शीतलहरले बाढीपीडित परिवार समस्यामा « Khabarhub

शीतलहरले बाढीपीडित परिवार समस्यामा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित परिवार समस्यामा परेका छन् ।

हिउँदको सिरेटो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका यी परिवारलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव भएको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बाढीपीडितलाई पिरोल्न थालेको छ ।

डेढ दशकदेखि वनक्षेत्रमा अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यो हिउँद निकै कष्टकर बनेको ७० वर्षीय वासुदेव रानाले बताए । ‘अत्यधिक चिसो हुन थालेपछि रातिका बेला निद्रासमेत पर्न छाडेको छ’, उनले भने, ‘मुटु कमाउने चिसो छ, न हामीसँग चिसो छेक्ने न्यानो लुगा छ, न त राम्रो ओछ्यान नै ।’

झुपडीमा बालबालिका र बूढापाकालाई चिसोबाट जोगाउन आगो बालेर रात काट्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखेका छन् । शिविरमा बस्ने सबै परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । मजदुरीबाट आएको न्यून रकमले साँझ-बिहानको छाक टार्नै मुस्किल हुने भएकाले न्यानो कपडाको जोहो गर्न नसकिएको महादेव रानाले बताए ।

दातृ निकायलाई न्यानो कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि हालसम्म कुनै पनि निकायबाट सहयोग नपाउँदा आगो तापेर चिसो कटाउनुपरेको उनले उल्लेख गरे ।

शिविरका राजकुमार राना भन्छन्, ‘गणतन्त्र आएपछि कोही भोको र नाङ्गो हुनु पर्दैन भन्ने नारा सुने पनि हाम्रो हकमा त्यो नारा केवल नारामा मात्र सीमित भएको छ ।’ बाढीबाट विस्थापित भएर झण्डै डेढ दशकदेखि वन छेउको शिविरमा कष्टपूर्ण जीवन बिताउँदासमेत कुनै पनि निकायले सोधखोज नगरेको उनको गुनासो छ ।

२०६४ सालमा वनहरा नदीमा आएको भीषण बाढीले घरजग्गा सबै बगाएपछि यी परिवार सुकुम्बासी बनेका हुन् । साविक देखतभूली गाविसमा रहेको घरजग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि उनीहरू शिविरमा बस्न बाध्य भएका हुन् ।

आफ्नो स्वामित्वमा रहेको जग्गा बगर बनेपछि मालिकबाट मजदुर बनेका यी परिवार यतिबेला प्रकृति र राज्य दुवैको उपेक्षामा परेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ४३ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति