्धा हुँदा केपी शर्मा ओली पक्ष बलियो भएर आएको छ, ईश्वर पोखरेल पक्षले पार्टी नै फुटाउनुहोला कि भन्ने कुरा पनि छ ?
यी नियतवश भएका टिप्पणीहरू हुन् । ईश्वर पोखरेल एमाले निर्माणका लागि धेरै सङ्घर्ष गरेको मान्छे हो । योग्य र सक्षम नेता हो । उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो, अहिले अध्यक्ष हुन खोज्नु अस्वाभाविक कुरा होइन । स्वाभाविक हो । उहाँले प्रतिस्पर्धा गरेर आफूअनुकूल नहुँदैमा फरक बाटोमा कोर्स निर्माण गर्नुहुन्छ भनेर कल्पनासम्म गरिँदैन । उहाँलाई बदनामी गर्ने काम गर्नुहुँदैन । उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँलाई पदाधिकारी बनाउन मिलेन, स्थायी कमिटीसम्म ल्याएर वाम आन्दोलनमा जोडिरहने का हामी गर्छौं ।
तर, शपथ कार्यक्रममा नै उहाँ र महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पनि नबोलाएको भन्ने आयो नि ?
नियतवश होइन । महाधिवेशन धेरै समयसम्म लागेकाले अनइजी हुनुभयो होला । खबर थियो । छुटेकाले पछि शपथ ग्रहण गर्नुहुन्छ ।
अहिलेको नेतृत्वले एमालेमा फरक विचारलाई स्थान दिँदैन भन्छन् नि ?
यो गलत कुरा हो । हामीले पार्टीको विधान विधि र अनुशासनको परिधिभित्र रहेर लोकतान्त्रिकता विधिबाटै नेतृत्व चयन गर्ने फैसला गरेको हो । दुवै पक्ष सहमत भएर अगाडि बढिरहँदा महाधिवेशनका प्रतिनिधिहरूले एउटा फैसला दिनुभएको छ । त्यो फैसलालाई सहर्ष स्वीकारेर अगाडि बढ्नुको विकल्प छैन । महाधिवेशन स्थायी होइन, हामी एकाकार भएर अगाडि जान्छौँ ।
यही नेतृत्वबाट विगतमा आफूविरुद्ध आवाज उठाउनेलाई विस्थापित गरेको अवस्था छ, फेरि यहाँ विधि र नीतिको कुरा गर्नुहुन्छ ?
नेतृत्व फेर्नुपर्ने कुरा महाधिवेशनको हलले गर्ने हो । हामीले महाधिवेशन गरेकै हो तर हलले नेतृत्व फेर्ने निर्णय दिएन ।महाधिवेशन प्रतिनिधिले हस्तान्तरणको प्रश्न उपयुक्त थिएन भन्ने कुरा त फैसला गरे । अनि फर्की-फर्की किन त्यही जानुपर्थ्यो ? एमाले विधिबाट विचलित भएको छैन ।
यहाँले यसो भनिरहँदा यही नेतृत्व लिएर निर्वाचन फेस गर्न त गाह्रो होला नि ? सडक त नयाँ पुस्ताले तताएका छन् ?
एमाले अगाडि बढ्छ । जेन-जी आन्दोलनपछि सबैभन्दा धेरै एमाले पार्टी नै जुमुर्राएर उठेको छ । एमालेले जनताको निराशा चिर्दै थुप्रै गतिविधि गरिसकेको छ । आत्मबल बढाउने कुरा अरू पार्टीले गरेका छन् ? त्यस कारण एमालेलाई पख ? केपी ओली पख भनेर एमालेले भनेको होइन । एमालेका शुभचिन्तकले भनेको होइन । त्यो त विरोधीले भनेको हो । विरोधीले कहिले वा–वा गरेको छ त ? विरोधीका एजेन्डा बोकेर एमाले कमजोर हुन्छ र ? एमाले विरोधीले गरेको प्रचार र हल्ला पार्टीमा ल्याएर जोड्नु उचित हुँदैन । हामी महाधिवेशनको फैसलाअनुरूप अगाडि बढ्छौँ । जितेकाहरूले जिम्मेवारी बहन गर्नुहुन्छ । पराजित साथीहरूलाई पार्टीले एक न एक ठाउँमा जिम्मेवारी दिन्छ ।
यहाँ त विभिन्न जिल्लाहरूमा पनि पार्टी कार्यक्रम गर्न गइरहनुभएको देखिन्छ ? माहौल हेर्दा पुन: एमालेलाई जिताएर शक्ति फर्काउलान् ?
आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुन्छ । हामी दह्रिलो राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्प लिएर अगाडि बढेका छौँ ।
तर, एजेन्डा पनि हुनुपर्छ होला नि त्यसको लागि ?
हामी प्रमाणित पार्टी हो । हाम्रो कामले देखाइसकेको छ । हाम्रो राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्याउने यसलाई खलबल्याउने कोसिस भएको छ । राष्ट्रियताको पक्षमा लड्ने, राष्ट्रिय अखण्डलाई अक्षुण राख्न लामो समयदेखि दृढतापूर्वक उभिएको एमाले पार्टी हो । एमाले कमजोर भयो भने राष्ट्रलाई अखण्ड राख्न सकिँदैन । पहिलो पटक जनतालाई राज्यमा जोड्ने काम एमालेले गरेको हो ।
सामाजिक सुरक्षाअन्तर्गतका कार्यक्रम, महिला, अपाङ्गता विविध क्षेत्रका कार्यक्रममा किन नहुन् । राज्य र जनतालाई जोड्ने काम पहिलो पटक गर्ने पार्टी एमाले हो । सत्तामा हुँदा होस् या नहुँदा एमालेले जनताको पक्षमा काम गरेको छ । कुरा राजनीतिक स्थायित्वको हो । आज राष्ट्र कमजोर बनाउने चाहने चाहे राष्ट्रिय शक्ति हुन्, चाहे अन्तर्राष्ट्रिय शक्ति हुन् । राजनीतिक अस्थिरताको जग बसाल्ने खालको काम भइरहेको छ । स्थायितवको पक्षमा हामी उभिएका छौँ।
भदौ २३, २४ को घटनापछि एउटा सेन्टिमेन्ट खडा भएको छ । हामीले एकै पटक नयाँ भनेर सडकबाट उचालेर पार्टी प्रमुख बनाउन सकिँदैन । केन्द्रीय कमिटी र महाधिवेशन प्रतिनिधिमा नयाँ मान्छेहरू आएका छन् । युवा उपस्थिति महाधिवेशनको सुन्दर पक्ष हो । हामीले १ सय ६५ जना आरक्षणबाट युवा ल्यायौँ, अरू विभिन्न क्लस्टरबाट निर्वाचित भएर दोब्बर आए, यो महाधिवेशनको सुन्दर पक्ष हो । त्यसैले आजको जे म्यान्डेट हो । नयाँलाई हस्तान्तरण गर्ने गरि नेतृत्व ल्याउन अगाडि बढेका छौँ । यिनै व्यवहार हेरेर जनताले हामीलाई विश्वास गर्ने हो ।

यसो भनिरहँदा पनि एमालेले आत्मासमीक्षा गर्नु पनि पर्ने होला नि ?
गर्नुपर्छ । तर आत्मासमीक्षा सडक र सार्वजनिक समारोहमा गरिँदैन । आत्मासमीक्षा पार्टी कमिटीका बैठकमा गरिन्छ ।
सार्वजनिक प्रश्न उठेपछि त सार्वजनिक ठाउँमै गर्नुपर्ला नि ?
हुँदैन । हाम्रा कमजोरी कहीँ भए हो, हामी त्यहीँ गर्छौं । हाम्रा जे पद्धति हुन्, ती पद्धतिअनुसार गर्छौं । त्यसैले हामीले हाम्रो विगत र वर्तमानको पनि समीक्षा गरेका छौँ । भोलिको हाम्रो दायित्व र आकार पनि बुझेका छौँ । त्यसै अनुसार तयारी गरेका छौँ ।
फरक विषयमा कुरा गर्दा, जेन-जीहरूले एमाले अध्यक्ष ओली र तत्कालीन सरकारका सबै जिम्मेवार निकायमाथि छानबिन हुनुपर्छ भन्छन् नि ?
हाम्रो कुरा के हो भने सजाय जसले आगो लगायो त्यसलाई हुनुपर्छ । आगो लगाउने, सिंहदरबार फोर्ने, संसद् भवन तोड्ने र न्यायालयलाई ध्वस्त बनाउनेलाई कारबाही नगर्ने, अनि जसले त्यो काम गरेको छैन उसलाई कारबाही गर्ने भनेको अपराधीहरू लुकाउने कुरा हो । गल्ती ढाक्ने कुरा हो । त्यसैले जसले गल्ती गरेको छ, जो अपराधमा संलग्न छ । जसले देशद्रोही काम जसले गरेका छन्, तिनैले क्षमा याचना गर्नुपर्छ । इतिहासको एउटा कुनै खण्ड आउँछ, जनताका प्रयत्न र जनताका साथमा सबैलाई कठघरामा उभ्याउँछौँ । इतिहासमा कठघरामा सबै उभिन्छन् । अहिले सरकारले नछोओस तर हामी उभ्याउँछौँ ।
कसलाई ?
जसले देशमा आगो लगाए । जसले ध्वस्त गरे, जसले देशद्रोही काम गरे, तिनैलाई ।
यसो गर्दा त थप मुठभेटको अवस्था आएर देशमा शान्ति बिग्रेला नि ?
जो पायो त्यही गर्न पाइन्छ ? राष्ट्रको झन्डा ओढेर राष्ट्रलाई खरानी बनाउन पाइन्छ । कसले सिकायो त्यो कुरा ?
यहाँलाई लाग्दैन पार्टी अध्यक्षले पनि जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ भनेर ?
किन जाने । यहाँले अन्तर्राष्ट्रिय इतिहास हेर्नुभएको छ ? राज्य पक्ष र विद्रोही पक्षको सङ्घर्षमा आन्दोलनमा कहिले राज्य पक्षलाई कारबाही भएको देख्नुभएको छ ?
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनालाई हेर्नु त ?
शेख हसिनाले के गरेको हो र ? सरकार छोडेर हिँडेको मात्रै हो । नेपालमा ०४६ सालमा बहुदलवादी र राजाका बीचमा आन्दोलन लडाइँ भएको होइन ? आन्दोलन सफल भएपछि राजावादीलाई नै त्यही सरकारमा सामेल गराएर अगाडि बढेको होइन ? कारबाही भयो राजावादीलाई ? माओवादी आन्दोलनको कुरा गर्दा प्रचण्डलाई कारबाही भयो ? माओवादी आन्दोलन दबाउनेलाई कारबाही भयो ? अनि एकैचोटी एमालेको भन्दा बढी हैसियत दिएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको होइन ? विश्वमा नभएको, हाम्रो देशमा पनि नभएको भदौ २३ र २४ को घटना भएबापत केपी ओलीलाई कारबाही गर्न मिल्छ ? कुन संविधान कुन कानुन र कुन इस्युमा मिल्छ ? मधेश आन्दोलन भएको थिएन ? संविधान जारी भएपछि त्यस आन्दोलनमा कति मारिए ? मधेश आन्दोलनको बेलाका सत्ता सञ्चालकलाई कारबाही भएको छ ? यस्ता उल्टा र मनगढन्ते, आग्रहपूर्ण कुरा गरेर कहीँ पुगिँदैन ।
उसो भए छानबिन आयोग नै अवैधानिक हो ?
आयोग नै अवैधानिक छ । आयोगका अध्यक्षका भनाइ सामाजिक सञ्जालमा हेर्नुहोस् त ? आयोगको अध्यक्षका आन्दोलनपूर्वका स्ट्याटस हेर्नुहोस् त ? पूर्वाग्रह राखेको होइन ? जे भन्यो त्यही सुरुसुरु मान्छ एमालेले ? हामी त्यसको प्रतिकार गर्छौं ।
राज्य तर्फका व्यक्तिलाई कारबाही गर्न नहुने, अनि सर्वसाधारणलाई चाहिँ कारबाही गर्ने यहाँको कुरा एक पक्षीय भएन ?
सर्वसाधारण मान्नुहुन्छ तपाईंले ? तपाईंहरूको पहिला दृष्टिकोण परिवर्तन गर्नुहोस् न । सर्वसाधारण मान्छे हुन्छ ? नजानेर जलाएको त्यो अदालत ? नजानेर जलाएको त्यो संसद् भवन ?
कसको चाहिँ घुसपैठ भएको हो त ?
तपाईंहरूले अध्ययन गरेको हो भने हप्ता दश दिनभित्रै सबै आन्दोलनका पर्दाफास भएका छन् । कहाँका टी-सर्ट लगाएका छन् । कस्ता मान्छेले बन्दुक चलाएका छन् । देखिएकै छ त । घुसपैठ छैन ? यति धेरै बुझेपछि राष्ट्रलाई माया गर्ने गरी एमाले लाग्नुपर्छ नि । देशद्रोहीहरूलाई बचाउने काम कसैबाट हुनुभएन ।
अन्तिममा अब एमाले संसद् पुनर्स्थापनामा लाग्छ कि निर्वाचन केन्द्रित हुन्छ ?
अहिलेको समस्याको समाधान संसद् पुर्स्स्थापना हो । अकारण संसद् विघटन भएको छ, यो अवैधानिक छ । अदालतको एजेन्डा बन्नेबित्तिकै, बहस हुनेबित्तिकै कुनै विकल्प छैन, अब संसद् पुरस्थापना हुन्छ । यसमा हामी ढुक्क छौँ ।
निर्वाचनभन्दा पनि पुरानो संसद् ब्युँताउन एमाले जाने हो ?
जहाँनेर गल्ती भएको छ, त्यहीँ करेक्सन गर्ने हो । त्यसपछि अरू यात्रा अगाडि बढ्छ । यो सरकार धेरै दिन रहँदैन । पुरानो प्रतिनिधि सभा ब्यूँतिन्छ । अनि मात्रै निर्वाचन हुन्छ । यो सरकारको आयु लामो छैन । संसद् पुनर्स्थापना हुन्छ ।













प्रतिक्रिया